www.tandavnews.com
Fact ~ In search of truth

मेलम्चीको पानी दुई महीनापछि

कालिका खड्का
काठमाडौँ ।

काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए ।

कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् ।

दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ ।

“मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हँुदैछ”, आयोजनका प्रमुख कँडेलले भने , “पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।” सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले सो कुरा बताएका हुन् ।

बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान पाउँछन् भन्ने प्रश्न सोधेका थिए ।

समितिका सभापति दिलकुमारी रावल थापाले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहजरुपमा पाउन भन्ने उद्देश्यले सो बैठक राखिएको जानकारी दिए । सो समितिले यही असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ । दशैँभित्र मेचम्चीको खानेपानी आउने आशामा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ । (रासस)
–––

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.