www.tandavnews.com
Fact ~ In search of truth

तिहारमा देउसी भैलोको महत्व के छ ?

पाेखरा
ताण्डव न्यूज । 

तिहारलाई सांस्कृतिक रमाइलो पर्वको रुपमा लिने गरिन्छ । तिहार भन्ने बित्तिकै फूल, झिलिमिलि अनि देउसी भैलो नै बढी महत्वका साथ हेरिन्छ ।

देउसी भैलोले अझ तिहार आएको छनक दिने गर्दछ । अन्य चाडपर्वमा जस्तै कलाकार पनि देउसी भैलो गीत निकाल्ने गर्दछन् । विभिन्न देउसी भैलो कार्यक्रममा व्यस्त रहेका केही कलाकारलाई तिहारमा देउसी भैलोको महत्व के छ भनेर हामीले सोधेका छौं :

Batas

पशुपति शर्मा

देउसी भैलो हाम्रो संस्कार, संस्कृति हो । यही संस्कारलाई जोगाइ राख्नुपर्छ भन्ने उद्देश्यले पनि हरेक वर्ष देउसी भैलो गीत बजारमा पठाउने गरेका छौं । दशैंमा टीका लगाएर आशीर्वाद लिने हो भने तिहारमा टीका लगाएर देउसी भैलो खेल्ने चलन पहिलेदेखि नै चलिआएको हो । तिहारको विशेषता भनेकै देउसी भैलो हो । तिहारमा भाइटीकाको जति महत्व छ देउसी भैलोको पनि उत्तिकै छ ।

खुमन अधिकारी

परम्परादेखि नै देउसी भैलो खेल्दै आएको, गाउँमा हुँदा सबै साथीभाइ जम्मा भएर देउसी खेल्ने, दान दक्षिणा उठाउने, रमाइलो गर्ने जुन चलन छ त्यो चलनलाई निरन्तरता दिनको लागि नै हामीले प्रत्येक तिहारमा देउसी भैलोका गीतहरु निकालेका पनि छौं । तिहारमा टीका लगाएपछिको रमाइलो भनेको देउसी भैलोमा नै हुन्छ ।

चोलेन्द्र पौडेल

संस्कृतिसँग जोडिएको हुनाले तिहारमा देउसी भैलो साँस्कृतिक महत्व नै बढी छ । बलिराजाका कुरा, झिलिमिल, फूलको पर्व र दाजुबहिनी दिदीभाइको आत्मीयताको पर्व पनि तिहारलाई लिइन्छ । हरेक चाडपर्वका आ–आफ्ना विशेषता र महत्व हुन्छ तिहारको पनि सोही अनुसारको महत्व रहेको पाइन्छ । त्यसैले पनि हामी कलाकारलाई देउसी भैलालाई जगेर्ना गर्नको लागि कार्यक्रमहरु गर्ने गर्दछौं ।

शिव हमाल

तिहार भनेको एक खालको साङ्गीतिक पर्व हो । पौराणिक कथन अनुसार बलिराजाको नाममा खेलिने खेल÷गीत नै देउसी र भैलो भनिन्छ । तिहारमा बत्तीको जति महत्व छ त्यत्तिकै देउसी भैलोको महत्व छ । सांस्कृतिक महत्व बढी भएको पर्व पनि भन्ने गरिन्छ ।

जीवन दाहाल

सर्वप्रथम त संस्कृतिको संरक्षण र संवद्र्धन नै हो । परम्परादेखि हाम्रा जिजुबाजेले खेल्दै आउनुभएको देउसी भैलोको आफ्नै महत्त्व छ । देउसी र भैलोमा पनि फरक छ । काग तिहारबाट तिहार सुरु भइ लक्ष्मी पूजाका दिनसम्म खेलिने भैलो र त्यसपछि खेलिने देउसी भन्ने चलन पूर्वजले भन्ने गर्नुहुन्थ्यो । देउसी भैलो भन्ने बित्तिकै तिहार आएजस्तो हुन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.