सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।
देशैभरी बलात्कारका घटनाका समाचारले मिडिया भरीभराउ छन् । हरेक दिन जसो बलात्कारको बिषयमा समाचार नआएको दिन सायदै होला ।
पर्वत जिल्ला पनि यसबाट अछुतो छैन । यद्यपी पर्वतमा भएका बलात्कारका घट्ना हेर्ने हो भने, अरू जिल्लाका घटना भन्दा केही अस्वभाविक देखिन्छन् । पर्वतमा विभिन्न समयमा भएका बलात्कारका घटना केलाउने हो भने ४ वर्षीया नाबालिका देखि ७८ वर्षीया बृद्धासम्म छन् ।
जिल्लाको मोदी गाउँपालिका वडा–३ देउरालीमा केही समय पहिले यस्तै घटना घट्यो । जसमा १९ बर्षका युवाले ७८ वर्षीया बृद्धाको बलात्कार गरेको भनि पीडित पक्षले उजुरी दिए । सुन्न र केही बोल्न नसक्ने अपाङ्गता भएकी बृद्धामाथि रक्सीको मातमा बलात्कार गर्ने युवक अहिले पर्वत जिल्ला अदालतबाट भएको फैसला अनुसार ११ वर्षको कैद सजाय भुक्तानको लागि कारागारमा छन् ।
गत आर्थिक वर्षमै मोदी गाउँपालिकाकै वडा–२ देउपुरका शिक्षक पक्राउ परे, १० वर्षीया छात्रामाथि बलात्कार गरेको अभियोगमा । उनको अपराधको पुष्टी भएपछि उनलाई अदालतले ८ बर्षको कैद सहित ५० हजार रुपैयाँ जरीवानाको फैसला सुनायो ।
यही साउन महिनाको ७ गते पनि जिल्लाको फलेवास नगरपालिका–५ मा रहेको माझीगाउँ प्राथमिक विद्यालयका प्रध्यानाध्यापक पनि नाबालिका छात्राहरू माथि अप्राकृतिक मैथुन गरेको उजुरीको आधारमा पुर्पक्षको लागि थुनामा छन् ।
५१ वर्षीय आरोपित प्रधानाध्यापकमाथि सोही विद्यालयमा अध्ययनरत् ७ देखि १२ वर्ष उमेर समूहका तीन जना र अर्को विद्यालयकी सोही उमेर समूहकी १ जना सहित चार जना छात्रालाई विभिन्न समयमा ललाई फकाई तथा धम्की दिएर यौन दुब्र्यवहार गरेको अभियोग छ ।
जिल्ला प्रहरी कार्यालय, पर्वतको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा २०७४/०७५ जिल्लाका ४ वर्षीया बालिकादेखि ७८ वर्षीया बृद्धासम्म बलात्कार तथा बलात्कार प्रयासको शिकार बने । पर्वतको तथ्याङ्क अनुसार बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित १० जना मध्ये चारजना १६ बर्ष मुनीका बालिका छन् भने अन्य ६ जना बृद्ध सहित उमेर पुगेका महिला पीडित छन् ।
ती घटनामा १६ बर्ष देखि ४५ वर्षसम्मका पुरूषहरू दोषी रहेको पाइएको छ । बलात्कारका ७ वटा घटना र बलात्कार प्रयासका तीनवटा घटना मध्ये १२ जना आरोपित कानुनी दायरामा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्वतले घटनाका आरोपितलाई कानुनी कारबाही दिलाउने प्रयास अनुरूप एक १६ बर्षीया बालिकालाई सामुहिक बलात्कारमा संलग्न तीनजना आरोपित मध्ये जिल्ला अदालतले दुईजना उमेर नपुगेका आरोपितलाई बाल गृहमा राख्ने आदेश दिएको छ ।
एक आरोपित पुर्पक्षका लागि थुनामा छन् । बाँकी सबै बलात्कार तथा बलात्कार प्रयास घटनाका अभियुक्तलाई कैद सजाय र जरिवाना सहितको फैसला जिल्ला अदालतले सुनाइसकेको छ ।
उमेर नपुगेका बालिका र अभिभावक सरहका बृद्धबृद्धामाथि हुने गरेका बलात्कारका घटनाहरू निकै लज्जास्पद र अमानवीय छन् । कालिका माध्यमिक विद्यालय खुरकोटका शिक्षक तथा मनोविज्ञानका विद्यार्थी देवराज पौडेल भन्छन्,–‘मानिसलाई उसको स्वभाव अनुसारको परामर्श आवश्यक हुन्छ । व्यक्तिका सङ्गत, पीडा लगायतका कुराले उसको मानसिकतालाई बलात्कारतर्फ प्रेरित गरेको हुन सक्छ । यसका लागि समाजका व्यक्तिको चाहना इच्छा के छन् ? भन्ने पनि बुभ्नुपर्छ र सोही अनुसारको उपचारात्मक पद्धती अपनाउनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार घटनाबारेको सूचना ढिलो गरी प्राप्त हुँदा प्रमाण संकलनमा समस्या, पुनःस्थापना केन्द्र नहुनु, मानसिक विक्षिप्तता भएका पीडितको हेरचाह र उपचारको प्रभावकारी ब्यवस्था नहुनु, पीडित अदालतमा आक्रामक रूपमा प्रस्तुत हुने, कतिपय पीडित उपस्थित नै नहुने र अभियुक्त स्वयंले सही परिचय नदिनाले पहिचान र पक्राउमा पनि बलात्कारका घटना माथि गरिने न्याय प्रवाहमा ढिलो वा समस्या पनि हुने गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।