www.tandavnews.com
Fact ~ In search of truth

युएईले थप्यो आममाफीको समयवधि

काठमाण्डौँ ।

संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैध रुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ ।

यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीन महीने आममाफीको घोषणा गरेको थियो ।

Batas

आबुधाबी स्थित नेपाली दूतावासले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न पुनःआग्रह गरेको छ । आममाफीको समयावधि थप भएसँगै आगामी मङ्सिर १५ गतेसम्म उक्त कार्यक्रमबाट लाभ लिन सकिने दूतावासले जनाएको छ ।

प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरू आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुनसक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविश्यमा युएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइनेछ ।

साथै वैधरुपमै युएईमै बस्न चाहनेले काम खोज्न युएई सरकारले तोकेको ५ सय दिराम (करीब १५ हजार रुपैँया) शुल्क तिरी छ महीनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नेछ ।

त्यस्तै युएईमै काम खोजेर बस्न चाहनेका लागि राहदानी आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।      रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.