www.tandavnews.com
Fact ~ In search of truth

चीनका बन्दरगाहमा नेपालको पहुँच सुनिश्चित

काठमाडौँ ।

नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ ।

बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल(कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो ।

सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तेइञ्जीन, सान्झेन, लियानयुगाङ र झान्झेनलगायत खुला सामुद्रिक बन्दरगाह र लान्झाउ, ल्हासा, सिगात्सेलगायत सुख्खा बन्दरगाहमा सहज पहुँच हुनेछ ।

बैठकले उक्त बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायत पारवहनसम्बन्धी विविध विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिएको हो । उक्त मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै लागू हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैँजुले जानकारी दिए । भारतको कोलकाता बन्दरगाह नेपालले प्रयोग गर्दा सीमित मार्ग छ । चीनसँगको पारवाहन सम्झौतानुसार चीनका सबै मार्ग नेपालले प्रयोग गर्न कार्यविधिमा उल्लेख छ ।

यही भदौ १९ देखि २१ गतेसम्म चलेको बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव सैँजु र चिनियाँ पक्षको नेतृत्व यातायात सेवा विभाग, यातायात मन्त्रालयका महानिर्देशक वाङ सुइपिङले गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट उद्योग, परराष्ट्र, कानून न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भन्सार विभाग, नेपाली दूतावास (बेइजिङ),लगायत पदाधिकारीको सहभागिता थियो । त्यस्तै चिनियाँ पक्षबाट यातायात र परराष्ट्र मन्त्रालय, इञ्जिनीयरिङ सुपरभिजन विभाग, नेशनल रेल्वे एडमिनिस्ट्रेशनलगायत सम्बन्धित निकायका पदाधिकारीको सहभागिता थियो ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.