www.tandavnews.com
Fact ~ In search of truth

हराउँछन् तर भेटिँदैनन् बालबालिका

काठमाडौँ ।

विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् ।

चालू आर्थिक वर्षको तीन महीनामा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परे । चौसट्ठी प्रतिशतको अवस्था अज्ञात नै छ । गएको वर्ष हराएकामध्ये ६० प्रतिशत बालबालिका अझै बेखबर छन् । पछिल्लो तीन महीनामा हराएकामध्ये ६४ प्रतिशत बालबालिकाको अवस्था अज्ञात रहेको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउछन् । “फेला परेर पनि अभिभावकले खबर नगर्ने अवस्था छ, राजभण्डारीले भन्नुने , तर धेरैजसो भेटिएका हुन्नन् ।”

Batas

देशभर साउन, भदौ, असोज महीनामा ८७६ बालबालिका हराएकामध्ये अहिलेसम्म ३१६ फेलापरे । अझै ५६० बालबालिका कहाँ छन् पत्तो छैन । प्रदेश नं ३ बाट सबैभन्दा बढी १७२ बालबालिका हराएको तथ्याङ्क छ जसमा उपत्यकाका मात्रै ६५ छन् । प्रदेश नं १ बाट १३७, २ बाट १४२, ४ बाट ९९, ५ बाट १४५, ६ बाट ९१ र ७ बाट ८० बालबालिका हराएका छन् । हराएकामध्ये सबैभन्दा बढी ५९७ जना बालिका छन् ।

कम उमेरका बालक बढी हराएका पाइएको छ । उमेर बढ्दै जाँदा बालिका बढी हराउनेक्रम रहेको प्रहरी नायब उपरीक्षक राजभण्डारी बताउछन् । सबै प्रदेशबाट भेटिएका बालबालिकामध्ये २०९ बालिका र १०७ बालक छन् । खोजतलास केन्द्रका अनुसार तीन महीनामा नेपालभर ९० बालक र ५४ बालिका बेवारिसे अवस्थामा फेला परेका थिए । उनीहरुमध्ये अहिलेसम्म ७७ लाई परिवारमा पुनर्मिलन गरिएको र ६६ बालबालिकालाई संरक्षण गृहमा राखिएको छ ।

केन्द्रका प्रहरी सहायक निरीक्षक नारायण केसी बालबालिका फेलापर्नेक्रम न्यून छ भन्छन् । मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक विचलन, मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारी लगायतका कारणले बालबालिका जोखिममा पर्ने गरेका छन् । यस्ता कारणमध्ये आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिका बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ । कतिपय शोषणमा पर्ने गरेका छन् ।

आव २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालमा दुई हजार ३३० बालबालिका हराए जसमा एक हजार ४०७ बालिका र ९२३ बालक छन् । तीमध्ये एक हजार १७ जना फेला परे । उक्त तथ्याङ्कले बालिका बढी जोखिममा रहेको देखाएको छ । एक वर्षमा प्रदेश नं १ बाट २४५, २ बाट २८७, ३ बाट ७०२ (उपत्यकामा २८३), ४ बाट २७५, ५ बाट ३४१, ६ बाट २१० र ७ बाट २७० बालबालिका हराएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा ४४२ जना बालबालिका बेवारिसे अवस्थामा भेटिएका थिए । सबैभन्दा बढी उपत्यकामा मात्रै ३०८ बालबालिका बेवारिसे फेला परे ।

केन्द्रले दशैँको अवधिमा १२ जना बालबालिका बेवारिसे अवस्थामा फेला पारेकोमा दुई बालिका र १० बालक थिए । त्यसमध्ये दुईलाई परिवारमा पुनर्मिलन गराइएको थियो । अन्य १० को भने परिवार पत्ता लाग्न नसकेकाले संरक्षण गृहमा राखिएको छ । (रासस)
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.