www.tandavnews.com
Fact ~ In search of truth

पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

वासुदेव पौडेल÷निरज थकाली 
पोखरा,  (रासस)

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् ।  प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्छन् ।

मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । तीर्थालुलाई लक्ष्य गरी पोखरा विमानस्थलबाट समिट र तारा एयरलायन्सले दैनिक पाँच÷पाँच उडान गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

यात्रुको चाप हेरी एयरलायन्सले छ–सात पटकसम्म उडान गर्ने गरेको जानकारी दिँदै उनले सिम्रिक र तारा एयरलायन्सले पनि हेलिकप्टरबाट सेवा सञ्चालन गरेको बताए । पोखरा हुँदै मुक्तिनाथको रानीपौवासम्मको बाटो कालोपत्रे भएका कारण स्थलमार्गबाट मन्दिर पुग्न पनि निकै सहज भएको छ ।

मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढेको छ । रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङका अनुसार रानीपौवामा पर्यटकलाई लक्षित २२ होटेल सञ्चालनमा आएका छन् ।

त्यस्तै झारकोटमा दुई र खिङ्गा गाउँमा तीन होटेल सञ्चालनमा रहेको उनले जानकारी दिए । सामान्यतः एक दिनमा दुई हजार स्वदेशी एवं विदेशी पर्यटक राख्न सक्ने गरी यहाँका होटेलको क्षमता विस्तार गरिएकोे छ । पाँच वर्षअघिसम्म मुक्तिनाथ जाने भक्तजन धर्मशाला र स्थानीयवासीका घरमा बास बस्न बाध्य हुनुपरेकामा होटेलको विस्तारले उक्त बाध्यता हटेको छ ।

धेरै तीर्थयात्री जोमसोममा पनि बस्छन् । स्रोह्रश्राद्ध शुरु भएयता होटेलमा दिनप्रतिदिन तीर्थालुको चाप बढेको जोमसोमस्थित मुस्ताङ हेरिटेज होटलका सञ्चालक राजेश भट्टचनले जानकारी दिए । अर्का हाइट डेजर्ट होटेलका सञ्चालक टसी गुरुङले पनि तीर्थयात्रीको बढ्दो चापले यतिखेर व्यावसायीलाई भ्याइनभ्याइ भएको बताए ।

होटेलमा बढ्दो यात्रुको चापलाई लक्ष्य गरी त्यहीअनुरुप सेवा प्रवाह गरिएकोे रानीपौवास्थित युरिका इन होटेलका सञ्चालक सुजन तुलाचनले जानकारी दिए । पोखरा, काठमाडाै‍, चितवनलगायत शहरका होटल सरहका सुविधा यहाँका होटलमा पाइनाका साथै कोठाबाटै हिमाल र मनोरम भूबनोट अवलोकन गर्न सकिन्छ ।

बेनी–जोमसोम–मुक्तिनाथ सडक सञ्चालन भएसंँगै नेपाली र भारतीय तीर्थालुको बाह्रैमास आवागमन हुन थालेको बताउँदै मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले पितृ पक्षका समयमा भने मन्दिरमा दैनिक पाँच सयदेखि एक हजारसम्म तीर्थालु आउने गरेकोे जानकारी दिए ।

जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडाँै, सुनौली, बेनी र मालढुङ्गाबाट सवारी साधन पाइन्छन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पुण्यभूमि मानिन्छ । विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ ।

ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथस्थलमा विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।

मन्दिरमा ब्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन् । हिन्दूले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गर्छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.