www.tandavnews.com
Fact ~ In search of truth

विकासको पर्खाइमा स्वगद्वारी आश्रम

म्याग्दी ।

प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त म्याग्दी टोड्के स्थित प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ ।

मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रम आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको धार्मिक विश्वास छ ।

प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशालालगायतका केही संरचना निर्माण गरेको र अहिलेसम्म पनि ती संरचना रहेका स्वर्गद्वारी आश्रम शिव मन्दिरका पुजारी शिवप्रसाद पन्थीले बताए ।

पुजारी पन्थीका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमदभागवत सप्ताहा पाठ गरेका थिए ।
त्यसैगरी जन्मेको छैठौँ दिनदेखि आमाको स्तनपान नगरेका हंशानन्द गिरीले तपस्या गरेको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भनिन थालिएको पुजारी पन्थीले बताए।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गरेका थिए । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभु पछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । अठार रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ ।
पहाडको टुप्पोमा घना जङ्गलको बीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथीलगायतका हिमाल, दुई दर्जन बढी गाउँ देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकका पहुँच भएकाले यातायातका साधनबाट पनि जान सकिन्छ ।

यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाएको खराउ ९काठका चप्पल०, शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् ।
शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ । यहाँ एउटा धर्मशाला छ भने सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाईको दूधले अभिषेक हुने गर्दछ । पुजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery