www.tandavnews.com
Fact ~ In search of truth

फूलमा भविष्य खोज्दै पोखराका भण्डारी दम्पती

हरि बाँस्तोला
पोखरा ।

पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उनकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाए ।

पहिलो वर्षमा नै राम्रो भएर बिक्री बढेपछि फूल खेतीतर्फ आकर्षित बनेका भण्डारी दम्पतीले अर्को वर्ष भने ८०० बिरुवा थप्यो। त्यसपछि उसले क्रमिकरुपले व्यावसायिक फूल खेती विस्तार ग¥यो। यस वर्ष भाडामा लिएको पाँच रोपनी जग्गामा अमेरिकन मेरिगोल्ड र कलकत्तिया जातका १३ हजार ५०० बिरुवा रोपिएको छ ।

Batas

“भदौको १२ गते रोपेको बिरुवा फूलैफूलको पर्व तिहार आउनुअघि नै अहिले बारीमा ढकमक्क पुलेको छ”,मञ्जीताले भन्नुभयो । यस वर्षको तिहारमा फूल बिक्रीबाट रु चार लाख आम्दानी गर्ने उनीहरूको लक्ष्य छ । जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकताअनुसार औषधि प्रयोग गर्नुु आफूहरूको दैनिकी बनेको बताउने भण्डारी दम्पतीले यस वर्ष एक रोपनीमा टनेलमा र चार रोपनीमा खुलारुपमा फूल खेती गरेको बताए ।

पोखरा महानगरपालिका वडा नं १७ बिरौटाचोकको बाराही नर्सरीबाट उत्पादित फूल बजारमा बिक्री भइरहेको छ । तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो भण्डारी दम्पतीको छ । कास्कीमा ३६ वटा व्यावसायिक नर्सरीले तिहारको पाँच दिनमा १० करोडभन्दा बढीको फूल बिक्री गर्ने तयारीमा छन् ।

पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया राना पोखरा र आसपासमा उत्पादित फूलले बजारको ९० प्रतिशत माग पूरा गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो व्यवसायमा आत्मनिर्भर भएर बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नतर्पm सङ्घको अभियान रहेको छ ।

बारीमा उत्पादन भएको फूलको प्रतिथुङगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ । महङ्गो बीउ, जनशक्ति अभाव र आवश्यकताअनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको मञ्जीताले बताए । अमेरिकन मेरिगोल्ड एक पटक मात्र फूल्ने हुँदा तिहारका लागि लक्षित गरिएको हो ।

कलकत्तिया जात भने लगभग आठ महीनासम्म उत्पादन हुने गरेको बताउँदै मञ्जीताले रासससँग भनिन् , “तिहारको अलावा विभिन्न सङ्घसंस्थाका औपचारिक कार्यक्रम, विवाह, ब्रतबन्ध, नयाँ घर प्रवेशजस्ता शुभकार्य तथा दुःख पर्दासमेत फूलको प्रयोग गर्नेक्रम बढेको छ ।”

विसं २०७१ मा जिल्ला कृषि विकास कार्यालयबाट फलामको टनेल निर्माणका लागि ५० हजार अनुदान प्राप्त गर्नुका साथै विभिन्न समयमा फूलसम्बन्धी तालीम लिने अवसर प्राप्त गरेको उनले जानकारी दिए । उनका श्रीमान् वसन्तका अनुसार फूल बिक्रीबाट राम्रो आम्दानी भए पनि विदेशबाट महङ्गोमा बीउ खरिद गर्नुपर्ने बाध्यतासँगै डडुवा र डाँठ कुहिने रोगले समय समयमा दुःख दिने हुँदा यस पेशामा जोखिम बढेको छ ।

व्यवसायीले फूल खेतीका लागि बारी तयार गर्दा विशेष गरी मलका रुपमा बाख्राको जुतो प्रयोग गर्छन् । उनले सरकारले सर्वसुलभरुपमा बीउ, मल र प्रविधि उपलब्ध गराएर यस पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् ।रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.