www.tandavnews.com
Fact ~ In search of truth

कठिन जीवन…

सन्तोष सुवेदी/ताण्डव न्युज 

अमेरिकाको आरिजोना राज्यमा जन्मेकी जेसिका कक्स अपाङ्ग हुन् । उनका दुबै हात छैनन् । तर उनका दुवै हात नभए पनि विमान चालकको इजाजत–पत्र भएका उनी एक मात्र चालक हुन् । खुट्टाले विमान चलाउने जेसिकाले तीन वर्षको अथक प्रयास र तालिमबाट मात्र विमान उडाउन सफल भएकी हुन् ।

नेपालको ७ नम्बर प्रदेश कैलालीका यमलाल रसाइली पनि अपाङ्ग हुन् । उनको एउटा खुट्टा छैन । उनले अपाङ्गप्रति समाजले हेर्ने दृष्टि परिवर्तन गर्नको लागि एक खुट्टाले साइकल चलाएर रारा पुगे । ‘अपाङ्ग नागरिकहरुको समान सहभागिता, सामाजिक न्यायमा सुनिश्चितता लक्कीदेखि रारासम्म’ साइकलमा बोर्ड राखेर उनी रारा पुगेका हुन् ।

Batas

यी दुई देशका अपाङ्गता भएका व्यक्तिले गरेको साहसिक उदाहरण हुन् । अपाङ्ग भएका व्यक्तिको क्षमता र खुबी दुबै भएपनि उनीहरुको दक्षताको मूल्याङ्कन देशअनुसार फरक हुने गरेको पाइन्छ । नेपालमा पनि अपाङ्ग भएका व्यक्तिले साहस जुटाएर केही न केही उल्लेख्य काम गरेका हुन्छन् तर त्यसको लागि उचित मूल्याङ्कन सरकारबाट नभएको त्यसक्षेत्रसँग सम्बन्धित पदाधिकारीहरुले गुनासो गर्ने गर्छन् । जस्तो कि, अपाङ्गता भएका व्यक्तिहरूको लागि फिलिपिन्समा घोषणापत्र जारि गरेको छ । अष्ट्रेलिया तथा हङ्गकङ्गमा मानवअधिकार कानुनअन्तर्गत अपाङ्ग व्यक्तिहरूबारे पनि व्यवस्था गरिएको छ । त्यहाँका मानव अधिकार आयोगले अपाङ्गहरू माथि हुने भेदभावका मुद्दा हेर्ने र अपाङ्गता भएका व्यक्तिहरूसम्बन्धी नीतिहरू बनाउने गर्दछन् । दुःखको कुरा, विदेशमा अपाङ्गता भएकाहरूले हाइटेक प्रविधि अपनाइरहेका बेला नेपालीले ह्विलचियरसम्म पाएका छैनन् । कठिन छ, अपाङ्गता सहितको जीवन ।

                                                                                                                                                                                                                             –गुगल फोटो

नेपालको सन्दर्भमा विगतका संविधानमा पनि राज्यको निर्देशक सिद्धान्तहरू अन्तर्गत अपाङ्गहरूको हक हितका विषयलाई समावेश गरिएको पाइन्छ भने नेपालको अन्तरिम संविधान, २०६३ ले पनि राज्यको दायित्व निर्देशक सिद्धान्त तथा नीतिहरू अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको व्यवस्था गर्दै सकारात्मक हिसाबले विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्ने कुराको समेत व्यवस्था गरेको छ । तर प्रयास र प्रयोगको तुलनामा नेपाललाई हेर्ने हो भने राज्यले अपाङ्गहरू माथि गर्ने व्यवहार कानुनले तोकेको भन्दा धेरै पछाडि देखिन्छ ।
नयाँ बनेकोे संविधानमा अपाङ्गतालाई समावेश गरिएपनि स्थानीय निकायमा नराखिएको गुनासो अपाङ्गता भएका व्यक्तिहरुले गरेका छन् । सिर्जनशील अपाङ्ग समाजका संस्थापक अध्यक्ष जगन्नाथ सुवेदी स्थानीय निकायमा महिला, दलित भनेर कोटा छुट्याएपनि अपाङ्ग भनेर नराखेको बताउँछन् । प्रदेश र राष्ट्रिय सभामा प्रतिनिधित्व राखेपनि स्थानीयमा समावेश नहुँदा राम्रो नलागेकोे तर्क राख्छन् ।

अपाङ्ग क्षेत्रमा विद्यमान ऐन कानुन बनेपनि त्यसको पूर्ण रुपमा पालना नभएको अवस्था छ । कार्यान्वयन पक्ष फितलो हुँदा अपाङ्ग व्यक्तिको समस्या जस्ताको तस्तै छ । ‘आरक्षण भएपनि व्यवहारमा लागु भएको छैन । गाडी भाडामा ४५ प्रतिशत छुट दिने भने पनि बोल्न नसक्नेले छुट पाएको पाइँदैन,’ सुवेदी भन्छन्, ‘आफै जानेर छुट दिएको पाइँदैन । अझ लामो यात्रामा त झन् तेलको भाउ बढेको छ छुट दिन सकिँदैन भन्छन् ।’ सवारी साधनमा अपाङ्ग देख्ने बित्तिकै गाडी नरोक्ने गरेको उनको अनुभव छ । ‘अपाङ्ग सिटमा अरु नै बसेको हुन्छ,’ उनी भन्छन्, ‘जनसमुदाय नै सचेत हुनुपर्ने अवस्था छ । सरोकारवालाले जान्न पर्ने कुरा हो ।’ सार्वजानिक यातयातमा ह्यलचियर राख्न नमान्दा महङ्गो भाडा तिर्नुपरेको अवस्था पनि अपाङ्ग व्यक्तिहरुसँग छ । ‘ह्वलचियर राख्न नमान्दा ट्याक्सी नै रिजर्भ गर्नुपर्ने अवस्था छ,’ अध्यक्ष सुवेदी भन्छन् ।

अझै पनि अपाङ्गमैत्री संरचना नबन्दा गाह्रो हुने गरेको अनुभव सुवेदी सुनाउँछन् । ‘कार्यक्रमको आयोजना गर्दा चार÷पाँच तला माथि मिटिङ राख्छन् । कि बोकेर लान प¥यो, आफै जान सकिँदैन,’ उनी भन्छन्, ‘यहाँ मात्र होइन धेरै ठाउँहरुमा अपाङ्गमैत्री भवनहरु, शौचालयहरुको अभाव छ ।’
परिवारभित्रै सकस :
अपाङ्गता आफैमा समस्या भने होइन । यसप्रतिको नकरात्मक धारणाले गर्दा परिवारबाटै सकस र कष्टकर जीवन जिउन बाध्य छन् उनीहरु । भौतिक संरचनाले गर्दा बाहिर निस्कन नसक्ने अपाङ्ग व्यक्तिहरुलाई हेयको दृष्टिकोणले हेर्ने शैलीमा भने केही परिवर्तन आएको सुवेदी बताउँछन् । पहिला अपाङ्गलाई हेर्ने दृष्टिकोणमा सकरात्मक नरहेको अवस्थामा अहिले केही सुधार देखिएको हो कि भनेर आँकलन गर्न सकिने अवस्था आएको उनको ठम्याइ छ । ‘सुधार आए पनि जति हुनुपर्ने हो त्यति भने अझै पनि हुन सकेको छैन्, ’ उनी थप्छन्, ‘अपाङ्ग भएको व्यक्तिलाई परिवारले नै बाहिर ल्याउन नचाहेको अवस्था छ ।’ सहर इलाकामा भन्दा ग्रामीण भेगको अपाङ्गको अवस्था ज्यूँ का त्यूँ रहेको उनी बताउँछन् ।
समाजमा एउटा व्यक्तिको हैसियत कायम राख्न खोज्दा उसले भौतिक, सामाजिक, सांस्कृतिक र अवधारणागत अवरोधहरूको सामना गर्नुपर्ने उनको बुझाई छ । ‘यस्ता अवरोधले गर्दा अपाङ्गता भएका व्यक्तिहरू आय आर्जन तथा रोजगारीका क्रियाकलापमा सामेल हुन नसक्ने गरेको देखिन्छ । व्यक्ति आय आर्जन तथा रोजगारीमा सामेल हुन नसक्दा परनिर्भरता र गरिबीको मारमा पिल्सनु पर्ने अवस्था सिर्जना हुन्छ,’ उनी भन्छन्, ‘यस्ता विविध कारणले गर्दा हाम्रो देशमा अधिकांश अपाङ्गता भएका व्यक्तिहरु आर्थिक विपन्नता र सामाजिक तिरस्कारको सिकार भएको पाइन्छ ।’
सिर्जनशील अपाङ्गता सरोकार समितिका अध्यक्ष फणिन्द्र पौडेलले गरिव वर्गभन्दा पनि धनी वर्गमा अपाङ्गता व्यक्ति पिल्सिएको अवस्था रहेको बताउँछन् । धनी परिवारमा दम्भ, विभेदले गर्दा आफ्नै घरमा पनि घरविहीन जस्तो हुनुपरेको पौडेल सुनाउँछन् ।
राज्यको प्रत्येक इकाइमा अपाङ्गता भएको व्यक्ति नपुगेसम्म समस्या जहाँको त्यहीँ रहने पौडेल बताउँछन् । ‘अपाङ्ग व्यक्तिलाई किन सबै ठाउँमा समावेश गरिँदैन ? अपाङ्ग मैत्री भनेको के हो भनेर सङ्घ÷संस्थालाई ज्ञान छैन,’ उनी भन्छन् , ‘सबैसँग समन्वय, सहकार्य गरेर अगाडि बढ्न चाहान्छाँै भन्दा पनि अवसरबाट वञ्चित पारिनु न्याय सङ्गत होइन ।’
सडकमा दुर्घटना :
एकवर्ष पहिले मालेपाटन पस्र्याङमा अहिलेजस्तो फराकिलो बाटो थिएन । सुस्मिता गुरुङ कलेज पढ्नको लागि मालेपाटनको सडक हुँदै जाँदै थिइन् । ह्विलचियरको साहराले हिडेकी गुरुङलाई विपरीत दिशाबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दियो । उनी ढलिन् । निधारमा चोट लाग्यो । घटना घटेको एक वर्षपछि एक कार्यक्रममा भेटिएकी उनी सोही घटनाले बेलाबेलामा तर्साउने गरेको बताइन् । यहाँका सडक अपाङ्ग मैत्री नहुँदा एक्लै हिड्न मुस्किल हुने उनले सुनाइन् । ‘एक्लै ह्विलचियर गुडाएर हिँड्नै सकिँदैन,’ उनले भनिन् ।
सडक मात्र होइन यहाँका सरकारी कार्यालय पनि अपाङ्ग मैत्री हुन नसक्दा गाह्रो पर्न गएको पौडेल बताउँछन् । ‘सरकारी कार्यालयमा गएर निरन्तर अनुरोध गरेका छौं । केही कार्यालयमा मात्र सुधार आएको छ,’ अध्यक्ष पौडेलले भने, ‘राज्यबाट पनि अपाङ्गलाई भनेर यथेष्ट सहयोग हुन अझै सकेको छैन ।’

आवद्ध सङ्घसंस्था :
कास्कीमा १२ हजार हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरु छन् । यसै क्षेत्रमा यहाँ २०÷२२ वटा सङ्घसंस्था छन्, जसले अपाङ्गको लागि काम गर्छन् । फर अर्गनाइजेसनले अपाङ्गताको निम्ति काम गरेको पाइन्छ । जस्तैः एनजिओ, आइएनजिओ, साथी नेपाल, कोपिला नेपाल र अफ अर्गनाइजेसनमा आफै अपाङ्ग भएर सञ्चालन भएका संस्थाहरु हुन् । शारीरिक रुपमा काम गर्ने संस्थाहरुमा सिर्जनशील अपाङ्ग समाज, स्वावलम्बन जीवन पद्धति समाज, मेरुदण्ड पक्षघात संघ, अपांग सेवा समाज संघ पर्छन् । दृष्टिविहीनको लागि नेत्रहीन संघ कास्की छ । गण्डकी बहिरा सङ्घ, श्रवण दृष्टिविहीन (सुन्न देख्न नसक्ने) संघ, बौद्धिक अपाङ्गता अभिभावक सङ्घ लगागत रहेका छन् ।
योसँगै सिर्जनशील अपाङ्ग समाजको आयोजनामा पोखरा महानगरपालिका–३ मा हरेक बिहान ७ बजेदेखि ८ बजेसम्म पिआरटी सेवा सञ्चालनमा ल्याइएको छ । यसमा अपाङ्गता भएका व्यक्तिको समावेश गरिएको छ । पिआरटी सेवालाई योगसँग जोडेर त्यस्ता व्यक्तिहरुलाई सबल र सक्षम बनाउने योजना रहेको छ ।

के भन्छन् मेयर ?
पोखरा महानगर नै अपाङ्ग मैत्री छैन । केही गुनासा वा काम विशेषले अपाङ्ग भएका व्यक्ति गएपनि महानगर पस्न गाह्रो अवस्था छ । यसमा स्वयम् मेयर मानबहादुर जिसीले नै स्वीर्काछन् । ‘हामीलाई भेट्न आउँदा सिधा बाटो भन्दा पनि घुमाएर ल्याउनुपर्ने अवस्था छ,’ जिसी भन्छन्, ‘उहाँहरुलाई गाह्रो छ । अब बन्ने संरचनाहरु अपाङ्ग मैत्री नै हुनेछन् ।’
यहाँका सरकारी कार्यालय अपाङ्ग मैत्री छैनन् । अब यसको पनि तथ्याङ्क निकालेर अब बन्ने कार्यालयमा अपाङ्ग मैत्री बनाउने योजना रहेको मेयर जिसीले सुनाए । ‘सडकलाई पनि सोही अनुसार डिजाइन गरेर अपाङ्ग भएका व्यक्तिलाई हिड्न सहज बनाउनेछौं,’ उनले भने, ‘केही वडाहरुले यसको प्रयास गरेका छन् । हामी पनि सुरु गर्दैछौं ।’

अपाङ्ग परिचय–पत्र

महिला तथा बालबालिका कार्यालय कास्कीबाट हालसम्म ४ हजार २१ जनाले अपाङ्गले परिचय–पत्र पाएका छन् । परिचय–पत्र लिनेमा महिला भन्दा पुरुष बढी रहेको पाइएको छ । महिला तथा बालबालिका कार्यालयले वितरण गरेको तथ्याङ्क अनुसार १६ सय १८ जना महिला र २४ सय ३ पुरुषले परिचयपत्र पाएका छन् ।

महिला तथा बालबालिका कार्यालयसहायक महिला विकास निरीक्षक इन्दिरा रेग्मीका अनुसार पोखरा महानगरपालिकामा जम्मा २५ सय ८५ ले कार्ड पाए । त्यस्तै रुपा गाउँपालिकामा २५१, माछापुच्छ्रे गाउँपालिकामा ५४१, अन्नपूर्ण गाउँपालिकामा ३०६ र मादी गाउँपालिकामा ३३८ ले अपाङ्गताको परिचय पत्र पाए ।

आर्थिक वर्ष २०६७÷०६८ को निर्देशिका अनुसार अपाङ्ग भएका व्यक्तिहरुको वर्ग छुट्टयाएर परिचय पत्र वितरण गर्ने व्यवस्था ल्यायो । त्यसपछि चार प्रकारको रंगको आधारमा वर्ग विभाजन गरी परिचय दिइयो । जसअन्र्तगत पूर्ण अशक्तलाई रातो कार्ड, अति अशक्तलाई निलो, मध्यमलाई पहेँलो र साधारणलाई सेतो कार्ड वितरण हुनेछ ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष हेम गुरुङले हाल कास्कीमा अपाङ्ग यति नै छन् भन्ने तथ्याङ्क नभएको बताए । ‘२०६५ मा घरदैलो गरी १० हजार १५ को तथ्याङ्क निकालिएको थियो । पछि २०६८ को जनगणनामा कम आएको भन्ने सुनियो,’ उनले भने, ‘अहिले यकिन तथ्याङ्क नहुँदा २०६५ लाई नै आधार मानेर भन्ने गरिएको छ ।’

अपाङ्ग भएका व्यक्तिको सङ्ख्या धेरै भएपनि कतिपय विभिन्न कारणले परिचयपत्र लिन नसकेको अवस्था अझै पनि रहेको उनी बताउँछन् । ‘कोहीले थाहा नै नपाएका छन भने कोही थाहा पाएर पनि अशक्तको कारण लिन सकिरहेका छैनन्,’ उनले भने, ‘पाउनुपर्ने अधिकारबाट पनि कतिपय वञ्चित हुनुपरेको अवस्था छ । सहरमा कम भएपनि दुरदराजमा रहेका अपाङ्गलाई निकै सास्ती छ ।’

समग्रमा कास्कीमा अपाङ्ग भएका व्यक्तिहरुको अवस्था मध्यम भएको सिर्जनशील अपाङ्गता सरोकार समितिका कास्की अध्यक्ष फणिन्द्र पौडेलले बताए । ‘सहरी क्षेत्रमा अपाङ्ग भएकालाई केही सहज नै छ, ’ उनले भने, ‘बरु ग्रामीण इलाकामा दयनीय छ, जहाँ राख्यो त्यही बस्नुपर्ने अवस्था हिँडडुल गर्न गाह्रो छ ।’ अपाङ्ग भएका व्यक्तिहरुका घरहरु अपाङ्गमैत्री हुनुपर्ने उनको माग छ । भन्छन, ‘धेरै अपाङ्ग व्यक्तिका घर मैत्रीपूर्ण छैनन, जसले गर्दा दिसा पिसाबदेखि हिँडडुल गर्न गाह्रो हुने गरेको छ ।’ सरकारी कार्यालयदेखि अफिससम्म अपाङ्ग मैत्रीपूर्ण हुनुपर्ने उनको भनाई थियो ।

सरकारले ल्याएको नीतिनियम सकारात्मक भएपनि संविधानमा लेखिए बमोजिम कार्यान्वयन भए अपाङ्ग क्षेत्रमा सहज हुने उनले बताए । ‘शिक्षित अपाङ्गलाई समावेशीको कुरा समावेश छ,’ उनले भने, ‘अशिक्षितलाई रोजगार र विशेष कार्यक्रमको व्यवस्था राम्रा छन् ।’ संविधानमा केही गर्न नसक्नेलाई भत्ताको पनि व्यवस्था गरेको उनले जनाए । रातो कार्ड हुनेले २ हजार र निलो कार्डले ६ सय पाउने व्यवस्था भएपनि बैंकमा लिन जाँदा भत्ता पाउने भन्दा बढी खर्च हुने पौडेलले बताए ।

‘सरकारले अपाङ्ग भएकाहरुलाई बजेट छुट्याए पनि लिने कसरी भन्ने कतिपयलाई जानकारी नै छैन,’ उनले भने, ‘वडा स्तरबाट विस्तार गर्दै लैजानुपर्छ । हरेक कार्यक्रममा अपांगको बजेट छुट्टाइयोस् र उनीहरुलाई लाभान्वित हुन सकून् ।’

अपाङ्गता मैत्री पदमार्ग
कास्कीकोटदेखि अन्नपूर्ण गाउँपालिकाको नौडाँडा पुग्ने अपाङ्गता मैत्री पदमार्ग सञ्चालनमा छ । यसलाई एसियाकै पहिलो अपाङ्गता मैत्री पदमार्ग पनि भनिएको छ ।

पोखरा महानगरपालिकास्थित देउराली नौडाँडामा १.३ किलोमिटर लामो पदमार्ग गत चैतबाट सञ्चालनमा आएको हो । पदमार्गमा ह्विल चेयर प्रयोगकर्ता, वृद्ध नागरिक, कृत्रिम हात खुट्टा भएका जस्ता पदयात्रीले यात्रा गर्न सक्छन् । पदमार्गको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । पदमार्गबाट अन्नपूर्ण, माछापुच्छे« लगायत हिमशृङ्खलाको अवलोकन र फेवातालको मनोरम दृश्यको मजा लिन सकिन्छ ।

मोटर गाडी चलाउन नपाइने यो मार्ग अपाङ्गता भएका व्यक्ति र साइकल चलाउनेका लागि लक्षित हो । यो मार्ग साढे १ किलोमिटरको छ । दायाँबायाँ बार बन्देज लगाई ३ किलोमिटर मार्ग तयार हुँदैछ । पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले मार्ग निर्माणमा खर्च गरेका छन् ।

सरकारले कनिका छर्के जस्तो गर्छ

लक्ष्मण सुवेदी , अध्यक्ष       नेत्रहीन संघ कास्की

सबैभन्दा पहिला कुरा दृष्टिविहीनको लागि प्रयोग हुने सहायक सामग्री जस्तो, सेतो छडी, टकिङ मेसिन जस्ता सामग्रीहरु नेपालमा बन्दैनन् पनि ल्याउनको लागि प्रयास पनि भएको पाइँदैन ।

सहायक सामग्रीको कुरामा विभिन्न सङ्घसंस्थासँग सहयोग जुटाएर केही मात्रामा वितरण त गरेका छौं । यस्ता सामग्रीहरुको अभाव निकै नै छ । दृष्टिविहीन विद्यार्थीको लागि पाठ्यक्रमको समस्या छ । जस्तो कि, छामेर पढ्ने ब्रेललिपि अत्यान्त थोरै छ । अपाङ्गभित्र पनि दृष्टिविहीनको लागि आरक्षण भनेर ५ प्रतिशत भनिए पनि सामान्य व्यक्तिले अवसर लिने र वास्तविक दृष्टिविहीनले उपयोग गर्न नपाएको अवस्था पनि छ ।

नेपाल सरकारले दृष्टिविहीनको लागि बजेट छुट्याएको पाइँदैन । सामान्य रुपमा भन्नुपर्दा परेवालाई कनिका छर्के जस्तो छारो हाल्ने प्रवृति छ । अपाङ्ग, बृद्धाभत्ता भनेको छ, बृद्धाहरुका लागि महिनामा २ हजार दिइन्छ, अपाङ्ग भएका व्यक्तिलाई ६ सय रुपैयाँ मात्र दिएको पाइन्छ । यी र यस्ता चुनौतिहरु भोग्नुपरेको अवस्था छ ।

सहकारीमा पाइला

दृष्टिविहीन श्रीकान्त सापकोटा समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् । उनले दृष्टिविहीनहरु वित्तीय सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले त्यसैको सहजतामा लागि परेका हुन् । एक दशक अघि सहकारी, बैंकमा दृष्टिविहीनलाई खाता खोल्न गाह्रो हुने गथ्र्यो । अहिले परिस्थिति फेरिएको हो कि भन्ने अड्कल काट्छन् उनी ।

२०६० साल असार १६ गते समदृष्टि सहकारीको नाम दिएर संस्था स्थापना भयो । गएको साउनमा श्रीकान्त सापकोटा सहकारीको अध्यक्षमा हुँदा २१ लाख शेयर पँुजी थियो । बचत ७ लाख रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकको ग्रामीण स्वावलम्बन कार्यक्रम मार्फत २४ लाख रुपैयाँ ल्याएर फिर्ता गरिसकिएको अध्यक्ष सापकोटा बताउँछन् । समयमै सहकारीको स्थापना नगरेको भए हामी वित्तीय सेवाबाट वञ्चित हुनु पथ्र्यो उनले भने ।
‘हाम्रा लागि हामी नै भन्ने मान्यता’ लाई आत्मसात गरी ५ हजारका दरले २५ जना साथीहरुबाट सेयर सङ्कलन गरेर सहकारी स्थापना गरिएको थियो । दृष्टिविहीन, अल्पदृष्टियुक्त, दृष्टिविहीनको अभिभावक र नेत्रहीन संघ कास्कीका सहयोगी, सल्लाहकार सेयर सदस्य रहन पाउने व्यवस्था छ ।

समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड जस्तै अर्को सहकारीको नाम हो, सिर्जनशील स्वावलम्वन कृषि सहकारी संस्था लिमिटेड । तीन वर्ष पहिले पोखरा–३ नदीपुरमा स्थापना भएको सहकारी अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालनमा ल्याएका हुन् । अपाङ्गता भएका व्यक्तिहरुको सक्रियतामा ८५ जना सेयर सदस्यबाट स्थापना गरिएको सहकारीमा अहिले २ सय ८ भन्दा बढी सदस्य पुगेको छ । सहकारीबाटै अपाङ्गता भएका व्यक्तिलाई सपाङ्ग बराबर अधिकार दिलाउनको कार्य योजना अनुसार नै स्थापना गरेको संस्थाका अध्यक्ष फणिन्द्र पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार आपसी समझदारीमा नीति बनाएर संस्थाले बिना धितो कृषिमा लगानी गर्ने लक्ष्य लिएको छ । संस्थामा एक हजार सेयर गर्ने व्यक्तिले १० हजार रुपैयाँ, १० हजार रुपैयाँ सेयर लगानी गर्नेले ५० हजार र ५० हजार सेयर गर्ने व्यक्तिले ३ जनाको रोहवरमा २ लाख ऋण पाउने व्यवस्था रहेको छ । सहकारीको विनियम अनुसार सहकारीको सञ्चालक सदस्यमध्ये अपाङ्गता भएका ७५ प्रतिशत र सपाङ्ग २५ प्रतिशत सदस्य छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.