www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘सुवास द एक्रो पाइलट’को प्रदर्शन

पोखरा

रेम बिक ।

एक्रो प्यारापाइलट सुवास थापाको बारेमा निर्माण गरिएको डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ आइतबार हिजो पोखरामा प्रदर्शन भएको छ ।

Batas

अर्जुन बरालको निर्देशनमा बनेको डकुमेन्ट्री पोखरा मिडटाउन सिनेमाजमा प्रदर्शन भएको थियो । डकुमेन्ट्रीलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए ।अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका ‘एक्रो पाइलट’ थापाको प्याराग्लाइडिङ यात्रालाई डकुमेन्ट्रीले समेटेको छ ।

२० वर्षको उमेरबाट प्याराग्लाइडिङ उडाउन शुरु गरेका एक्रो पाइलट थापा कसरी अहिलेको स्थितीसम्म आईपुगे त ? भन्ने कुरा डकुमेन्ट्रीमा खुलाईएको छ ।

सुवास थापाले बच्चैदेखि सराङकोटदेखि सेदीसम्म प्याराग्लाइडिङ उडेको देख्थे । उनलाई सानो हुँदा त्यो शायद चंगा होला भनेजस्तै लाग्थ्यो । तर पछि अलिक बुझ्ने भएपछि बल्ल त्यसमा मान्छे हुन्छन् र मान्छे पनि त्यसरी उड्न सक्छन् भन्ने उनले बुझे । र, मनमनै कल्पिन्थे–‘कुनै दिन म पनि यसैगरि आकाशमा उड्छु ।’

पारिवारीक स्थिती निम्न वर्गिय थियो । खर्च गरेर प्यारापाइलट कोर्ष सिक्न परिवारको गच्छेले भ्याउने थिएन । त्यसैले उनी त्यो क्षेत्रसँग नजिकिन शुरुवातमा ‘प्याराग्लाइडिङ प्याकिङ ब्वाइ’को रुपमा काम गरे ।

त्यसपछि उनी प्याराग्लाइडिङ कम्पनीको गाडी ड्राइभरको रुपमा पनि काम गरे । उनले यसो गरिरहँदा प्यारापाइलटहरुको संगत पाए र विस्तारै प्याराग्लाइडिङ उडाउन सिक्दै गए । र, पछि प्याराग्लाइडिङ पाइलटको कोर्ष गर्न भ्याए ।

थापा अहिले पोखरामा एक्रो पाइलटको रुपमा स्थापित भैसकेका छन् । ‘एक्रो पाइलट’को रुपमा उनी विश्वमै चर्चा कमाईसकेका छन् । एक्रो पाइलट हुनका लागि थापाले गरेका संघर्ष र भोगेका दुख डकुमेन्ट्रीमा समेटिएको छ ।

‘हामीसँग विश्वमा निकै प्रभाव पार्न सक्ने यस्ता खाले एक्रो पाइलट पनि छन् । र, यस्तो प्रतिभाको बारेमा हामीले बोल्नुपर्छ भन्ने सोँचेर नै डकुमेन्ट्री बनाएका हौँ ।’ निर्देशक बरालले भने–‘पहिलोपटक एउटा विश्वविख्यात प्याराग्लाइडिङ खेलाडीलाई डकुमेन्ट्रीमा समेट्न पाउँदा आफैलाई आत्मसन्तुष्टि भएको छ ।’ त्यसो त निर्देशक बराल आफै पनि प्याराग्लाइडिङ पाइलट हुन् ।

डकुमेन्ट्रीलाई मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका हुन् । सौगात पोखरेलको लेखन रहेको डकुमेन्ट्रीलाई विदेशी क्यामेराम्यान क्राइसिस ज्याकले खिचेका हुन् । १५ लाख रुपैयाँ लगानी रहेको डकुमेन्ट्रीलाई विभिन्न फेस्टिभलहरुमा प्रदर्शन गर्ने निर्देशकले बताए ।

यो डकुमेन्ट्री लक्जमबर्गको डियू फिल्म फेस्टिभलमा छनौट भएको र केहि समयपछि प्रदर्शन हुने निर्माण यूनिटले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.