www.tandavnews.com
Fact ~ In search of truth

सत्य आमा कि बुवा ?

एकजना अग्रज भन्ने गर्नुहुन्थ्यो–‘आमा सत्य हो, बुवा विश्वास हो ।’ हुन पनि हामी कसैलाई बुवा भनेर चिनाइदिएको कारणले नै त हामी बुवा सम्बोधन गछौँ ।

आमाको गर्भाधान प्रक्रिया बाहेक हामीलाई जन्मका अरू चरणमा बुवाको भूमिका खासै चाहिँदैन । यसो भन्नुको मतलब गर्भाधान बाहेक महिला एक्लैले सन्तान जन्माउने र हुर्काउने काम गर्नुपर्छ भन्ने मेरो आशय पनि होइन ।

जब आमाको नाममा नागरिकता लिन नपाएका साथीहरूको पीडा देख्छु, बलात्कार परेर सन्तान जन्माउने आमा, एकल आमा अनि आमाको नामको नागरिकता लिन चाहने सन्तानहरूको पीडा आँखामा नाच्छ ।

एकजना साथीले फेसबुकमा स्टाटस लेखे–‘गर्भवती बनाउँदा पुरूषको भूमिका केही मिनेटको हुन्छ र उसले पछि छोड्न पनि सक्छ तर महिला भने आमा बन्नैपर्छ ९ महिना गर्भ बोकेर । तर पनि नागरिकतामा बाउ अनिवार्य आमा ऐच्छिक ।’ उनी भारतीय बुवा र नेपाली आमाका सन्तान ।

देशले भाञ्जा नमानेको भए एकदशक अघि नै नागरिकता पाउने मान्छे । आमा र बुवा दुवैको थर आफ्नो नामका पछाडि जोडेका छन् । पीडा पर्नेले नै पीडा बुझ्छ, नागरिकता संसोधन विधेयक प्रस्तुत भएपछि उनका स्टाटस आइरहेका छन् ।

साउन २२ गते संसदमा पेश भएको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले सन्तानलाई दिइने नागरिकतामा आमाको चारित्रिक प्रमाणपत्र भिराउने आशय दिन्छ ।

जसमा उल्लिखित बुँदा आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने वा बाबुको पहिचान हुन नसकेको वा खुलाउन नचाहेको अवस्थामा आमा वा सन्तानले ‘स्वघोषणा गर्नुपर्ने’ भन्ने बुँदा पढ्दा एकल आमाहरूले यही झन्झट खेप्नुपर्ने देखिन्छ ।

सन्तानलाई बाबु बेपत्ता भनेर लेख्न पनि मन हुँदैन न त धेरै सम्बन्धबाट जन्मिएको हुन्छ न त त्यो स्वीकार्न नै मनले मान्छ ।

आमाहरू न देशको जोखिम बुझ्छन् । न सेक्युरिटी थ्रेट थाहा पाउँछन् न त उनीहरूमा नेपाल फिजी हुने बारेमा नै जानकारी हुन्छ । बुझ्छन् त बस् नागरिकता पाउन नसकेर छट्पटिइरहेका आफ्ना सन्तानको पीडा । प्रेम, परिवार वा अन्य कुनै कारणले जन्मिएका आफ्ना सन्तानको नागरिकता नहुनुको पीडाले सन्तानलाई भन्दा बढी आमालाई पिरोल्छ ।

भर्खरैको कुरा हो गण्डकी प्रदेशको एकमात्र तराईमा पर्ने जिल्ला नवलपरासी बर्दघाट सुस्ता पुर्व पुगेका थियौँ, कार्यालयको कामको शिलशिलामा ।

हामीले जिल्ला प्रशासन कार्यालयमा एक व्यक्तिले सायद आफ्ना नातिको नागरिकता बनाउन आएका हजुरबुवा भेट्यौँ । उनकी चेलीको भारतीय नागरिकसँग विवाह भयो तर उनी नेपालमै बस्छिन्, सन्तान पनि यतै जन्मियो । उनी बेली बिस्तार लाउँदै थिए–सन्तान यतै बस्न र यतै रमाउन चाहन्छ ।

सिडियो साबले विधेयक पर्खन सुझाए–पर्खनुस् केही दिन विधेयक आउँदैछ ।

होइन भने बुवाको देश (भारत) मै सबै सुविधा पाइन्छ त यहाँको किन लिनुपर्यो ?

अनि थपे ‘बरू अहिले सम्पर्कमा नभएको, हराएको भनेर पनि त राख्न सक्नुहुन्छ । जिउँदो र आफूसंगै भएको बावु हरायो भन्नु ?’

Lama collectio News Middle

जवाफ सुन्दा लाग्थ्यो यो नागरिकता कसलाई दिने र कसरी दिने भन्ने सवाल कानुनमा कम सिडियो साबहरूमा बढी अल्झेको छ ।

बाबुले नागरिकता बनाउन सन्तान लिएर जाँदा आमा किन खोजिँदैन ? कस्को कोख हो भन्ने बारेमा जानकारी नचाहिने प्रशासनलाई आमाले सन्तान लिएर जाँदा विर्यको राष्ट्रियता पस्किनुपर्छ ।

चरित्रको प्रमाण–पत्र पेस गर्नुपर्छ, अनि कसरी राख्यो भन्ने राज्यले महिला र पुरुषलाई एकै दर्जामा ?

कति आमाहरू आफूले भाञ्जा भाञ्जी हुने देशमा जन्माएकै कारण अनागरिक भएका आफ्ना सन्तानलाई देखेर हीनताबोध गर्दा हुन् । अचेल विद्यालय भर्ना गर्दा जन्मदर्ता र एसईई पछि नागरिकता त स्लोगन झैँ भइसक्यो ।

मोबाइलको सिमकार्ड समेत अरूको नामको चलाइरहेका कथित भाञ्जाभाञ्जीले कति ठाउँमा हिनता महशुस गर्छन् ? कति चोट सहन्छन् त्यो बारे न राज्यले महशुस गर्छ न त बाबुको पहिचान हुन नसकेको वा खुलाउन नचाहेको अवस्थामा आमा वा सन्तानले स्वघोषणा गर्नुपर्ने भनि नागरिकता जारी गर्ने अधिकारीले नै ।

हामी सानै हुँदा झापाबाट स्नातकोत्तर सकेका अंग्रेजी, विज्ञान र गणितका शिक्षक बढीमा तिन हजारको तलबमा सुदूरपश्चिमका निजी विद्यालयमा पढाउँथे । आफू जन्मिएको देश भुटानले अनागरिक बनाएर नेपाल पठाएपछि जुन काममा नागरिकता चाहिँदैन उनीहरू त्यही काम गर्न बाध्य भए ।

नागरिकता नभएकै कारण केही हजारका लागि जिन्दगीले कर्णाली पारी सम्मको यात्रा तय गराइदिएको थियो उनीहरूलाई । छेउमै लोकसेवाको फारम खुल्थ्यो तर उनीहरूको पहुँच परीक्षा हलसम्म त के फारम दर्ता गर्ने स्थानसम्म पनि थिएन । नागरिकताले कति ठाउँमा मान्छेलाई बजार्छ भन्ने उदाहरण ।

पटक–पटक अल्झाउने नागरिकताको विषयले आमाहरूलाई कागजमा अधिकार दिएर पिरोलिरहेको छ । एकातिर सम्बन्ध विच्छेदपछि माइतीको थर राख्न पाउने भन्ने पनि लेखिएको छ ।

अनि आमाले माइतीको थर राखेपछि आमासँग आश्रित सन्तानले मावलीको थर राख्न पाउनु चाहिँ उसको अधिकारको कुरा होइन र ? आमाको नामबाट नागरिकता पाइन्छ भनेर अधिकार दिएझैँ गर्ने अनि व्यवहारमा अंकुश लगाइदिने ? ऐन/कानुन व्यवहारिक हुन आवश्यक छ ।

[email protected]
Twitter : @farsumitra

लेखकबाट थप

टाईम पास…

भिरजस्ता पिरहरु…

उनकै छोरी तरुनी हामीलाई केको दोष ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop