www.tandavnews.com
Fact ~ In search of truth

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने

वासुदेव पौडेल 
पोखरा,  (रासस)

शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली तथा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न थालेकाले विद्यार्थीको सङ्ख्या मात्र होइन गुणस्तर पनि बढेको छ । शैक्षिक गुणस्तरसँंगै नवीनतम प्रविधिको प्रयोगलाई पनि विद्यालयले सँगसँगै अघि बढाउँदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले जानकारी दिए ।

दुबै माध्यमको पठनपाठनका साथै कम्प्युटर शिक्षा र प्रविधिको प्रयोगबाट विद्यार्थी र अभिभावक आकर्षित भएकाले विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार १३४ विद्यार्थी अध्ययन गरिरहेका छन् । अङ्ग्रेजी माध्यमको पठनपाठन अघि विसं २०७१ मा ३५० विद्यार्थी भएकामा त्यसयता भने विद्यार्थी सङ्ख्या वृद्धि हुँदै २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० पुगेको थियो ।

यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १२ विद्यार्थीले ‘ए’ प्लस ल्याउन सफल भएका थिए । त्यस्तै २३ ले ‘ए’, २४ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ रहेको विद्यालयले जनाएको छ । विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए । विसं २०७१ देखि अङ्ग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता विद्यालयलाई विद्यार्थी एवं अभिभावक दुवैले विश्वास गर्ने वातावरण बनेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकालले बताए ।

विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचका साथ त्यही किसिमको पूर्वाधार विकास गरिरहेको बताउँदै उनले विद्यालयका सबै शैक्षिक कार्यक्रम प्रविधिमा आधारित भई सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी दिए । अध्यक्ष ढकालका अनुसार प्रविधिमा आधारित शिक्षाका लागि कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका समान व्यवस्था गर्न रु १२ लाख आवश्यक हुन्छ भने अङ्ग्रेजी माध्यमका लागि रु १५ लाख ६० हजार र अन्य सिसिटिभी, नेटवर्किङ, डिभिआर लगायतका समान खरीदका लागि एक लाख ८२ हजार रुपैयाँ आवश्यक पर्छ ।

“आवश्यक रकमका लागि पोखरा महानगरपालिकासँग प्रस्ताव गरिसकेका छौं,” ढकालले भने  “यी आधारभूत आवश्यकता पूरा भएसँगै हामी कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउन सक्छौं, योसँगै अध्यापनमा चक डस्टर तथा कागजकोे प्रयोग पनि हट्ने छ ।”

विद्यालयले प्राविधिक शिक्षाको पठनपाठन गर्ने सोचका साथ सिटिइभिटिबाट एसइई पछिको तीन वर्षे इञ्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्ने सोचका साथ प्रस्ताव पठाएको छ । त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गत कक्षा ९ देखि १२ सम्म कृषि तथा बालिविज्ञान विषयको पठनपाठन गर्ने प्रस्ताव गरिएको छ ।

प्राविधिक शिक्षाको अध्यापनका साथै विद्यालयलाई आवासीय बनाउँदै लैजाने, प्रविधिको अधिकतम प्रयोग गर्नेजस्ता सोच बनाइएको अध्यक्ष ढकालले बताए । विद्यालयले विद्यार्थी हाजिर भए नभएको, गृहकार्य गरे नगरेको जस्ता कुरा अभिभावकले दैनिक थाहा पाउनसक्ने गरी यसै वर्षदेखि मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ ।

विद्यालयका सूचना अधिकारी नन्दलाल काफ्लेका अनुसार विद्यालयको जग्गाधनी प्रमाणपत्र(लालपूर्जा) भएको जग्गा २१ रोपनी छ भने विगतदेखि भोगचलन गर्दै आएको जग्गा २१९ रोपनी छ । उक्त जग्गा विद्यालयको नाममा दर्ताका लागि आवश्यक कागजातसहित मन्त्रालयमा यसअघि नै प्रस्ताव गरिसकिएको उनले जानकारी दिए ।

विद्यालयमा पोखरा महानगरपालिका–२९, ३०, पुलचोक, पट्नेरी, तिक्लाङ, चिर्गादी, चैनपुर, पानीटङ्की, तोरीचौर, सिस्ने, सिप्लेनीतरा, पुष्पबस्ती, कुसुण्डे, चिसापानी, ठूलोढुङ्गा, साविक पोखरा २३ को द्वार, पोखरा–१७ को दोबिल्लासम्मका विद्यार्थी अध्ययन गर्न आउछन्

Lama collectio News Middle

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery