संजय रेग्मी
पर्वत/ताण्डव न्यूज ।
नगरपालिकाभित्र उत्पादित २३ प्रकारका कृषि उत्पादनमा लगाएको कर संकलन गर्न नसकेपछि पर्वतको फलेवास नगरपालिकाको कर नीति नै संकटमा परेको छ ।
एक बर्ष अगाडि नगरसभाबाट नगरपालिकाका ११ वटै वडामा उत्पादित कृषिजन्य वस्तुको निर्यातमा प्रतिकिलो एक रुपैयाँदेखि सय रुपैयाँसम्म कर लगाउने नीति पारित गरेपनि हालसम्म सो बापतको कर संकलन हुन सकेको छैन् ।

नगरपालिकाले कर संकलनका लागि टेण्डर आह्वान गरेको भएपनि नगरबासीको तीब्र बिरोधका कारण कर संकलनका लागि कसैको पनि दरखास्त नपर्दा नगरपालिका कर संकलन गर्न निरीह जस्तै देखिएको छ ।
करको घोषणा गरिरहँदा नगरपालिकाको चर्को बिरोध गरेका नगरपालिकाबासीले नगरपालिकालाई कृषि उत्पादनमा लगाईएका २३ प्रकारका उत्पादनमध्ये कुनैमा पनि कर नतिरेपछि नगरपालिकाको कर मोह असफल बनेको हो ।
ग्रामीण क्षेत्रहरु समेटेर बनाएको फलेवास नगरपालिकाले आर्थिक समृद्धि उन्मुख क्षेत्र बनाउने लक्ष्य राख्दै कृषिजन्य वस्तु तथा गैरकाष्ठ वन पैदावार, खोलानालामा माछा मार्ने, वस्तुभाऊ निकासी पैठारी गर्नेहरु, सुन्तला तथा अमिलो जातका वस्तु, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा मौरीको गोला, दुध निकासी, खसी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर निकासीमा समेत कर लगाईएको थियो ।
पछिल्लो समय स्थानीय तहहरुले अत्यधिक कर बढाएका कारण चौतर्फी बिरोध भैरहेको सन्दर्भमा नगरबासीले कृषि उत्पादनमा लगाईएको करको चर्को बिरोध गर्दै नतिर्ने बताएका छन् ।
यो संगै फलेवासमा कर नीति नै संकटमा परेको छ । चालु आर्थिक बर्षमा भने नगरपालिकाले हालसम्म कर उठाउनका लागि टेण्डर आह्वान गरेको छैन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.