www.tandavnews.com
Fact ~ In search of truth

केरुङ-काठमाडौँ रेलमार्ग नौ वर्षमा

काठमाडौँ ।

सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन नेपाली र चिनियाँ अधिकारी छलफलमा जुटेका बेला विभागबाट उक्त जानकारी प्राप्त भएको हो ।

Batas

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा रसुवागढीदेखि काठमाडौँसम्मको दूरी ७२.२५ किमी छ ।

प्रतिकिमी रु तीन अर्ब ५५ करोड लागत रहने विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणका विषयमा राष्ट्रपति सिचीन फिङ र प्रधानमन्त्री लि खछ्याङसँग महत्वपूर्ण छलफल एवं सहमति भएको थियो ।

९८ प्रतिशत पुल र सुरुङ

विभागका सिनियर डिभजनल इन्जिनीयर उपाध्यायका अनुसार सो रेलमार्गमा ९८.५५ प्रतिशत पुल तथा सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ । कमजोर भूभाग रहेको भन्दै विभिन्न आशङ्का व्यक्त भइरहेको बेला चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययनअनुसार रेलमार्ग निर्माण गर्न उपयुक्त र सम्भाव्य देखिएको छ ।

नेपाल सरकार आफँैले पनि रेलमार्ग निर्माण गर्न सक्ने अवस्था रहन सक्ने अध्ययनबाट देखिएको छ । नेपाली र चिनियाँ अधिकारीले प्रारम्भिक अध्ययन प्रतिवेदनलाई स्वीकृत गरेपछि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को काम शुरु हुनेछ । – रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.