www.tandavnews.com
Fact ~ In search of truth

स्याङजामा असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

वालिङ ।

असिनापानीले स्याङ्जामा दुई करोड रुपैँया बढीको सुन्तला नष्ट भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५ सय ९ मेट्रिकटन सुन्तला नष्ट भएको हो ।

Batas

“गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा ठूलो असिनापानी आयो र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन गर्यौँ” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भने, “असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पुर्याएको छ ।”

असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नगरपालिका १० मा २ सय १४, ११ नं वडामा १ सय ८६, १३ नं वडामा ८७, भीरकोट नगरपालिका १ नं वडामा ११ र पुतलीबजार १४ नं वडामा ११ गरी कूल ५सय ९ मेट्रिकटन सुन्तला नष्ट भएको बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताए ।

बजार मूल्य प्रतिकिलो ४० रुपैँया का दरले सबैभन्दा धेरै पुतलीबजार १० मा ८५ लाख ५१ हजार २ सय ८७, ११ नं वडामा ७४ लाख ५५ हजार ७ सय १३, १३ नं वडामा ३४ लाख ७० हजार ९ सय ७६, भीरकोट नगरपालिका १ नं वडामा चार लाख ५७ हजार ४ सय ५२ र पुतलीबजार १४ नं वडामा चार लाख ४४ हजार २ सय ४७ गरी कूल दुई करोड तीन लाख ७९ हजार ६ सय ७५ रुपैँया मूल्य बराबरको सुन्तला क्षति भएको हो ।

पुतलीबजार नगरपालिका १० राङखोलाका सुन्तला व्यवसायी मुक्ति अधिकारीको एक हजार सुन्तलाका बोट छन् । अब बिक्री गर्नका लागि समय हुनै लागेका बेला एक्कासी आएको असिनापानीले उनको सुन्तला बगैँचामा रहेका ८० प्रतिशत सुन्तलामा क्षति पुर्याएको छ ।

“गत वर्ष २९ टन सुन्तला बिक्री गरेको थिएँ, यसवर्ष ४० देखि ४५ टन सुन्तला फलेको थियो” सुन्तला व्यवसायी अधिकारीले भने, “यस वर्ष असिनापानीले सुन्तला सखाप पार्यो, झण्डै ३० लाख रुपैँया बराबरको क्षति भएको अनुमान गरेको छु ।”

गत वर्ष दुई लाख ८० हजारको सुन्तला बिक्री गरेका पुतलीबजार १३ सातुपसलका अर्जुन रेग्मीलाई पनि असिनापानीले चिन्ता थपिदिएको छ । “३०० बोटमा गत वर्षभन्दा यस वर्ष सुन्तला अझै धेरै फलेको थियो”, सुन्तला व्यवसायी रेग्मीले भने, “असिनाले चोट पुर्याएका सुन्तला कुहिएर, ओइलिएर झर्ने क्रम जारी रहेकाले क्षतिको परिमाण अझै बढ्न सक्छ ।”

स्वादिलो सुन्तलाका रूपमा पहिचान रहेको स्याङ्जाको सुन्तला बिक्रीका लागि तयारी भइरहेका बेला असिनापानीले क्षति गरेपछि सुन्तला व्यवसायी चिन्तित छन् ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.