
पोखरा
ताण्डव न्यूज ।
शिलशिला बोर्डिङ स्कुललाई संचालन नगर्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ ।
ताण्डव न्यूजले पटक–पटक लेख्दै आएको पोखरा लेखनाथ महानगरपालिका–३१, मोहरिया नहरचोकमा अवस्थित शिलशिला बोर्डिङलाई संचालन नगर्न उच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।

स्कुल संचालनका लागि अनुमति प्राप्त नगरेकाले संचालनमा रोक लगाइनुपर्ने भनी निवेदक विक्रम सुवेदी र तोलाकान्त न्यौपानेले रिट दायर गरेका थिए । निवेदकको तर्फबाट अधिवक्ता द्वय कमलप्रसाद अर्याल र ठाकुर प्रसाद बरालको बहस पश्चात्त स्कुललाई संचालन नगर्न न्यायाधीस बालचन्द्र शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
‘साउन २७ सम्म उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम शिलशिला बोर्डिङ स्कुलको नाउँबाट सञ्चालन नगर्नु नगराउनु भनी विपक्षीमध्येको शिलशिला बोर्डिङ स्कुलका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’ आदेश पत्रमा उल्लेख गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिका घाचोकमा भएको हिमालय बोर्डिङ स्कुललाई रोशन कोइरालाले किनेर नाम परिवर्तन गरी शिलशिला बोर्डिङ स्कुल राखेका हुन् । उनले स्कुल किनेर नाम परिवर्तन गरेपनि स्थानान्तरण नगरी विद्यार्थी भर्ना गरी पठनपाठन गरिरहेका छन् ।
उक्त स्कुललाई प्रक्रिया पूरा नगरी विद्यार्थी भर्ना तथा पठनपाठन नगर्न महानगर शिक्षा शाखाले निर्देशन दिएको थियो । महानगरको निर्देशनलाई लत्याउँदै स्कुलले विद्यार्थी भर्ना लिइ पठनपाठन समेत गराउँदै आएको छ ।
महानगरको कार्यपालिका बैठकले गएको साउन ८ गते विद्यालय स्थानान्तरण गरी कक्षा ५ सम्म चलाउने अनुमति दिएको थियो ।
यो नामको स्कुल हालसम्म साविक जिल्ला विकास समिति र हालको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा दर्ता नभएको जिकिर गरेर रिट हालिएको हो ।
यो पनि पढ्नुहोस्
शिक्षा महाशाखालाई अटेर गर्दै लेखनाथकाे शिलशिला इङ्गलिस स्कुल
शिक्षा महाशाखाले लेखनाथको ‘शिलशिला इङ्गलीस स्कुल’लाई लगायो रोक
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.