www.tandavnews.com
Fact ~ In search of truth

बेनी नगरपालिकामा फोहरबाट १७ लाख आम्दानी

म्याग्दी ।

बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा रु १७ लाख आम्दानी गरेको छ ।

जिल्ला सदरमुकाम बेनी र गलेश्वर बजारको फोहर व्यवस्थापन शुल्कबापत नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १७ लाख ५० हजार ५५५ आम्दानी गरेको हो । बेनीबजारमा एक कम्प्याक्टर (फोहोर सङ्कलन गर्ने सवारी साधन) र एक ट्र्याक्टरबाट दैनिक फोहर सङ्कलन गरिन्छ ।

Batas

एउटा घरबाट रु ५० देखि ३०० शुल्क लिने गरिएको नगरपालिकाका सूचना अधिकारी बिमल रञ्जन कार्कीले बताए । शुल्कबापत सङ्कलन हुने रकम फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनको इन्धन, मर्मत र कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ । बेनीमा दैनिक तीन ट्र्याक्टरका दरले सङ्कलन हुने फोहर बेनपा–८ र ९ को सिमाना रातो पहिरोमा व्यवस्थापन गरिँदै आएको छ । बेनी र गलेश्वरमा रहेका हजारभन्दा बढी घरबाट सङ्कलन हुने फोहर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

वातावरण प्रदूषण न्यूनीकरणसँगै आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले बेनी नगरपालिकाको रातो पहिरोमा फोहर व्यवस्थापन केन्द्र निर्माण शुरु गरिएको छ । त्यसको लागि रु ६७ लाख लागत अनुमान गरिएको छ ।

फोहर व्यवस्थापन केन्द्रका लागि जग्गा सम्याउने, कालीगण्डकी किनारमा ग्याबियन पर्खाल लगाउने र भवन बनाउने कामका लागि सोमरस निर्माण सेवाले रु ४७ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी असोज महिनासम्म फोहर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र्र बनाइएको निर्माण व्यवसायी प्रवीन सापकोटाले बताए । रातोपहिरोस्थित कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाई व्यवस्थापन केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।

कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना छ ।

हाल सोही स्थानमा खुल्ला रुपमा फोहर फालिँदै आएको छ । अव्यवस्थित रुपमा फोहर फालिँदा नदी र वरपरका क्षेत्रमा दुर्गन्धले असर गरेको छ । स्थायी फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनीनगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.