www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका पाँच गन्तव्य पर्यटकीय सूचीमा

कुश्मा ।

थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार (हिजो )सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरिएको हो ।

यसैगरी कुश्मा नगरपालिका–३ दुर्लुङमा सञ्चालित क्यानोनिङ र महाशिला गाउँपालिकामा रहेको महाशिला नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएको छ ।

पञ्चासे कास्की, पर्वत र स्याङ्जा जिल्लाको सङ्गममा रहेको पर्यटकीय गन्तव्य हो । पोखराबाट नजिक रहेको यस क्षेत्र पदयात्रा, हिमशृङ्खलाको दृश्यावलोकन, धार्मिक केन्द्र र घरबासका कारण स्थापित पर्यटकीय गन्तव्य बनेको हो ।

कुश्मा नगरपालिका–४ कुश्माबजारमा रहेको गुप्तेश्वर गुफा सात तले अलौलिक गुफा हो । मध्यपहाडी राजमार्गबाट ५०० मिटर तल रहेको यो गुफालाई पर्यटकीय र धार्मिक केन्द्रको रुपमा विकास गरिँदै लगिएको छ ।

Lama collectio News Middle

पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीमा कालीगण्डकी जलजविद्युत् केन्द्रमा बनेको जलाशयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

गत वर्षदेखि सञ्चालनमा आएको कुश्मा नगरपालिका–३ दुर्लुङको क्यानोनिङ, केभिङ र महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिलामा शिवको सुतेको मूर्ति बनाई विश्वभरका पर्यटक र धार्मिक तीर्थयात्री भित्र्याउने योजना अघि सारिएको छ  ।

तर नयाँ पदमार्गको रुपमा विकास गरिँदै लगिएका हम्पाल, जलजला, भँवरकोट, अग्ला र लामा पुल तथा नयाँ बन्दै गरेको विश्वकै दोस्रो अग्लो बञ्जिजम्प भने पर्यटकीय गन्तव्यको रुपमा छुटेका छन् ।

पछिल्लो समय ती अग्ला र लामा पुलमा दैनिक हजारौँ पर्यटक पुग्ने गरेका छन् । भँवरकोट हुँदै घारेपानी जाने पदमार्गमा पूर्वाधार निर्माणका काम भइरहेको छ ।

घुमाउने तालदेखि बाँसखर्क, लोप्रे हुँदै घारेपानी पुग्ने अन्नपूर्ण मिलेनियम पदयात्रा मार्गमा पनि पदयात्री पुगीरहेका छन् । जलजला र हम्पाल क्षेत्र तथा डहरे देउराली लगायत क्षेत्रलाई पनि पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहले बजेट विनियोजनका साथै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

गुप्तेश्वर गुफा पर्यटकीय गन्तव्य सूचीमा परेपछि यहाँ पर्यटकको आकर्षण थप बढ्ने गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष मानकुमारी गिरीले बताइन्।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery