www.tandavnews.com
Fact ~ In search of truth

कानुनको धज्जी उडाउदै सिजी साहू विनोद चौधरी (प्रमाणसहित)

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

नेपालका एक मात्र फोब्र्स लिस्टेड अर्बपति हुन्, विनोद चौधरी । उनी चौधरी ग्रुपका सञ्चालक अर्थात् साहू हुन् । नेपालकै सफल उद्यमी हुन् चौधरी ।

उनै चौधरीको नवलपुर जिल्ला दुम्कौली स्थित चौधरी उद्योग ग्राम छ । वाई वाई तयारी चाउचाउ, जुस, बियर, चुरोट लगायत कारखाना त्यहि ग्राममा छन् । उद्योग ग्रामकै छेउमा उनले अर्बौको लगानीमा शाश्वत् धाम निर्माण गरे ।

Batas

शाश्वत् धाम अवलोकनका लागि दैनिक हजारौं पर्यटक पुग्छन् । यसअर्थमा, पर्यटकीय क्षेत्रको रुपमा पनि विकास भइरहेको छ, दुम्कौली ।  पवित्र शाश्वत् धाम निर्माण गर्दा उनले जग्गा मिचिएको पाइएको थियो । ताण्डव न्यूजले यसबारे २०७५ जेठ १० गते अर्बपती विनोद चौधरीको उद्योगको दादागिरी शिर्षकमा समाचार प्रकाशन पनि गरेको थियो ।

केहि समयपछि धाममा जग्गा मिचेर बनाइएको जलकुण्ड सारिएको छ । तर, जग्गा र मापदण्डबारे अनुसन्धान अझै जारी छ । यो धामको पहिलो कर्तुत थियो । पहिलो कर्तुत सेलाउन नपाउँदै सिजी साहू चौधरीको दोस्रो कर्तुत हामीले फेला पारेका छौं ।

दोस्रो कर्तुत

चौधरी ग्रुप (सिजी)का साहू अध्यक्ष रहेको शाश्वत् धाममा वैदिक कर्मकाण्ड गुरुकुल स्कुल सञ्चालन छ । गुरुकुलले कक्षा ६ र ७ कक्षा सम्म पढाउन पाउने अनुमति लिएको छ । तर, पहुँचको भरमा कानुनको धज्जी उडाउदै गुरुकुलले अनुमती भन्दा माथिल्लो कक्षा पनि सञ्चालन गरिरहेको छ ।

गुरुकुलले कक्षा ६ र ७ को मात्र अनुमती लिई कक्षा ८ पनि सञ्चालन गरेको हो । गुरुकुलले कक्षा ६ देखि ८ कक्षा सम्म विद्यार्थीरुलाई अध्यापन गराउने गरेको सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले बताएका छन् ।

उनका अनुसार आफूहरुले कक्षा ८ सञ्चालनको लागि जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा इकाइमा निवेदन दिएको र उक्त शिक्षा शाखाका अधिकृतहरुले मौखिकरुपमा सञ्चालन गर्ने अनुमती दिएकाले कक्षा ८ पनि सञ्चालन गरेको बताएका छन् ।

जिल्ला शिक्षा कार्यालयले कक्षा ६ सञ्चालनका लागि दिएको अनुमति पत्र ।

तर, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्ण पोख्रेलले मौखिक अनुमतीमा कुनै पनि कक्षा सञ्चालन गर्न नपाउने बताएका छन् । उनले जिल्ला शिक्षा कार्यालय वा नगर शिक्षा कार्यालयले दिएको अनुमती बेगर कुनै कक्षा सञ्चालन गर्न नपाउने जनाए ।

देबचुलि नगरपालिका नगर शिक्षा अधिकृत मोती प्रसाद रिजालका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले पहिले कक्षा ६ र ७ कक्षा जिल्ला शिक्षाबाट अनुमती पाएको र अहिले कक्षा ८ सञ्चालनको लागि नगर शिक्षा कार्यालय देवचुलिमा निवेदन दिएको बताएका छन् ।

‘पहिले कसले अनुमती दिएको हो त्यो हामीलाई थाहा भएन । तर, अब अनुमती दिँदा त्यस क्षेत्रको भौतीक, सामाजिक र अन्य शिक्षाको बिधि पुगे मात्र अनुमती दिइन्छ’ रिजालले भने । उक्त्त गुरुकुलमा व्यवहारिक रुपमा हेर्दा पढाई भएको स्थान पठनपाठनको लागि उपयुक्त नभएको रिजालको भनाई थियो ।

क्षेत्रीय शिक्षा निर्देशनालयले शैक्षीक गुठी सञ्चालन गर्न दिएको अनुमति पत्र ।

यता सिजी शाश्वत धामका सिइओ नारायण श्रेष्ठका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कुनै पनि कानुन विपरीत कार्य नगरेको तर्क गर्छन् ।

उनले कुनै आर्थिक लाभको लागि गुरुकुल नखोलिएको भन्दै कानुन विपरीत कार्य नगरेको जनाएका छन् । सिजी शाश्वत धाम र वैदिक कर्मकाण्ड गुरुकुल स्कुल नाफा रहित संस्था भएको कारण यो कानुन पुग्यो ,त्यो कानुन पुगेन भन्नु अर्थ नहुने श्रेष्ठले बताए ।

जिल्ला शिक्षा कार्यालयले कक्षा ७ सञ्चालनका लागि दिएको अनुमति पत्र ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर)का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जिल्ला शिक्षा इकाइ कार्यालय स्थापना भएको र यस बिषयमा पहिले पनि कुरा आएकोले तत्काल अनुगमन गर्ने बताएका छन् । उक्त गुरुकुलको तत्काल शिक्षा इकाइलाई अनुगमन गर्न निर्देशन दिने नेपालले आश्वासन दिएका छन् ।

यो पनि पढ्नुहोस्

अर्बपती विनोद चौधरीको उद्योगको दादागिरी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.