www.tandavnews.com
Fact ~ In search of truth

भात खाने प्रवृत्तिले चामल आयात बढ्दो

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

धान उत्पादनमा राम्रो मानिएको पर्वत जिल्लामा पछिल्लो समयमा चामलको आयात बढ्दै गएको छ ।

अनुकुल मौसम परेको वर्षमा औषत १० प्रतिशतले धान उत्पादनमा बृद्धि भएको समयमा पनि जिल्लामा अहिले वार्षिक झण्डै ८ हजार मेट्रिक टन चामल आयात हुने गरेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष १० प्रतिशतले धान उत्पादन बढेकोमा यस वर्ष पनि झण्डै १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तर चामलको आयात दर भने कत्ति पनि घटेको छैन, झनै बढ्दो अवस्थामा छ ।’

Batas

रेग्मीका अनुसार पर्वतको कुल जनसङ्ख्या १ लाख ६५ हजार जनाको लागि कुल २९ हजार मेट्रिक टन खाद्यान्न आवश्यक छ । तर यहाँको उत्पादन आवश्यक भन्दा २ हजार बढी ३१ हजार मेट्रिक टन उत्पादन गरेको छ । तर पनि चामलको आयात भने बढ्दो क्रममा रहनुले जिल्लामा भाते प्रवृत्ति बढेको पाईएको हो । ज्ञान केन्द्र प्रमुख रेग्मी भन्छन्, ‘मान्छेले पाएसम्म तिनै पहर भात खाईदिन्छ । मकै, कोदो, जौ, गहुँ खाँदैनन् । चामलले मात्र त कसरी धान्न सक्छ त ?’

खाद्यान्नमा जिल्ला आत्मनिर्भर हुँदा समेत चामलको आयात बढ्नु र अन्य खाद्य बाली नखाईनु स्वास्थ्यका दृष्टिले समेत राम्रो नभएको चिकित्सकहरुको भनाई छ । भात मात्र खाने गरेका कारण शरीरलाई आवश्यक पर्ने सन्तुलित र पौष्टिक आहारको अभावमा आजभोलीको मानिसहरुमा विभिन्न खालका रोगहरुको सङ्क्रमण बढ्दै गएको जिल्ला अस्पताल पर्वतका डा. भक्त गुरुङले बताए । ‘आजभोलि जतिबेला पनि पेट टन्न हुने गरी भात खाने प्रचलन रहेको छ,’ गुरुङले भने, ‘भात मात्रै खाँदा अरु खाद्यान्नबाट पाईने तत्वहरु शरीरले प्राप्त गर्न नसक्दा स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ ।’

पछिल्लो समयमा मकै, कोदो, गहुँ लगायत चामल बाहेकका खाद्यान्नहरुको प्रयोग नभएकै कारण जिल्लामा आवश्यकता भन्दा बढी खाद्यान्न उत्पादन हुँदा समेत चामलको आयात बढ्दो छ । जिल्लामा झण्डै ८ हजार मेट्रिक टन चामल आयात हुने गरेको अनुमानित तथ्याङ्क हो । जिल्लाको दक्षिणी भेगमा पर्ने हुवास, लुँखु, कार्कीनेटा, कुश्मा, आर्थर लगायतका नाकाहरुबाट पनि पार्वतका गाउँगाउँमा चामल भित्रिने गरेका कारण यत्ति नै भित्रिएको छ भन्ने तथ्याङ्क निकाल्न मुस्किल छ ।

जिल्लामा रहेको करिब २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टर जमीनमा धान, कोदो, गहँु, जौ, मकै लगायतका खाद्यान्नहरुको खेती हुने गरेको छ ।

किसानलाई धान थन्क्याउने चटारो

धानको सिजन सुरु भएसँगै पर्वतका कृषकहरुलाई पनि यतिबेला धान थन्क्याउन भ्याई नभ्याई भैरहेको छ । यतिबेला कृषकहरु बिहानदेखि बेलुकासम्म खेतमा धान काटिरहेको अवस्थामा देख्न पाइन्छ ।

जिल्लामा रहेको उत्पादन योग्य २० हजार हेक्टर जमिनमध्ये कुल ९ हजार २१ हेक्टर जमिनमा मात्र धान खेती हुँदै आएको छ। पर्वतमा छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेली, बिरमफुले लगायतका स्थानीय जातको धान बढी मात्रामा रोपिने गरिएको छ । यस बाहेक जिल्लामा धान उत्पादनमा पकेट क्षेत्र मानिएका फलेवास, कटुवाचौपारी, पाङ लगायतका ठाउँहरुमा भने जिल्लामा सिफारिस नै नभएका हाईब्रिड जातको धानहरु लगाउने चलन पनि उत्तिकै बढेको छ ।

गत वर्ष १० प्रतिशतले उत्पादन बढेको धान यस वर्ष पनि अनुकूल मौसमका कारण १० प्रतिशतले नै वृद्धि हुने कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताए । उनले भने, ‘गत बर्ष पनि अनुकूल मौसमको काण १० प्रतिशतले उत्पादन बढेकोमा यस बर्ष पनि सोही अनुसार नै हुने अनुमान गरेका छौँ ।’ उनका अनुसार यस वर्ष समयमै रोपाइँ गर्न पाइएको र अनुकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्ने भएको हो ।

धानखेती राम्रो भएका कारण कृषकहरू पनि उत्साहित देखिएका छन् । धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाइँ र पछिल्लो समयसम्म निरन्तर परेको वर्षाका कारण उत्पादन बढ्ने देखिएको केन्द्र प्रमुख रेग्मीले बताए । थन्क्याउने बेलासम्म असिना पानीले असर गरेन भने यस वर्षको उत्पादन राम्रो रहने अनुमान गरिएको छ । पर्वतका अधिकांश जमिनमा अहिले पनि आकाशे पानीको भर पर्नु परेका कारण कतिपय कृषकहरुले भने सिचाईँकै अभावमा खेत र बारी बाँझै छोड्न बाध्य भएका छन् ।

त्यसबाहेक बस्ती सम्म फैलिँदै गरेको बन जंगलका कारण बाँदर आतंक बढेसंगै कृषकहरुले पाखा पखेरामा धान लगाउन छोड्ने क्रम पनि सुरु हुन थालिसकेको छ । यसैगरी, रोजगारी, शिक्षा, सुविधा लगायतका कारण गाउँ छोडेर शहरमा बस्दै आएकाहरु र युवा पुस्ता रोजगारीको शिलशिलामा वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि गाउँका जमिनहरु बाँझो हुने क्रम बढ्दै गएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.