www.tandavnews.com
Fact ~ In search of truth

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत
लक्ष्मीप्रसाद सापकोटा  (रासस)

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ ।

पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यस्सैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ ।

Batas

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीयस्थल पञ्चासे पुग्न पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको जनाएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केबलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ । केबलकार निर्माण गर्न विस्तृत सर्वेक्षणको कार्य भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

पञ्चासेसम्म पुग्ने केबलकार निर्माण गर्न करीब रु सात अर्ब लाग्ने अनुमान गरिएको र चार वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । केबलकारमा ८० पोल राखिनेछ ।

पञ्चासे पुग्ने पर्यटकका लागि पोखराबाट पामे हुँदै र पर्वतको कुश्माबाट आर्थर हुँदै भञ्ज्याङ्गसम्म कच्ची सडकको सुविधा छ । त्यहाँ जाने पर्यटकलाई आधार बनाएर पोखरा महानगरको भदौरे, सिदाने, कुबिडाँडालगायतका स्थानमा घरबास सञ्चालनमा छन् । पर्वतको कुश्मा नगरपालिका– १४ आर्थर डाडाँखर्क र मोदीगाउँपालिका वडा नं ८ चित्रेमा पनि घरबास सुविधा सञ्चालनमा रहेको छ ।

केबलकार सञ्चालन सँगसँगै घरबास सञ्चालित गाउँको पर्यटन प्रवद्र्धन लागि विभिन्न आयोजना रहेको शर्माले बताउनुभयो । केबलकार कम्पनीले पञ्चासे लेकभन्दा तल भाडामा जग्गा लिएर जल मनोरञ्जनस्थल, स्थानीय हस्तकला बिक्री केन्द्र, रिसोर्ट, घरबास, प्रेमपार्क, मदिरा सेवन क्षेत्र, पञ्चासे मन्दिरको जीर्णोद्धारलगायतका योजना बनाएको कम्पनीले जनाएको छ ।

पर्वत, स्याङजा, पोखरा, चितवन काठमाडाँैलगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी तथा शिक्षक यहाँ आउने गरेका छन् । पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका गुनासो पर्यटकको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.