www.tandavnews.com
Fact ~ In search of truth

गलत निर्णय, आफ्नै हत्या

अर्जुन गिरी
ताण्डव न्यूज ।

कोही मनमै कुरा दबाएर त कोही कागजको सहायता लिएर आफ्नो शब्द पोख्दै आफैले आफ्नो हत्या (आत्महत्या) गर्छन् । जीवन त्याग्नुको कारण अनि शैली फरक हुन सक्छ तर यो गलत बाटो रोज्नुको उद्देश्य मुक्ति नै हो । पीडा वा तनाब थेग्न नसकेर गरिने अपराधको रुपमा पनि आत्महत्यालाई लिइन्छ । आत्मिक एवं नैतिक बल कम हुँदा फरक बाटो रोज्ने गरेको मनोचिकित्सकहरु बताउँछन् ।

आत्महत्या अहिले एक ठूलो समस्याको रुपमा देखिएको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । त्यति मात्र होइन हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख भन्दा बढी मानिसमध्ये आधा जसोले यही बाटो अँगालेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । यो समस्याले नेपालमा पनि त्यतिकै असर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौ स्थानमा पर्छ ।

Batas

कास्कीमा हेर्ने हो भने पनि आत्महत्याको घटना बढ्दो छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त विवरण अनुसार पनि आत्महत्याको घटना बढी हुने गरेको पाइन्छ ।

अलबिदा भन्दै बिदा भए

‘कठै उर्मिला, तिमीले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिँन । २ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदै छु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ यो अन्तिम सन्देश परिवारलाई छाड्दै पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले दुनियाँबाट बिदा लिए ।

असार ९ गते सन्देश छाडेर हिँडेका ओमराजले गलत निर्णयले आफ्नै हत्या गर्न पुगे । घरमा सन्देश छाडेको केही दिनपछि पौडेलको शव तनहुँ भिमाद नगरपालिका–६ सेती नदीमा फेला परेको थियो । केही समस्या, केही पीडा हुन सक्थ्यो त्यसलाई सामना गर्न छोडेर पौडेलले अन्तिम विकल्प गलत निर्णय लिएर टुङ्ग्याए ।

‘लास्ट बाइ बाइ’ भन्दै सन्देश छाडेको भोलिपल्ट एक किशोरीको शव फेवातालमा भेटियो । घरबाट भदौ १० गते हिँडेकी पोखरा–२२ पुम्दीभुम्दी घर भएकी सुस्मिता लामिछानेले छिमेकीलाई त्यो सन्देश मोबाइलबाट पठाएर गलत निर्णय लिइन् । फेवातालको ड्यामको डिलमा मोबाइल, पर्स, चप्पल, झोला राखेर फेवातालमा हाम फालेर जीवन त्यागिन् ।

छोरेपाटन कक्षा १० मा पढ्ने ती किशोरीले लाउलाउ खाऊँखाऊँ भन्ने बेलामा आफ्नो जीवन त्यागिन् । घरबाट निस्केर पटक–पटक परिवारसँग फोन सम्पर्कमा ‘भोलि बिहान आउँछु’ भनेकी सुस्मिता के कारणले त्यो निर्णय लिइन अझै पनि खुल्न सकेको छैन । सुस्मिताले किन आत्महत्या गरिन् भन्ने कुरा खोजी कार्य भरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

कास्की प्रहरीले दिएको घटना विवरण हेर्दा आत्महत्याको घट्ना पछिल्लो समय बढ्दो देखिन्छ । विभिन्न कारणले गर्दा मान्छेले ज्यान गुमाउँछ ती मध्ये आत्महत्या अग्रस्थानमा रहेको तथ्याङ्कमा उल्लेख छ ।

चार महिनाको घटना विवरण केलाउँदा सबैभन्दा धेरै आत्महत्याको घटना छ त्यसपछि भवितब्य ज्यान मुद्दा देखिन्छ । वेशाखदेखि साउनसम्मको विवरण अनुसार झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या ४५ जना, विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या ६ जना, भवितव्य ज्यान २७ जना, फुटकर ज्यान २५ जना, कर्तव्य ज्यानमा ३ जना रहेका छन् ।

जसअनुसार प्रत्यक महिनामा हेर्ने हो भने बैशाखमा १० जना, जेठमा १० जना, असारमा १६ जना र साउनमा १५ जनाले आत्महत्या गरेको कास्की प्रहरीले दिएको घटना तथ्याङ्कमा उल्लेख छ । आत्महत्याको घट्ना बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङ बताउँछन् । ‘अहिले जटिल समस्याको रुपमा आत्महत्याको घटना देखिएको छ,’ उनले भने, ‘यसको न्यूनीनकरणको लागि बेलैमा सोच्नुपर्छ ।’

के कारणले गर्छन् आत्महत्या ?

केही मानिसहरु रिसका कारणले आत्महत्या गरेको पाइन्छ । सहन नसक्ने घटना आफ्नो जीवनमा घट्नु, निको हुन नसक्ने रोग लाग्नु, कुनै घटनाबाट अपमान बोध भएको महशुस भएपछि गलत बाटो अपनाउँछन् ।

यस बाहेक चरम आर्थिक नोक्सानी, असफल प्रेम, असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहार जस्ता कारण पनि आत्महत्याको कारक मानिएको छ । बाँकी जीवनका लागि कुनै विकल्प नदेखेर उदास र निराश भई त्यो बाटो रोजेको पाइन्छ । स्वास्थ्य संस्थाका अनुसार मान्छेमा वंशानुगत गुणका कारणले पनि आत्महत्या गर्ने गर्छन् ।

आत्महत्याको लक्षण

कसैले आत्महत्या गर्ने सोचेको छ भने ऊ अत्यन्त निराशाजनक हुन्छ । उसले एक्लोपन महशुस गरेको आफ्नो नजिकको मान्छेलाई भन्ने गर्छ । नजिकको मान्छे ( परिवार, साथीभाई), उसले नजिकैको मान्ने पात्र जो पनि हुन सक्छ । यस्तो मान्छेले कसरी मर्ने भनेर तरिका खोजेको हुन्छ, जुन कुरा उसको गतिविधिबाट पनि चाल पाउन सकिन्छ ।

निद्रा नलाग्नु या सुतेको सुतै गर्नु, अत्यन्तै धेरै खाने वा कम खाने गर्छ दुबै हुन सक्छ । समाजिक कार्यमा सहभागी हुन निकै असहज मान्ने । सकैसँग खुलेर कुरा नगर्ने ।

यस्तो मान्छेलाई कसरी बचाउने ?

पहिला त लक्षण पत्ता लगाउन जरुरी छ । कुनै मानिसलाई आत्महत्याबाट बचाउने काम निकै चुनौतिपूर्ण हो । आत्महत्याको लक्षण देख्ने बित्तिकै उसलाई सबै भन्दा पहिला मानसिक परामर्श दिन जरुरी छ ।
परिवार, साथीभाइ र नजिककाले परामर्श दिएर नभए मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नु पर्छ ।

आत्महत्याको सोच आउने मानिसलाई नियमित र विशेष ध्यानमा दिनु पर्छ । उसमा रहेको नकारात्मक विचारलाई हटाउने र नयाँ शैलीमा बच्न सिकाउनु पर्छ ।

छुट्टै उपचार गर्नुपर्छ

डा. निर्मल लामिछाने मनोचिकित्सक

मानसिक समस्याको कारण आत्महत्या हुने गर्छन् । तथ्याङ्क हेर्ने हो भने ९५ प्रतिशत मान्छे मानसिक समास्याकै कारण आत्महत्या गरेको पाइन्छ । आत्महत्या गर्ने सोच राखेको मानिस तनाव अनि उदास देखिन्छ ।

कोहीले आफ्नो नजिकको मान्छे परिवार वा साथीभाइ त्यो कुरा सेयर गरेको हुन सक्छन् । केहीले आत्महत्या गर्नु अघि त्यस्तो क्रियाकलाप देखाउने गर्छन् जसबाट अनुमान लगाएर परामर्श दिन सकिन्छ ।

पछिल्लो समय समाजमा आत्महत्या जटिल समस्या भन्दै गएको छ । यसलाई न्यूनीकरण गर्न सबैले ध्यान दिनुपर्छ । राज्यले पनि अब यस सम्बन्धी गम्भीर भएर मानसिक रोगको लागि छुट्टै प्रकारको व्यवस्था गर्नुपर्छ ।

जस्तो कि उदासपन भएको मान्छेलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराउने हो भने ५० प्रतिशत आत्महत्याको घटना कम भएर जान्छ, यो मेरो दाबी हो ।

केही तनाव, पीडा या समस्याकै कारण आत्महत्या गर्छन् । कुनै पनि मानिसले भर्खरै सोचर आत्महत्या गर्दैन् । यदि उसले आत्महत्या गर्न खोजेको छ भने उसले केही लक्षण देखाउँछ । ‘क्राई फर हेल्थ’ भनेको उसले त्यो अवधिमा आफ्नो साथीभाइ, परिवार, जनिकको मान्छेलाई त्यो खाल्के अस्वभाविक व्यवहार देखाउँछ ।

त्यस्तो बेला पहिचान गरेर सम्बन्धी व्यक्तिले परामर्श दिने हो भने उसले आत्महत्याको बाटो रोज्दैन । त्यस्तो मानिसलाई परिवार र साथीहरुले सकारात्मक तरिकाले परिवर्तन गर्न सक्छन् ।

घर टोलमा जनचेतना आवश्यक

रविन्द्रमान गुरुङ
प्रवक्ता तथा डिएसपी
जिल्ला प्रहरी कार्यालय कास्की

नेपालमा बढेको छ । यो जटिल समस्या पनि हो । यही कारण आत्म हत्या गर्छ भन्ने छैन । यसमा विभिन्न कारणहरु छन जुन व्यक्ति विशेष अनुसार फरक–फरक हुन्छन् । पारिवारक विखण्डन, माया प्रेम, बेरोजगार, लेनेदन धेरै कुराहरु छन् यसमा कारक ।

रोकथाम थाममा गर्न प्रहरीले मात्र गरे हुँदैन सबैले पहल गर्नु पर्छ । सबै एकजुट भएर यो विषयमा अब बेलैमा सोच्नु पर्छ स्थानीय त सरकारी निकायले खुलेर बहास गरेर । घरघर, टोलटोलमा जनचेतना गर्नु पर्छ ।

जसरी हामीले अहिले विभिन्न सङ्घसंस्थासँग मिलेर लागुऔषध सम्बन्धी विभिन्न विद्यालय, समुदायमा जनचेतनात्मक कार्यक्रम गरेको छाँै । त्यसैगरी आत्महत्या सम्बन्धी जनचेतनामूलक कार्यक्रम अभियानकै रुपमा सबै मिलेर गर्नु पर्ने बेला आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.