www.tandavnews.com
Fact ~ In search of truth

दम्पत्तिमा दरार…

 

 

 

 

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

आ–आफ्नै परम्मपरानुसार अग्नी साक्षी राखेर सात फेरो लिँदा होस् या सेतो गाउनमा सजिएर सबै सामु चुम्बन लिइरहँदा या मस्जीदमा कुबुल गरिरहँदा होस् । वैवाहीक सम्बन्धमा बाँधिइरहँदाको क्षण कुनै पनि जोडी समयको अन्तरालसँगै छुट्टीनुपर्ला भन्ने सोच्नु त परै जाओस्, कल्पनासम्म गर्दैनन् ।

Batas

डिभोर्सबारे लेखक गेरी चापमेनको बिचार पनि यस्तै छ । उनि भन्छन् ‘वैवाहीक जिवनमा बाँधिइरहँदा कहिल्यै पनि कुनै जोडी डिभोर्स बारे योजना कल्पना गर्दैनन् । डिभोर्स, विवाहीक जिवनमा बाधिनुपुर्व आवश्यक प्रशस्त तयारीको उपज हुनसक्छ । सँगै एकअर्कासँग रहँदा आवश्यक पर्ने ज्ञानको उपज हुन सक्छ ।’

गेरीको तर्क पनि दम्पत्तिमा दरार आउनुको कारण हो । यसबाहेक पनि विविध कारणले डिभोर्स अर्थात् छोडपत्रको संख्या वर्षेनी बढ्दो छ ।
यसै विषयबारे यो लेखकले डिभोर्ससँग सम्बन्धीत केहि वास्तवीक घटना प्रस्तुत गरेको छ ।
. . .

कास्कीका प्रेम र लेखनाथकी निरुबिच करिब ३ वर्षअघि विवाह भयो । विहे भएको हप्ता नपुग्दै प्रेम वैदेशिक रोजगारीकालागि कतार गए । परिवारको सुन्दर भविष्यकालागि मन अमिल्याएर खाडीको चर्को घाममा पसिना बगाउन गएका प्रेमको भविष्य सुन्दर भने भएन ।

विहेपछि ३ दिन पत्नी निरुसँगै बसेका प्रेमको त्यही ३ दिनको साथ अन्तीम रह्यो । कतार पुगेका प्रेम २ वर्षपछि घर फर्कदा निरुले डिभोर्स मागिन् । यसअघि नै उनिहरुको खटपट सुरु भैसकेको थियो ।

डिभोर्स गर्ने निर्णय किन ? निरुलाई प्रश्न गरियो । ‘लाइफ अगाडी बढ्ला जस्तो लागेन उहाँसँग । घरमा सासु ससुरासँग पनि कुरा मिलेन । कारण यत्ति नै हो’ उनले भनिन् ।

यता प्रेम उनको जवाफलाई खण्डन गर्दै भन्छन् ‘म विदेश थिएँ । घरमा आमा बिरामी हुनुहुन्थ्यो । गाउँमा मेरो घर छ । उनलाई गाउँमा बस्न मन लागेन रे । म गाउँले पाराको केटो भएँ भन्थिन् । असमझदारी हुँदाहुँदा जिन्दगी सहज रुपमा अघि नबढ्ने ठहर्यौ । अन्ततः डिभोर्सको निर्णयमा पुग्यौं ।’
. . .

लेखनाथकी सरिता र हेम्जाका सुदीपबिच ०७० मा मागी विवाह भयो । विवाहको पहिलो वर्ष राम्रो वित्यो । त्यसपछि सुदीप वैदेशिक रोजगारीकालागि साउदी अरब जाने भए । गए पनि ।

साउदी पुगेपछि सुदीपले सरितालाई खासै वास्ता गरेनन् । फोन सम्पर्क पनि ठप्प भयो । सुदीप फर्किएपछि उनिहरु पोखरा डेरामा बस्न थाले । तर, सुदीपले पत्नीलाई दिनुपर्ने माया, स्याहार दिएनन् । सिएमए पढेकि सबिताले जागिर गर्छु भन्दा हप्काइ खानुपर्यो ।

विस्तारै घरपरिवारले पनि वास्ता गर्न छाडे । अन्ततः सबिताले डिभोर्सको बाटो रोजिन् ।

(स्थान र नाम परिवर्तन गरिएको छ ।)
. . .

यि दुई घटना केही उदाहरण हुन् । यसबाहेक पनि विविध कारणले डिभोर्सको संख्या बढ्दो छ । पति अथवा पत्नीले यौन सुख दिन नसक्ने, विदेश गएर फर्कदा पत्नीले रकम हिनामिना गर्ने, परपुरुष अथवा महिला सँग यौन सम्बन्ध राख्ने,पत्नी सासुससुराबाट अभद्र व्यवहारको शिकार बन्नुपर्ने लगायतका कारण देखाई जिल्ला अदालत पोखरामा डिभोर्सका निवेदन दर्ता हुने गरेका छन् ।

वर्षेनी बढ्दो डिभोर्स

जिल्ला अदालत कास्कीको तथ्यांक नियाल्दा डिभोर्सको संख्या वर्षेनी बढ्दो छ । ०७२÷०७३ मा ५९१ मुद्धा सम्बन्ध विच्छेदका लागि दर्ता भए । ०७३/०७४मा यो संख्या बढेर ६६८ पुग्यो । ०७४÷०७५मा ७५९ मुद्धा दर्ता भए ।

यस वर्ष पनि यो संख्या बढ्ने निश्चितप्रायः छ । श्रावणमा मात्रै १०१ दम्पत्ति सम्बन्ध विच्छेद गर्न अदालत पुगे ।

कारण के ?

यसरी बढीरहेको सम्बन्ध विच्छेदको मुद्धामा २५ भन्दा कम उमेर समुहकै दम्पती छन् ।

जिल्ला अदालत कास्कीका शाखा अधिकृत एवं सूचना अधिकारी दुर्गा बहादुर कार्की दिनहुँ यि मुद्धाहरुसँग साक्षात्कार छन् । सकेसम्म मेलमिलाप कै लागि उनले पहल पनि गरिरहेका हुन्छन् ।तर, केहि सिप नलागेपछि अन्ततः छुट्टीनुको विकल्प रहेन ।

कार्कीका अनुसार जिल्ला अदालतमा दर्ता हुने यस्ता मुद्धाहरुको कारणमा पतिले खान लाउन नदिएको, ज्यान जोखिम, यौन शोषण, रहन सहन, धर्म मुल्य मान्यता, यौन सन्तुष्टी लगायत उल्लेख छन् ।

प्रेम विवाह गरेर छिट्टै डिभोर्स गर्नेहरुको संख्या पनि बढीरहेको उनको भनाई छ । यस्तै गाउँबाट शहर झरेका दम्पत्तीको मुद्धाहरुपनि रहेको उनले सुनाए ।

देवानी संहितामा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था

व्यवस्था अनुसार पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन् । पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ ।

कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेद गर्न सक्नेछ ।

यस्तै पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन् । पतिकै हकमा उल्लेखित व्यवस्था बाहेक पतिले अर्को विवाह गरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेछिन् ।

यस देवानी संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेदको अधिकार दियो । भाद्र देखि लागू हुनेगरि यो व्यवस्था लागू भएको हो । यसको प्रभाव कास्कीमा पनि देखियो ।

व्यवस्था भएको १९ दिनसम्म कास्की जिल्ला अदालतमा ७ पतीले सम्बन्ध विच्छेदकालागि मुद्धा दर्ता गराएका छन् । यसमा पत्नीको संख्या ३५ छ ।

सम्बन्ध सुमधुर कसरी हुन सक्छ ?

सम्बन्धमा सम्मानको महत्व प्रेम प्रकट गर्दा हामी बढी नै देखाएर गर्छौं । साँचो कुरा प्रेम सँगै विश्वास पनि हो । सम्बन्धमा एक–अर्काप्रतिको विश्वासको ठूलो महत्व हुन्छ । सम्बन्ध दरिलो बनाउन एक अर्काको निर्णय तथा सही बिचारको सम्मान गर्नुपर्दछ ।

आफन्तसँगको सुमधुर सम्बन्ध प्रत्येक नातेदारसँग आफ्नो सम्बन्ध उत्तिकै राम्रो हुनुपर्छ भन्न सजिलो छ, तर सबै आफन्त र उनीहरुको स्वभाव चिनेर खुसी पारिराख्नु त्यति सजिलो भने छैन । तर आफ्नो तर्फबाट प्रयास भने गर्न छोड्नुहुँदेन । मनमुटाव हुने स्थिति आए पहिल्यै सुल्झाउने प्रयास गर्नुपर्छ ।

विवाहपछि आर्थिक रुपमा स्वतन्त्र हुन कठिनाई हुनसक्छ । तर बिहेपछि पैसाको बारेमा एक अर्कालाई जानकारी हुन जरुरी हुन्छ । यसो हुदाँ पती पत्नी दुवैले आर्थिक मामिलामा एक अर्कालाई शंका गर्ने ठाउँ रहँदैन । आफूले लगानी गरेको, सापटी दिएको, सहयोग लिएको जस्ता कुरा एकअर्कामा जानकारी हुँदा त्यसले सम्बन्धलाई सुधार गर्न मद्धत पुग्छ ।

सम्झौता गर्नु केही हदसम्म उचित हो, जसले घटनाअघि निकास दिनसक्छ ।

घरायसी झगडाको कारण डिभोर्स

इन्स्पेक्टर चन्द्रा गुरुङ
जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख

डिभोर्सको घटना हामीकहाँ नआउने होइन धेरै नै आउँछन् । तर हामीले डिभोर्स गर्न यहाँबाट मिल्दैन, अदालत जान सल्लाह दिन्छौ । सकेसम्म यहाँबाट श्रीमानश्रीमतीको कुरा मिल्छ भने हामी त्यो प्रयासमा लाग्छौ ।

विगतमा त महिला मात्र डिभोर्स गराउदिनु प¥यो भनेर आउने गर्थे । यो भदौबाट अब पुरुषले पनि डिभोर्स दिन मिल्ने नियम आएको हुनाले महिल पुरुष दुवै आउने स्वभाविकै हो । भदौ लागेपछि एक जना पुरुष डिभोर्स गर्नु प¥यो भन्दै आएका थिए हामीले अदालत पठायौं ।

डिभोर्सका लागि विवाह गरेको १ बर्ष नपुगेका, ५–६ महिनामै डिभोर्स गर्न आउनेको सख्या पनि धेरै छ । कोही त विवाह दर्तानै हुदैन तर डिभोर्स गरिदिनु प¥यो भन्दै आउछन् । धेरै कारणले गर्दा डिभोर्सको बाटो रोज्ने गरेको पाइन्छ । तर यहाँ आउने अधिकाशं मध्ये घरायसी झगडाकै कारण डिभोर्सको गर्न प¥यो भन्दै आउछन् ।

घरेलु हिसां अन्तर्गत दुरव्यवहार, कुटपिट, हेला गर्ने जस्तो घटना बढि हुन्छन् ।

डिभोर्स गर्न आउने महिलाहरुमा अधिकाशं सानो उमेरका हुन्छ । सानै उमेरमा विवाह गर्ने बुझ्ने भएपछि डिभोर्स माग्ने धेरै छन् । त्यसपछि भनेको वैदेशिक रोजगारको कारणले गर्दा डिभोर्स भएको पाइन्छ ।

हामीकहाँ प्राय श्रीमानले अर्को लिएर हिड्यो र श्रीमती अर्कैसँग हिड्यो अब डिभोर्स गर्न प¥यो भन्दै आउछन् । उनीहरुलाई पनि हामीले दिने सल्लाह भनेकै अदालतको बाटो हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.