www.tandavnews.com
Fact ~ In search of truth

बहसमा रेडलाइट

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

नेपालमा २०७२ सालमा आएको भूकम्पको धक्का अरुले जस्तै पोखरेलीले पनि मजाले महशुस गरेकै हुन् । यही भदौ २६ गते त्यो भन्दा ठूलो भूकम्प आएको महशुस भयो पोखरामा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिले पोखरामा हल्चल मच्चायो ।

मुख्यमन्त्री गुरुङले एक कार्यक्रममा यौन व्यवसाय सम्बन्धी राखेको धारणलाई यहाँका केही गन्यमान्यले पनि खिल्ली उडाए । मुख्यमन्त्रीले यौन व्यवसायलाई प्रोत्साहन दिएको आरोप पनि लाग्यो । मुख्यमन्त्रीले ‘यौन धन्दालाई व्यवस्थित बनाउने की’ अब खुलेर बहस गर्नुपर्छ भनेका थिए ।

Batas

कि रेडलाइट एरिया खोल्नु पर्यो, होइन भने कम्तीमा यौनकर्मीलाई परिचयपत्र दियो भने व्यवस्थित हुन्छ कि भन्ने आशय थियो उनको ।

भित्रभित्र फष्टाई रहेको यो धन्दालाई नेपालको कानूनले अनुमती दिएको छैन् । त्यही भएर यस पेसालाई गैरकानूनी र अपराध मान्छन् । अपराध जोडिएकै कारणले होला मुख्यमन्त्री गुरुङको अभिव्यक्ति समाचार बनेर आउन साथ एक जना दिदीले वेब साइटको लिङकसहित फेसबुक मार्फत मलाई समचार पठाउनु भयो ।

मैले पहिलेनै पढेको हुनाले उनले पठाएको समचारले मलाई तानेन । तर उनले लिङकपछि पठाएको म्यासेजले मेरो मन छोयो र साह्रै रिस पनि उठ्यो । ‘हेर त भाई यो प्रदेशका मुख्यमन्त्रीको बुद्धि । दर खाने दिन यस्तो कुरा बोलेर के गर्न खोजेका हुन् । अब यौन व्यवसायीलाई ऋणनै दिएर काम गर्ने वातावरण सिर्जना गरिदिए भयो नी, यो व्यवसायमा उत्कृष्ठ काम गर्नेलाई सम्मान पनि गरे भयो ?’ म्यासेजको पछाडि तिन वटा आँखा झिम्काएको इमोजी पनि आएको थियो ।

उनले पठाएको म्यासेज अनुसार मुख्यमन्त्रीले गलत बोलेका हुन भन्नेनै थियो । उनी जस्तै धेरैलाई यो कुरा चित्त बुझेको छैन् । मुख्यमन्त्री जस्तो मान्छेले यो बहस ल्याउनु पक्कै पनि सोचिलो विचार हुन सक्छ ।

ति दिदीले पठाएको म्यासेजले मलाई पुरानो घटनाको पाना पल्टाउन बाध्य गर्यो । एक यौन व्यवसायीले दण्ड सजाय, व्यवसयी गर्ने अधिकार र सम्मानको कुरा पनि गरेकी थिइन् ।

घटना करिब ३ वर्ष अघिको हुनुपर्छ ।

मलाई वर्ष याद भएन तर त्यो दृश्य र ती यौनकर्मी युवतीले दिएको जवाफ सबै याद छ । वडा प्रहरी कार्यालय बैदामले ६ जना यौन व्यवसायी र केही ग्राहक पुरुषलाई समातेर ल्याएको थियो । दशै आउनु भन्दा केही दिन अघि हो सायद । म समचार लेख्न त्यहाँ पुगेको थिएँ ।

६ जना मध्ये एक जना युवतीले भनेको वाक्य अहिले पनि मेरो कानमा गुञि्जएको छ । कुरा गर्न नमानेकी ति युवतीसँग मैले प्रश्न गर्दै थिए । उनी बोल्न मानेकी थिइनन् । त्यत्तिकैमा एक प्रहरीले ‘यिनीहरुको काम छैन, जती समातेर ल्याएपनि सुध्रने होइन्’ भने ।

‘हामी व्रिगिएको होर सुध्राने ?’ रिसको झोकमा एक युवतीले जवाफ फर्काइन्, ‘वाध्यताले गरेको हो काम रहरले होइन् ।’ ‘बढि बोल्छस दशै भरि यही बस्ने भइस अब त’ प्रहरीले गाली गर्दै भनेका थिए । ‘के दशै के तिहार, ओछ्यान न ताति घरमा चुलो बल्दैन’ ति युवतीले दिएको जवाफले त्यहाँ भएका सबै प्रहरी हेरेको हेरै भए ।

उनको जवाफले शुन्य जस्तै भएको वातावरणलाई चिर्दै ‘अरु पेसा गरे हुदैन ?’ भन्दै मैले प्रश्न राखे । सायद मेरो प्रश्नले उनलाई गम्भिर बनाएरै होला आफ्नो कथन सुनाउन थालिन् ।

‘श्रीमानले छाड्नु अघि रेष्टुरेण्टमा मःम बनाउने काम गर्थे । श्रीमान ड्राइभर थिए मैले महिनाको ४ हजार कमाउथे । पछि श्रीमानले छाडेर गए ३ वटा छोरी कसरी पाल्ने ? त्यसपछि यतातिर लागियो । अब आफ्नो रेष्टुरेण्ट गर्न सकिदैन अरुकहाँ गरेकाले परिवार धानिदैन । पोखरामा बसेर परिवार पाल्ने गरि जागिर र पैसा कसले दिन्छ र ?’

जिन्दगीसँग हार्न नसकेर यो धन्दामा आएको उनको भनाई थियो ।

‘सन्तान छोडेर मर्न पनि सकिदैन,’ उनले भनिन, ‘हामीले अरु आमा जस्तो सजिलै सन्तान पालेका छैनौ, इच्छा नहुँदा नहुँदै जीउ वेचर सन्तान पालेका छौ ।’

हुन पनि केहीका लागि यो पेसा रहन हुन सक्छ तर सबैका लागि होइन् । उनी जस्तै धेरै यौन व्यवसायी रहरले भन्दा पनि बाध्यताले यस क्षेत्रमा डोर्याइएको पाइन्छ । तर कानूनले यौन व्यवसायी गर्नेलाई मात्र अपराधी ठानेको हुन्छ । उनीहरु अपराधी भए पैसा तिरेर भोक मेटाउन जाने पनि अपराधी होइनन र ? उक्त वैदाम प्रहरीकहाँ परेका युवतीहरुलाई सार्वजनिक मुद्दा लगाएर ४ दिन राखे तर उनीहरुसँग ओछ्यानमा फेला परेका ग्राहकलाई भने भोली पल्टनै छाडिदिए । ती युवतीहरु भने धरौटी राखेर रिहा भए ।

यौन व्यवसायीलाई व्यवस्थित बनाउनु पर्ने एक होटल व्यवसायीले नाम नबताउने सर्तमा ताण्डव न्यूजलाई बताए ।

‘यौन व्यवसायीको प्रत्यक्ष रुपमा केही होटल व्यवसायी पर्छन्,’ उनले भने, ‘यौन क्रियाकलापको लागि आउने ग्राहकले रुमको लागि पैसाको बार्गेनिङ गर्दैनन् । हामीकहाँ सोझै दलालले सम्पर्क गरेको हुन्छ ।’

मुख्य मन्त्रीले भने जस्तै अहिले यो व्यवसायीले कसैलाई फाइदा नरहेको उनले बताए ।

‘ती युवतीहरुले आधा भन्दा धेरै रकम साहूलाई तिर्नुपर्छ,’ उनले भने, ‘बरु राज्यले व्यवस्थित रुपमा अघि बढायो भने कर तिर्नु के गाह्रो होला । राज्यलेनै नीति बनाएपछि त सुरक्षित पनि हुन्छ ।’

अर्को एक होटल व्यवसायीले भने फरक तर्क प्रस्तुत गरे ।

‘यौन धन्दालाई व्यवसायीको रुपमा अघि बढाउनु हुदै,’ उनले भने, ‘नेपाली समाजमा यो अझै पच्य हुदैन्, बरु सहमतीमै उमेर पुगेका युवायुवतीको हकमा भने कानुनले छुट दिनु पर्छ । प्रहरीले सताउने काम बन्द गर्नु पर्छ ।’

पुरानो धन्दा…

मानव सभ्यताको इतिहास अध्ययन गर्दा ईस पूर्वक ४ हजार वर्षअघि देखि नै यौन व्यवसाय सुरु भएको मान्यता छ ।

यसैले पनि यौन व्यवसायलाई सवभन्दा पुरानो व्यवसाय मानिन्छ । यौन व्यवसायको बारेमा अध्ययन गर्दा कुनै समय यौन व्यवसायमा लागेका महिलाहरुलाई देवताका छोरी भन्ने उपनामले सम्मान गरेको पाइन्छ तर कुनै समय यो पेसालाई पापको संज्ञा दिएर मृत्यु दण्ड दिएको घटनाहरु पनि छन् । सत्य के हो भने वैदिककालदेखि नै यौन व्यवसायलाई स्वीकार गरेको पाइन्छ । यौनकर्ताको परिपूर्ति गर्ने प्रक्रियाको एउटा उपज हो यौन व्यवसाय । कतिपय मुलुकमा यौन व्यवसायलाई मान्यता दिएको पाइन्छ ।

यो व्यवसायको लागि इसाको १८ औं शताब्दीमा आएर रेडलाइड एरिया सुरु भएको हो । ग्रिस साम्राज्यहुँदै अमेरिका, फ्रान्स, अष्टे«लिया लगायतका पश्चिमी मुलुकमा आजको दिनसम्म व्यवस्थित छ । नेदरल्याण्डले वेश्यावृत्तिलाई कानूनी मान्यता दिएको छ । अन्य कयौं विकसित मुलुक छन जहाँ रेडलाइट मार्फत व्यवस्थित गरिएको छ ।

हाम्रै छिमेकी देश भारतमा पनि सन १९५६ सम्म पूर्ण सम्पन्न जस्तो ठानिएको यौन व्यवसाय अहिले अघोषित रेडलाइट एरिया र व्यवस्थित छ । समाजले बर्जित ठानेको र समाजले नै जीवित राखेको यो व्यवसाय पछिल्लो समय झन मौलाउँदै छ । बढ्दो यौन व्यवसायको श्रृंखलाले नेपाललाई पनि प्रभावित नगर्ने कुरै भएन । नेपालको कानूनले यौन पेसालाई अवैध ठानेको छ ।

कानूनले नदिँदा पनि फस्टाएको व्यवसायले संस्कृति परम्पराप्रति ठाडो चुनौती दिएको छ भने अर्को तर्फ वैधानिक गर्न दबाब दिइरहेको छ । यौन व्यवसायलाई निमिटान्न पार्नु असम्भव जस्तो देखिन्छ । विश्वका थुप्रै देशहरुमा यौन व्यवसायलाई निमिटान्न पार्न खोजियो कानून र प्रशासनको सहायताले तर अन्त रेडलाइट एरिया घोषित भएपछि मात्र यौन व्यवसाय व्यवस्थित बन्न सक्यो । नेपाल जस्तो गरिब देशमा यसलाइ रोक्नु झनै गाह्रो छ ।

त्यसैले समाजले नै बर्जित ठानेको यो पेसालाई अव व्यवस्थापनका लागि स्पस्ट बहसको खाँचो छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.