www.tandavnews.com
Fact ~ In search of truth

होमस्टेको राजधानी सिरुबारी

सुरज हजारे दाहाल
पाेखरा,

स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिकामा अवस्थित सिरुबारी गाउँ नेपालको पहिलो होम स्टेको रुपमा देशभर प्रख्यात छ । सरकार माओवादी द्वन्दकालिन समयमा विसं २०५४ सालमा सिरुबारीमा होमस्टे सञ्चालन गरिएको थियो । यहाँ रहेका ३९ घरहरु मध्ये १७ वटा घरहरु होमस्टेका रुपमा दर्ता भई सञ्चालनमा छन् ।

प्राय घरहरुको छत ढुंगाको छपनीले छाइएको छ । गुरुङ जातीका गाउँवासीले सञ्चालन गरेको यस होमस्टेका प्राय सबै घर मूलिहरु अवकाश प्राप्त ब्रिटिश र भारतीय लाहुरे छन् । त्यहाँका खेत भने दलित समुदायका मानिसले कमाउँदै आएका छन् । सिरुबारी होमस्टेका अभियन्ता रुद्रमान गुरुङ हुन् । सांसद तथा सेनाका कप्तान समेत रहेका स्वर्गीय रुद्रमानको पहलमा नै नेपालमा पहिलो पटक होमस्टेको सुरुवात गरिएको थियो । यहाँ गुरुङ जीवन शैलीको जिवन्त चित्रण अवोलकन गर्न पाइन्छ नै स्थानीय रुपमा उत्पादित साग सब्जीबाट बनाइएको खानाले पाहुनाको सत्कार गरिन्छ ।

Batas

होमस्टेबाट २५ मिनेट उकालो हिडेंपछि भ्यू टावर आउँछ जहाँबाट होमस्टे सञ्चालन गरिएका घरहरु देखिन्छन् । हिमाल भने यहाँबाट नदेखिने हुनाले अहिले हिमाल खुल्ने मौसममा अन्नपूर्ण, माछापुच्छ्रे हेर्न भने डेढ घण्टा पैदल यात्रा गरि गोरुजुरेमा पुग्नुपर्छ । अहिले बर्षा सकिनै लागेकोले गोरुजुरेबाट आँखै अगाडि हिमश्रृंखला देखिन्छ । जंगलमा विभिन्न प्रजातीका फूलहरु फुलेको मनमोहक दृश्यहरु पनि देखिन्छ । हिड्दा भने जुका लाग्ने डर पनि उत्तिकै हुन्छ ।

पाहुनको स्वागतको जिम्मा स्थानी बुद्ध आमा समूहले लिएका छन् । समूह आएका पाहुनालाई सडकसँगै जोडिएको मूल गेटमा बाजागाजा सहित स्वागत गरिन्छ । त्यसपछि फूलमाला पहिराएर गुम्बाको दर्शन गराएर खाजा खुवाइन्छ । त्यसपछि पालो तथा पाहुनाको संख्या अनुसार उनीहरुलाई घरमा बाँडिन्छ । तोकिएकै घरमा पाहुनाहरु बस्नुपर्ने हुन्छ । त्यसपछि बेलुकी पर्यटकको स्वागत गर्ने भवनमा राती सांस्कृतिक कार्यक्रम देखाइन्छ जहाँ नाच गान हुन्छ । त्यसपछि पाहुनाहरु पुनः होमस्टेमा गएर खान खान्छन् । बिहान खाजा खुवाएपछि फूल माला लगाएर बिदा गरिन्छ ।

होमस्टेको इतिहास ः होमस्टेको अर्थ ग्रामिण भेगमा गएर घरकै परिवार झै केहि रकम तिरेर बस्नु र खानु हो । परापूर्वकालमा होटल हुन्थेनन् र त्यसबेला राती बास बस्नुपर्दा पाहुनासँग घरधनीले केही रकम लिएर दाउरा, नुन, तेल दिने गर्थे । यसकै आधुनिक रुप होमस्टे हो । नेपालमा पहिलो पटक २०५४ सालमा सिरुबारीमा नै होमस्टेको सुरुवात गरिएको थियो । २०५४ सालमा नेपालमा पहिलो पटक होमस्टे सञ्चालन गरिए पनि यसका अभियन्ता रुद्रमान गुरुङले होमस्टेको परिकल्पना २०२५ सालमै गरेर २०४८ सालदेखि भने होमस्टे बनाउन पूर्वधारमा जोड दिएका थिए ।

विसं २०६७ सालमा आएर बल्ल सरकारले होमस्टे कार्यविधि ल्याएको थियो । गाउँवासीले सञ्चालन गर्ने होमस्टेमा कम्तिमा पनि ५ जना घर धनीको प्रतिबद्धता सहित पर्यटन कार्यलयमा दर्ता गर्नुपर्छ । होमस्टे सञ्चालन गर्न न्यूनतम मापदण्ड तोकिएका छन् । होमस्टेमा चर्पी, बाथरुम तथा सफा कोठा हुनुपर्छ । होमस्टेको जननी सिरुबारीमा तालिम लिनका लागि देशमा विभिन्न भेगबाट मानिसहरु आउँने गर्छन् । यहाँबाट तालिम लिएर गएपछि उनीहरुले आफ्ना गाउँमा होमस्टे सञ्चालन गरिरहेका छन् ।

सिरुबारी प्याकेज ः सिरुबारी होमस्टेमा एक दिने र दुई दिने गरि दुई प्याकेज रहेका छन् । एक दिने प्याकेजको एक हजार २ सय लाग्छ । यसमा साँझ पुगेपछिको खाजा, खाना, रातीको बास र बिहानको खाजा समावेश छ । दुई दिने प्याकेजको भने २ हजार रुपैयाँ लाग्छ जसमा दोस्रो दिनको बिहानको खाना, रातीको खाना, दोस्रो रातको खाना र अन्तिम दिनको खाजा समावेश छ ।

रातीको खानामा मासु भात तथा दुई ग्लास स्थानीय रक्सी दिइन्छ भने खाजामा आलु तारेको, उसिनेको अण्डा, प्यान केक र चिया दिइन्छ । सिरुबारीमा अधिकांश पाहुना नेपाली नै हुन्छन् । यहाँ वार्षिक करिब १० हजार नेपाली तथा १ हजार बिदेशी पर्यटकहरु आउँछन् ।

यसरी पुग्नेः पृथ्वीचोकबाट एयरपोर्ट जाने नागढुंगामा रहेको हिमालय पेट्रोल पम्प पारीबाट बिहान १०ः३० र ११ बजे सिरुबारीका लागि बसहरु छुट्छन् । पहिलो बस स्याङ्जाहुँदै र दोस्रो बस कार्कीनेटा हुँदै सिरुबारी पुग्छ । बस भाडा ३ सय रहेको छ । दुई दिने प्याकेज र आउनेजाने भाडा सहित ३ हजार रुपैयाँ खर्च लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.