
पोखरा ।
रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बनेका छन् ।
पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित ४० वर्षीय नीलबहादुर गुरुङ आफ्नो विदेश बसाइँका अनुभव समाल्दै व्यावसायिक भैँसी पालनमा जुटेका हुन् । रोजगारी खोज्दै जापानसम्म पुगेका उनलार्ई त्यहाँको परिवेशले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने पाठ सिकायो ।
“जापानमा त्यहीँका स्थानीयवासी पनि मेहनेतका साथ काम गर्दा रहेछन्, हाम्रोमा भने काम गर्नुपर्छ भन्ने भावना अझै विकास हुन सकेको छैन,”– उनले भने । विदेशमा गएर मरिमेटी काम गर्नसक्ने युवामा यहाँ भने काम नगर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ ।
एसएलसी दिँदै गर्दा २०५३ सालतिर भारतीय सेनामा भर्ती खुलेपछि लाहुरे हुने इच्छा उहाँलाई पनि जाग्यो तर सफलता मिलेन । त्यसपछि उहाँले करीब ६ वर्ष काठमाडौँ – पोखरा चल्ने रात्रि बस किनेर सञ्चालन गरे ।
२०६० पछि एकदशक जापानमा बिताएका उनलाई त्यहाँको बसाइँले स्वदेशमा नै केही गर्नुपर्छ, भन्ने प्रेरणा दिएको हो । पोखरा– ३३ बाघमारा इन्द्रचोकमा २० रोपनी जग्गा लिएर व्यावसायिक भैँसी पालनमा लागेका माइलाको परिवार नै यतिखेर स्वरोजगार त बनेको छ नै, त्यसमा पनि अन्य दुईजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दुई कर्मचारी आफूसहित श्रीमती सीता व्यावसायिक भैँसीपालनमा अहोरात्र खटेको र सबै खर्च कटाएर मासिक रु एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
शुरुमा रु २८ लाख लगानी गरेको माइलाको फर्ममा अहिले १३ वटा भैँसी तथा सातवटा पाडापाडी छन् । उनका अनुसार फर्ममा दैनिक सात भारी घाँस र दुईचरण कुँडो आवश्यक हुन्छ । फर्म सञ्चालन गर्नेलाई सरकारले ठाउँठाउँमा आर्थिक अनुदान दिने गरेको सुनिए पनि आफूले भने अहिलेसम्म त्यस्तो अनुदान प्राप्त नगरेको उनले बताए।
भैँसी पालनका लागि अत्यधिक पानी आवश्यक हुने भए पनि बाघमारामा पर्याप्त पानी नहुँदा पटक÷पटक समस्या भोग्नुपरेको उनको दुःखेसो छ । फर्ममा पशुसेवा केन्द्र, खुदीको सिफारिसमा यसअघि पशुसेवा कार्यालय पोखराबाट बाट प्राप्त मकैचरी घाँसको बीउ लगाएर भैँसीलाई खुवाइएको उनले जानकारी दिए।
अहिले पनि फर्ममा केन्द्रबाट नेपियर, सियो चार जस्ता घाँसको बीउ ल्याएर लगाउन थालिएको छ । भैँसीले दूध दिने अवस्थासम्म दूधको व्यापार र त्यसपछि मासुको प्रयोजनमासमेत बिक्री हुने गरेका कारण पछिल्लो समयमा भैँसी पालनतर्फ निकै आकर्षण बढिरहेको छ ।
भैँसीको दूध प्रतिलिटर रु एक सय २० मा बिक्री हुने गरेको जानकारी दिँदै माइलाले बजारमा अत्यधिक मागका कारण त्यसअनुरुप दूध पु¥याउन धौधौ भएको अनुभव सुनाए।-रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.