www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसबाट निर्वाचित १८९ नगर प्रमुख र उपप्रमुख पार्टीको केन्द्रीय कार्यालयमा

काठमाडौँ । 

नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मुलुकभरबाट सहभागी नगर प्रमुख र उपप्रमुखलाई पार्टीका शीर्ष नेताका साथै विभिन्न विषयका विज्ञहरुले प्रस्तुति दिइरहेका छन् ।

तीनै तहका सरकारले जथाभावी कर लगाएको भन्दै सर्वसाधारणबाट आक्रोश बढेपछि काँग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग पहिलो चरणमा यो कार्यक्रम गरेको जनाएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा काँग्रेसबाट निर्वाचित १८९ नगर प्रमुख र उपप्रमुख छन् ।

कार्यक्रमको प्रथम सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना विषयमा, द्वितीय सत्रमा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्य न्यायिक र कानूनी पक्षमा, तृतीय सत्रमा पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्धमा प्रस्तुति दिने छन् ।

सो कार्यक्रममा पार्टीका नेताका साथै अन्य विभिन्न क्षेत्रका विज्ञले पुरक टिप्पणी गर्नुहुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए। समापन सत्रमा काँग्रेसको तर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिका विषयक कार्यक्रम हुनेछ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.