पर्वत
सन्जय रेग्मी
शुक्रबार दिनभर भएको वार्ता सहमतिमा पुगेपछि पर्वतमा निर्माणाधिन मध्य मोदी जलविद्युत आयोजनाको काम तालाबन्दी भएको सातौँ दिनमा शनिबारबाट सुचारु भएको छ ।
आयोजना निर्माण गर्ने क्रममा सुरुङ निर्माण गर्दा बम बिस्फोट गराउँदा प्रभावित क्षेत्रका बासिन्दाले घरहरु चर्किएको भन्दै पुनर्वासको माग सहित गएको आईतबार आयोजना स्थलमा तालाबन्दी गरेका थिए। काम सुचारु गराउन यस अगाडि भएका वार्ताहरु निष्कर्ष बिहीन हुँदै आएकाे थियाे ।

शुक्रबार भने आयोजना निर्माण स्थल मोदी गाउँपालिकाका प्रतिनिधि, आयोजनाका प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दाहरुका प्रतिनिधिबीच दिनभर भएको वार्ता साँझमा निष्कर्षमा पुगेपछि आयोजनाको काम सुचारु गर्ने सहमति भएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए ।
वार्तामा प्रभावित क्षेत्रका बासिन्दाहरुको क्षति अनुगमन गरी मूल्याङकन गर्ने, सुरुङ निर्माणका क्रममा क्षति भए नभएको बारेमा भुगर्भ विभागका प्राविधिकहरुको टोलीद्वारा यथार्थ निरीक्षण गराउने, निरीक्षणबाट वास्तविक क्षति पुगेको प्रतिवेदन आएमा स्थानीयबासीहरुको मागलाई सम्बोधन गर्ने लगायतका सहमति भएका छन ।
स्थानीयले आयोजना निर्माण गर्ने क्रममा सुरुङभित्र बम विस्फोट गर्दा घर चर्किएको भन्दै पुनर्वासको माग राखेकोमा आयोजनाले आयोजना स्थल रहेको मोदी गाउँपालिकाका प्राबिधिकहरुलाई खटाएर घरहरुको अध्ययन गरेको थियो । अध्ययन पश्चात प्राबिधिकहरुले पनि भूकम्पका कारण नै घरहरु चर्किएको प्रतिवेदन दिएकोमा स्थानीयले त्यसलाई अस्वीकार गर्दै आएका छन ।
आयोजना निर्माणको काम चौधरी ग्रुपले गरिरहेको छ । आयोजनाको मोदी गाउँपालिका वडा नं. २ देउपुर अन्तर्गतका ५७ घर धुरी र वडा नंं १ अन्तर्गत ३२ घरधूरी आयोजनाको प्रभावित क्षेत्रभित्र छन । १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम आउँदो मंसीर सम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ । तर, निर्माणको काममा भएको ढिलाइले काम सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने भएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.