पोखरा
ताण्डव न्यूज ।
पहाडको फेँदमा समथर भुभाग छ । विचमा पोखरी र वरीपरी मानव बस्ती देखिन्छ । केही घरहरुबाट धुँवा उडिरहेका छन् भने बादल लागेको आकाशमा चराहरु उँडिरहेका छन् । अहिले पहाडबाट बेँसी अर्थात यस्तै समथर भुभागमा मानिसको आवादी बढीरहेको छ र नयाँ नयाँ शहरहरु जन्मिरहेका छन् ।
बरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले आफ्नो क्यानभासमा उतारेको दृश्य हो यो । उनको यो चित्र पोखरामा आजदेखि शुरु भएको तीन दिने चित्रकला प्रदर्शनीमा देख्न सकिन्छ । पोखरेली युवा साँस्कृतिक परिवारले समता चित्रकला प्रदर्शनी २०७५ मा बरिष्ठ कलाकार वात्स्यायान सहित ३६ जना कलकारको चित्रकला प्रदर्शन गरिएको छ ।

प्रदर्शनीमा राखिएका अधिकाँश चित्रहरु पानी रङको माध्यमबाट कोरिएका छन् । चित्रकार झविन्द्र गुरुङको चित्रमा माछापुच्छ्रे हिमालमुनि ढुङ्गाले छाएका घर छन् । घर भन्दा तल खेति गरिने बारी देखिन्छ । बारीमा एक जना महिला डोको बोकेर एकशुरमा काम गरिरहेकी छिन् ।
प्रदर्शनीमा राखिएका चित्रहरुमा पोखरा र आसपासका दृश्य धेरै देखिन्छ । पहाडमा पुगेका कच्ची मोटरबाटो सहितको गाउँ, शहरको धुँवाधुलो, गाउँको स्वच्छता, नदी, मन्दिर, फेवाताल जस्ता दृश्य क्यानभासमा उतारिएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै बरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायानले कलाकारमा कलाको व्याकरण कण्ठ हुनुपर्ने बताए । कलाकारले नयाँ नयाँ तरिकाहरु सिक्नुपर्ने बताउँदै उनले पोखरेली चित्रकला अझै सन्तोषजनक नभएको बताए ।
“केही उत्कृष्ठ कलाकार भएपनि समग्रमा अझै सन्तोषजनक अवस्था छैन, वात्स्यायानले भने हाम्रो स्तर कहाँ छ, आफुलाई मनन् गर्नुपर्छ ।” उनले कलाको स्तरीयता बढाउनुपर्नेमा जोड दिँदै अगाडी थपे, “हामी बाहिर बाहिर अल्मलिएका छौँ, तर कलाको वास्तविक यात्रा भित्र छिर्न सकेको छैनौँ ।”
आयोजक पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले पोखरा आँफैमा प्रकृतिले सिर्जना गरेको सुन्दर चित्र भएको बताए । यहाँको सुन्दरता कलाकारले क्यानभासमा उतार्नु देशकै लागि गौरव भएको बताए ।
परिवारका कला संयोजक हेमकान्ती गुरुङले समता चित्रकला कार्यशाला र प्रदर्शनीले चित्रकला सिक्न चाहने नयाँ कलाकारहरुका लागि पाठशाला भएको बताइन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.