पोखरा
ताण्डव न्यूज ।
खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्कमा दुई मृग छाडिएका छन् । पोखरा–३१, पचभैया स्थित निर्माणाधिन उक्त पार्कमा मृगस्थलीका लागि छुट्टै केज बनाई रतुवा मृग प्रजातीका दुई पोथी मृग छाडिएको हो ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मृगस्थलीमा एक भाले मृग यस अगावै राखिएको थियो । केज निर्माणका लागि महानगरबाट १३ लाख ६० हजार रुपैयाँ र जनसहभागिताबाट ३ लाख ४० हजार रुपैयाँ गरी कुल १७ लाख लागतमा निर्माण सम्पन्न गरिएको पार्क निर्माण समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए ।
पार्क निर्माण समितिको पहिलो साधारण सभा एवं अधिवेशन कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले पार्कमा अवस्थित वन्यजन्तु पुर्नस्थापना केन्द्रबाट झिकिएका दुई मृग छाडि कार्यक्रमको शुभारम्भ गरे ।
पार्कलाई व्यवस्थित बनाउन विस्तृत गुरुयोजना निर्माण गरी आवश्यक प्रक्रिया थाल्न निर्माण समितिलाई सुझाव दिँदै मेयर जिसीले पार्कलाई व्यवस्थित बनाउने सन्दर्भमा जस्तोसुकै सहयोगको लागि महानगर तयार रहेको सुनाए ।
‘खुला चिडियाखाना निर्माणका लागि कति क्षेत्रफल चाहिने हो, कस्तो किसिमको पूर्वाधार आवश्यक हुन्छ अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘आवश्यक परेमा विदेशी विज्ञ ल्याई अध्ययन अनुसन्धान गर्नु परे महानगर सहयोग गर्न तयार छ ।’
गण्डकी प्रदेश सरकारको ३ करोड बजेट
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि पार्कको गुरुयोजना तयार गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बुद्धिसागर पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै पार्कलाई थप व्यवस्थित बनाई वृहत्तर विकासका लागि प्रदेश सरकारले ३ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
‘१ करोड ५० लाख डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) र १ करोड ५० लाख रुपैयाँ वन्यजन्तु उद्धार संरक्षण केन्द्र स्थापनाका लागि छुट्टाइएको छ,’ उनले भने, ‘बजेट निकासा हुनासाथ तत्काल काम अघि बढ्छ ।’
सामूदायिक स्तरबाट गरिएको सानो प्रयासमा प्रदेश सरकारले हातेमालो गर्दै विहत्तर गुरुयोजना कार्यान्वयन भइसकेपछि वन्यजन्तु बासस्थान एवं पुर्नस्थापना केन्द्र गण्डकी प्रदेशकै नमूनाको रुपमा पार्क निर्माण गरिने उनले बताए ।
‘तयार गरिने डिपिआर पर्याप्त अध्ययन अनुसन्धानबाट तयार गरिनेछ,’ उनले भने, ‘अध्ययनकै क्रममा स्थानीयको केही कन्सर्नका विषय समावेश गर्नुपर्ने भए सुझाव पेस गर्न सक्नुहुनेछ ।’ खुला चिडियाखाना सहित वन्यजन्तु पुर्नस्थापना केन्द्र विश्वव्यापी रुपमा नयाँ प्रयोगमा आईरहेको हुँदा प्रदेश सरकारले प्राथमिकतामा यस योजनालाई राखेको बताए ।
डिभिजन वन कार्यालय कास्कीका डिभिजन अधिकृत केदार बरालले जुलोजिकल पार्क निर्माण अत्यन्तै सराहनीय काम भएको बताए । पार्कमा रहेका वन्यजन्तु व्यवस्थापन प्रमुख विषय भएको हुनाले विशेष अध्ययन सहित ध्यान दिन उनको आग्रह थियो । पार्कमा सँगै वन्यजन्तु पुर्नस्थापना केन्द्र पनि भएकाले कार्यरत कर्मचाराीलाई पर्याप्त तालिम प्रदान गरी जनावर, पशुपन्छीको हकहितलाई ध्यानमा राख्न आग्रह गरे ।
‘वन्यजन्तुलाई के कस्तो खाना कति मात्रामा दिने ज्ञान आवश्यक हुन्छ,’ उनले भने । कार्यरत कर्मचारीलाई केन्द्रीय चिडियाघर काठमाडौंबाट तालिम प्रदान गराउन डिभिजन वन कार्यालयले सहयोग गर्ने डिभिजन अधिकृत बरालले जनाए ।
पार्कमा हाल मृग रतुवा ८, अजिंगर १, निलगाई १, स्याल १, बाँदर १, हुचिल ६, गिद्ध २, चिल ३, बनविरालो २, जरायो १, खरायो १५, लाटोकोसेरो २ रहेका छन् ।
पार्क निर्माणका लागि पोखरा युनाईटेड क्लबले वर्षेनी आयोजना गर्दै आईरहेको पोखरा महोत्सवबाट आम्दानी हुने रकमको केही प्रतिशत सहयोग हस्तान्तरण गर्दै आईरहेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।