www.tandavnews.com
Fact ~ In search of truth

गोरे काण्डको असर पोखरा सुन बजारमा

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

काठमाडौमा साढे ३३ किलो सुन तस्करी काण्ड बाहिर आएपछि सुन व्यवसायीमा पनि ठूलो हलचल मच्चियो । सुन काण्डमा चुडामणी उप्रेती ‘गोरे’ तथा उनका सहयोगी पक्राउ परेपछि अन्य सुन तस्कर गिरोह पनि निष्कृय भए ।

सुन तस्करी काण्डमा संलग्न रहेको गिरोह मात्र छैन जसले नेपालमा सुन तस्कर समेत गर्छन् । त्यो वाहेक अन्य साना ठूलो समूह रहेको प्रहरी स्रोतले बताउदै आएको कुरा हो । यो समूहको खुलासा भएपछि सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

Batas

समितिले गोरे तथा उनका सहयोगीहरुले वितेको पाँच बर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन नेपाल भित्राएको तथ्य फेला पारेको थियो । उनीहरु जस्तै अन्य सुन तस्कर पनि छन् जसले विदेशबाट ल्याएको सुन राज्यको विभिन्न ठाउँमा सप्लाई गर्छन् ।

देशमा २० किलो सुन वैधानिक रुपमा आयात हुन्छ । तर नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले नेपालमा दैनिक सिजनमा ४० किलो र अफसिजनमा मात्र २० किलो सुन आवश्यक पर्ने बताएका थिए । हुन पनि बजारले मागे अनुसारको सुन वैधानिक रुपमा नपाएपछि तस्करीको बाटो आयत हुने गरेको स्रोतको भनाई छ ।

गोरे र उनका टिम समातिएपछि अरु तस्कर पनि यति वेला ‘नो मुव मेन्ट’ अर्थात तस्कर बन्द गरेको प्रहरी स्रोतले जनाएको छ । त्यही कारणले तस्करीले धानेको सुन बजार यति वेला सुस्ताएको छ । जसको असर पोखरा बजारमा पनि देखिएको एक सुनचाँदी व्यवसायीले बताए ।

‘वैधानीक रुपमा दिएको सुनले कहाँ पुग्छ र,’ उनले भने, ‘पोखरामा मात्र होइन नेपाल अधिराज्यमै अधिकाश सुन व्यवसायीले अवैधानिक तरिकाले सुन ल्याउछन् ।’ गोरे काण्डपछिको सुन बजार हेर्दा पनि सबै कुरा प्रष्ट हुने उनी बताउँछन् । ‘गोरे समातिनु अघिको सुन बजार र अहिले आकाश जमिनको फरक छ,’ उनले भने, ‘सुन पाउन गाह्रो भएपछि अहिले ४–५ तोला सुनको डिमान्ड गरेर बनाउन दुई हप्ता वेसी लाग्छ ।’

नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष राजेश बुद्धाचार्यले पोखरामा हप्ताको ३ किलो सुन वैधानिक रुपमा आउने बताए ।

‘अहिले सुनको निकै अभाव छ, हप्तामा ३ किलो मात्र कास्कीमा आउँछ,’ उनले भने, ‘३ सय वटा सुन पसल छन् । बंैकले हप्तामा ६ किलो दियो भने बल्ल पुग्ने थियो ।’ अवैध सुनको बारेमा आफूलाई ज्ञान नभएको वुद्धाचार्यले बताए । ‘अवैध सुन आउँछ भन्ने सुनेका छौ,’ उनले भने, ‘यसको नियन्त्रणको लागि सरकारी पहलनै हुनुपर्छ ।’

वैधानिक तरिकाले ल्याएको सुनले पोखरा बजारनै थेक्न अति गाह्रो हुने एक सुन व्यवसायीको भनाई छ ।

‘तस्करबाट सुन आएन भने त पोखरामा सुनको टुक्रो हेर्छु भनेपनि पाइदैन,’ उनले भने, ‘तस्कर गरेर सुन ल्याउने हो, त्यो पनि एउटै मात्र पसलले किन्न सक्दैनन् ।’ त्यही सुन किन्न मिटर व्याजको प्रयोग हुने समेत जानकारी स्रोतले दियो ।

‘तस्करले यो हप्ता आउदै छ भन्छ अनि बोल्दा बोल्दै ५–१० लाख कहाँबाट ल्याउने ?,’ उनले भने, ‘त्यसपछि मिटर व्याजमा नगई सुख्खै छैन ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.