www.tandavnews.com
Fact ~ In search of truth

ढल व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धीत

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

हिउँद सकिएर वर्षायाम सुरु हुनै लाग्दा विशेष गरी पोखराका मुख्य बजार क्षेत्रका बासिन्दालाई एउटा पिरलोले वर्षेनी सताउँछ । कारण, नेपालमै अत्यधिक वर्षा हुने सहर पोखरामा हालसम्म उचित रुपमा ढल व्यवस्थापन हुन नसक्नु ।

वर्षाको पानीलाई नाली मार्फत उचित निकास दिने व्यवस्थापन बजार क्षेत्रमा सुरु नै गरिएको छैन् । केही बेरमात्र परेको सामान्य वर्षाको पानीलाई ढल नाली मार्फत निकास दिन नसक्दा सडकबाट पानी बग्ने गरेको हुन्छ ।

Batas

यही साउन ८ गते दिउँसो यहाँ केही समय मज्जैले पानी पर्यो । पानीले कृषि उपज बजारमा फालिएका सडेगलेका तरकारीलाई बगाएर पृथ्वीचोकसम्म पुर्यायो । मुल सडकमा ल्याएको तरकारीले सडकमा दुर्दशा देखियो । मुख्य राजमार्गमै ढलको उचित व्यवस्थापन नहुँदा पानीले बगाएर ल्याएको तरकारीले केही समय सवारी साधन गुड्नमा समेत समस्या निम्त्याएको थियो ।

पृथ्वीचोकमा मात्र होइन पानीले नागढुङ्गाबाट विरौटा जाने सडकमा पनि उस्तै सास्ती दिने गर्छ । वर्षाको समयमा दिनहुँजसो परिरहने पानीले मोटरसाइकल/स्कुटरलाई बगाएर लैजान्छ ।

‘बिहान १० बजे अफिस अगाडि राखेको स्कुटर बेलुका ६ बजे घर फर्कने बेलामा पार्किङमा नै छैन्,’ नागढुङ्गा स्थित एक मेनपावर कम्पनीमा कार्यरत केशर क्षेत्रीले भने, ‘एक घण्टा जति निरन्तर पानी परिरह्यो भने सवारी साधन नै बगाउछ ।’ तीव्र शहरीकरणसँगै साघँरो बन्दै गएको सहरी भूगोलमा समयमै ढल व्यवस्थापन सम्बन्धी योजना नबनाए समस्या थपिने क्षेत्री बताउँछन् ।

उक्त सडक खण्डमा ढल निकासका लागि नाली नै बनाइएको छैन् । कुनै कुनै स्थानमा बनाइएको भएपनि एकतर्फी मात्र छ । सो पूर्वाधार अहिलेको समयमा नै अपर्याप्त भइसकेको छ । पानीलाई नालीले थेग्नै सक्दैन भने भएका नालीमा पनि छोप्ने स्ल्याप ढलान नहुँदा फोहोर पानी सडक हुँदै बग्ने गर्छ ।

पोखराको महेन्द्रपुल, न्यूरोड, नयाँबजार, पृथ्वीचोक लगायत मुख्य चोकमा फोहोरजन्य वस्तु रातको समयमा सडकमा जथाभावी रुपमा फालिदै आएको छ । महानगरको फोहोर व्यवस्थापन गर्ने सवारी आएपछि मात्रै फोहोरजन्य वस्तु निकाल्ने बानी सहरबासीमा अझै सम्म बसिसकेको छैन । यदि कुनै दिन सबेरै बिहानमा ठूलो पानी पर्यो भने भलपानीले सो फोहोर सडक भरी छिरल्ने हुँदा सडक दुर्गन्धीत बनाइरहेको पृथ्वीचोकमा एक दशक देखि फेन्सी व्यवसाय सञ्चालन गर्दै आइरहेका हरि लामिछाने गुनासो गर्छन् ।

‘एक तरो पानी मज्जैले पर्न हुँदैन्, बाटो हो की खोलो त्यो पनि छुट्याउन मुश्किल हुन्छ,’ उनी भन्छन्, ‘सडकसँगै ढल निकासलाई पनि प्राथमिकता दिएमा दुर्गन्ध फैलिदैन् ।’ अनियन्त्रित वस्ती विकासले गर्दा पनि पोखराको मुख्य चोक मात्र नभई भित्रि टोलका वस्तीहरुमा समेत भल पानीले समस्या निम्त्याउने गरेको उनको भनाई थियो ।

ढल व्यवस्थापन गर्न १५ लाख बजेट

चालु आर्थिक वर्ष २०७५/०७६ मा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ ले वडामा भएका सबै ढल नाली व्यवस्थापनका निमित्त १५ लाख बजेट विनियोजन गरेको छ ।

न्यूरोड, नयाँबजार, पृथ्वीचोक, एयरपोर्ट जाने बाटो क्षेत्रसम्ममा ढल नालीको समस्याको कारण सवारी साधन र मान्छे नै बगाउने स्थिती देखा पर्दै गएपछि नाली व्यवस्थापनको निमित्त उक्त रकम वडाले विनियोजन गरेको हो । वडागत कार्ययोजना अनुसार नाली व्यवस्थापन गर्न लागिएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

‘हाम्रो वडामा जति पनि नालीहरु छन्, ती सबै दशक भन्दा बढी पुराना भईसकेका छन्,’ वडाध्यक्ष लामिछानेले ताण्डवसँगको सम्पर्कमा भने, ‘वर्षौसम्म नाली सफा पनि गरिएको छैन्, र वस्ती विकास हुँदै गएकोले भइरहेका नालीले ढललाई निकास दिन सकेको छैन् ।’ विनियोजित बजेट अनुसार पहिलो चरणमा नाली सफाई गर्ने योजना रहेको उनले जनाए ।

हाल भइरहेका नालीहरुमा स्ल्यापको व्यवस्था नहुँदा सवारी साधन र बटुवाहरु नै मानवीय क्षति व्यहोर्न पर्ने स्थितीको अन्त्य गर्नका लागि स्ल्याप ढलानको व्यवस्था समेत गरिने वडाध्यक्ष लामिछानेको भनाई छ ।

महानगरका मुख्यतः बजार क्षेत्रमा मानिसहरुको चाप अत्यधिक हुने हुँदा विद्यमान पूर्वाधारले थेग्न नसक्ने भएको छ । नयाँ बन्ने संरचनालाई कम्त्तीमा पनि दीर्घकालीन सोच सहित आधार योजना तयार गर्न सकेमा पुनः ढल सम्बन्धी समस्या नदेखिने उनी बताउँछन् ।

तस्बिरः सुदर्शन रञ्जित

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.