www.tandavnews.com
Fact ~ In search of truth

तिहारमा जनप्रतिनिधीलाई सडकमा उड्ने धुलो खाने निम्तो

बर्दिवास
गोपालप्रसाद बराल ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् ।

बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले तिहार पर्व शुरु भएसँगै नगरका चोकचोकमा भेला भएर सार्वजनिक रुपमै आफ्ना जनप्रतिनिधि र सडक विभागसम्बद्ध अधिकारीलाई सडक क्षेत्रमा पुगेर बुङ्बुङ्ती उडिरहेको धुलो खान सार्वजनिक निम्ता दिएका हुन् ।

“हेर्नोस् न, हामी यो सडकमा दिनहुँ बुङ्बुङ्ती उड्ने धुलो खाइरहेका छौँ”, बर्दिवास नगरपालिका–२ ओमशान्तिचोकमा एकाबिहानै भेला भएका वरपरका टोलवासीको बीचबाट दीपमायाँ श्रेष्ठले भनीन, “मन्त्री, नगरपालिका प्रमुख र कुनै हाकिमको ध्यान सडकमा परेन, त्यसैले तिहार शुरु भएको अवसरमा दाजुभाइलाई तिहारको निम्ता दिनसँगै उनीहरु (जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारी) लाई सडकमा उड्ने धुलो खान निम्ता गरेका हौँ ।”

बर्दिवास–जलेश्वर सडकखण्ड अन्तर्गत बर्दिवास नगरका क्षेत्रका चोकचोकमा तिहारका अवसरमा सर्वसाधारणले यो अभियान शुरु गरिएको छ । विक्रम संवत् २०४८ मा कालोपत्र गरिएको ४२ किलोमिटर दूरीको बर्दिवास–जलेश्वर सडक त्यसयता कहिल्यै मर्मत सम्भार नगरिएको यो सडक क्षेत्र वरिपरि बासिन्दाको गुनासो छ ।

“सडक अब खाल्डाखुल्डीमा परिणत भइसकेको छ, अत्यन्त चल्तीको यो सडकमा दिनहुँ चल्ने सयौँ सवारी साधनले आकास नै ढाकेर धुलो उडाउँछन्”, सडकको दुर्दशा देखाउँदै बर्दिवास–२ का बुद्धचोकमा भेला भएकाको बीचबाट अर्की स्थानीय गायत्री उपाध्यायले भने “यो दुर्दशा देखाउन नै तिहार लागेको दिन दाजुभाइलाई निम्ता दिनभन्दा पहिले मन्त्रीजी, मेयरसा’ब र हाकिलाई यहाँको धुलो खान सार्वजनिक निम्ता गरेका हौँ ।”

जनप्रतिनिधि र सडक विभागका अधिकारी यहाँ आएर धुलो खाए चाँडै सुधार हुन्थ्यो कि भन्ने आफुहरुको विश्वास रहेको चोकमा भेला भएका सयौँ स्थानीयवासीले एकैस्वरमा बताए।

पछिल्ला कैयौँ वर्षदेखि सडक भत्किएर ठूलठूला खाल्डाखुल्डी बन्दा सवारी साधन चलाउन बढेको जोखिमसँगै यहाँ उड्ने धुलोले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बुद्धचोककै बासिन्दा स्वास्थ्यकर्मी श्यामनारायण लाल बताउछन ।

मन्त्री, प्रमुख र सडक विभागका हाकिम यता आउनै छाडेका र कदाचित आइहाले पनि सुविधा सम्पन्न आफ्ना गाडीको सबै झ्याल थुनेर हुँइकिने गरेकाले आपूmहरुको दुःख नबुझेका यस भेगका बासिन्दाको गुनासो छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.