बुटवल ।
रुपन्देही प्रहरीले शनिबार (गए राती) बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेस सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधि समेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
पक्राउ हुनेमा बागलुङ जिल्ला नसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् । रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।
उक्त परिणामको लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए । उक्त चरेस नेपाली मूल्यमा करीब रु १८ लाख बराबरको हुनसक्ने उनले बताए । रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.