www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौ : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् ।

वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उनले भने , “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, भोलि आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन ।”

Batas

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे ।

“सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दैछौँ, मानिसले विभिन्न प्रश्न उठाएका छन्, तर हामी सबै एकै ठाउँमा छाँै, समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै द्वीविधामा छैन तर, त्यसलाई कार्यान्वयनको प्रभावकारिता ठीक ढङ्गले जनताले महसुस गर्ने गरी कार्यान्वयनको चुनौतीलाई सँगै अगाडि बढाउँछौँ”, उनले भने ।

जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै उनले जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले लामो सङ्घर्ष र बलिदानीपश्चात् नेपालमा अहिले विशिष्ट प्रकृतिको असाधारण राजनीतिक परिस्थिति सिर्जना भएको बताउँदै त्यसको महत्व र गहिराइलाई गम्भीर चिन्तनमनन गरेर सम्भावनासँगै ठूल्ठूला चुनौतीको सामनाका साथ अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्यूठान जिल्लाको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिवद्धताअनुरुप बाँकी काम पूरा गर्न सक्रिय ढङ्गले लाग्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई जनताको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्यूठान जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.