पोखरा
ताण्डव न्यूज ।
मणिपाल शिक्षण अस्पतालको दीगो व्यवस्थापन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले उच्च स्तरीय समिति गठन गरेको छ ।
मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को आज (बुधबार) बसेको १७ औं बैठकले अस्पताललाई व्यवस्थित गराउन पूर्व जिल्ला न्यायाधीस लिप्त बहादुर थापाको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको हो ।

अस्पतालमा विभिन्न समयमा भईरहने आन्दोलनका कारण स्वास्थ्य सेवाबाट सर्वसाधारण बञ्चित भइरहने स्थिती देखिएकाले सो समस्याको दीगो व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका रामशरण बस्नेतले जानकारी दिए ।
‘विदेशी लगानीमा संचालित अस्पताल भएकाले व्यवस्थापन र कर्मचारी बीच भइरहने मनमुटावले स्वास्थ्य सेवा प्रभावित हुन्छ,’ मन्त्री बस्नेतले भने, ‘अस्पतालमा भएका सबै समस्यालाई सम्बोधन गर्ने गरी वास्तविक प्रतिवेदन सरकार समक्ष बुझाउने गरी समिति गठन गरिएको हो ।’
प्रदेश सरकारले विदेशी लगानी आह्वान गरिरहेको सन्दर्भमा संचालनमा रहेका कम्पनीका समस्या उपर सरकार गम्भीर भई लगानीको सुरक्षा गर्न अग्रसर रहेकोले उक्त समिति आवश्यक देखिएको उनले जनाए ।
गठित समितिको सदस्यमा डा. अप्सरा कोइराला, डा.दिनेश विक, कमल प्रसाद अर्याल, योगराज पौडेल, कृष्णराज ढुंगाना, रमेश प्रसाद अधिकारी छन् ।
दुई विद्येयकका लागि मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति
आज बसेको बैठकले प्रदेशको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रशासनिक कार्यविधि नियमित गर्न बनेको विद्येयक २०७५ को मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
प्रशासनिक काम कारवाहीलाई नियमित गर्न कार्यविधि आवश्यक रहेकोले उक्त विद्येयक ल्याउन मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति दिइएको मन्त्री बस्नेतले जानकारी दिए ।
विद्येयकबाट प्रदेश सरकार संचालनका लागि नयाँ बन्ने ऐन निर्माण गर्न बाधा हट्ने छ । जसबाट सरकारले सार्वजनिक गरेका नीति तथा कार्यक्रम, बजेट, वार्षिक एवं आवधिक योजना कार्यान्वयनमा अड्चन हट्ने छ ।
त्यस्तै, बैठकले प्रादेशिक सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विद्येयक २०७५ का लागि सामाजिक विकास मन्त्रालयलाई मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.