www.tandavnews.com
Fact ~ In search of truth

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला ।

जुम्लाको अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् ।

दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् ।

कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) रमिलाको दाँया घुँडाको मुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो ।

“ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु”, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, “उठ्न खोज्दा खुट्टा टेक्न सकिएन ।” छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन् । त्यो दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । तत्काल तीन लाख ५० हजार रुपैँयामा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पुर्याइएको रमिलाका मामा ज्योति गिरीले बताए ।

Lama collectio News Middle

“सुर्खेतमा समेत उपचार हुन नसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौँ”, गिरी भने, “गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ ।” काट्नुको विकल्प नरहेको र शल्यक्रिया गरेर खुट्टा फाल्नुपरेको उनले दुःख प्रकट गरे । बुमीको उपचार गर्न हालसम्म सात लाख रुपैँया खर्चेको उनले जनाए।

लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने डे«सिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा भइहेको छ । सद्दे (सपाङ्ग) रमिला बुमीलाई छिमेकीको कमजोरीका कारण अपाङ्ग भएर अब सधैँका लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ ।

सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन् । त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताए ।

अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमा याचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिले सम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानूनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने शर्तमा अघि बढ्ने सङ्केत उनका मामा, आमाबुबाले दिएका छन् ।

हुम्ला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरिन् । पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery