www.tandavnews.com
Fact ~ In search of truth

तिहारमा मिठाइ मोह !

उमा बिक
पाेखरा, ताण्डव न्यूज ।

आहा ! खुलेको मौसमसंगै चारैतिर सुन्दर फुलहरु । प्रकृतिलाई पनि चाडपर्वले धपक्कै छोपेजस्तै । माहौल तिहारको छ ।

पोखरा राष्ट्रबैंक चोककी प्रियंका बर्मालाई मिठाई औधी मनपर्छ । त्यसो त उनी सधैंजसो मिठाइ खाइरहन्छिन् । अहिले त झन् तिहारको माहौल । अरु समय भन्दा चाडवाडको बेलामा उनी अलि बढी नै मिठाइ खाने गर्छिन् ।

Batas

‘मलाई स्विट्सको क्रेजी नै हुँ भनेपनि हुन्छ । एकदम मन पर्छ । सधैंजसो खाइरहन्छु । अब तिहारमा झन् भेराईटिका मिठाई हुन्छन् । कतिपय घरमै बनाउँछौं । कति किनेर ल्याउछौं,’ उनले हाँस्दै भनिन्, ‘तिहारमा दाजुभाईलाई टिका लगाईदिएपछि उनीहरुलाई खुवाउने र त्यही बाहानामा आफुले अलि बढि नै मिठाई खान्छु ।’

तिहारको नाता फुलसगँ मात्रै नभएर घरघरमा पाक्ने सेलरोटी र मिठाइसगँ पनि उत्तिकै प्रगाढ हुन्छ । पोखराका मिठाइ पसलमा यतिबेला मिठाइ किन्ने र बेच्ने निकै व्यस्त देखिन्छन् । मिठाइ बनाउने माडवारी पसलेहरुलाई मिठाइ बनाउन र बेच्न भ्याइनभ्याई छ ।

तिहारमा दिदी बहिनी , छोरीचेलीले आफ्ना दाजुभाइलाई टिका लगाएर मिष्ठान्न परिकार खुवाउने प्रचलनले पनि तिहारमा मिठाइको प्रयोग बढी हुन्छ । घरमै सेलरोटी, मिष्ठान्न परिकार बनाउन सकिने भएता पनि व्यस्त जीवनशैलीका कारण पछिल्लो समय तिहारका लागी चाहिने सम्पुर्ण मिष्ठान्न भोजन पसलबाटै किन्ने चलनले व्यापारीहरुलाई फाइदा पुर्याएको छ । माग पनि बढ्दो छ ।

पोखरा न्युरोडमा रहेको आगन स्विट्सका प्रोपाइटर देव क्षेत्री अन्य समयमा भन्दा चाडबाड, विशेष गरि तिहारको समयमा बढी मिठाइ बिक्री हुने बताउँछन् । उनका अनुसार तिहारको पनि काग पूजादेखि मिठाइको माग बढ्ने गर्छ । उनी भन्छन् ‘यति नै माग हुन्छ भनेर भन्न सकिन्न । एक दिनमा औसतमा १ लाख सम्मको मिठाइको कारोबार हुन्छ ।’

ठूलठूला स्विट्स हाउस र मारवाडीका मिठाइको माग मात्र होइन । तिहारमा अति नै आवश्यक पर्ने ओखर, नरिवल, मिश्री, छोकरा, किसमीस लगायत मिश्रित प्याकेटको भाइपोका मिठाईको माग पनि बजारमा उत्तिकै रहेको खुद्रा व्यवसायी बताउँछन् । तर गत वर्ष भन्दा यसवर्ष मिठाइको मूल्य बढेकोले मिठाइ सोचे अनुरुप बिक्री हुनेमा व्यवसायीहरु ढुक्क छैनन् ।

रङ पसल, पूजा सामग्री नयाँबजारका अनुसार भाइपोका मिठाइ सामान्यतया २५ रुपैँयादेखि झण्डै ४ सय रुपैँयासम्म पर्छ । गत वर्ष १५ रुपैयाँमा पाइने सानो भाइपोका मिठाइ यस वर्ष २५ पुगेको छ ।

त्यस्तै गत वर्ष ६० रुपैयाँमा बिक्री गरेको भाइपोका मिठाइ यस वर्ष मूल्य बढेकाले ७० मा बेच्नुपरेको सो खुद्रा पसलले बताए । यस वर्ष यस्तो मिठाइ औसतमा १० रुपैयाँको दरले मूल्य बढेको ब्यवसायीहरु बताउँछन् ।

मिठाइमै केमिकल खाईएला !

पछिल्लो समय मिठाईलाई आकर्षक देखाउनको लागी अनावश्यक रङ, केमिकलको प्रयोग बढ्दै गइरहेको छ । बजारमा राखिएका मिठाइ खान योग्य छन् या छैनन् ? यस तर्फ न सरकार , न सम्बन्धित निकाय न त उपभोक्ता नै सचेत छन् ।

मिठाइमा हुने यस्ता हानीकारक केमिकल र रङको अनुगमनका बारेमा सोध्दा फुलबारीका स्थानीय तथा नवप्रभात माध्यमिक विद्यालयका शिक्षक सागर पौडेल भन्छन् ‘अनुगमन त भइरहन्छ तर प्रभावकारी र उपभोक्ताको हित हुने गरि अनुगमन भने भइरहेको छैन,’ उनले उदाहरण दिदँै भने, ‘तँ रोए जस्तो गर, म पिटे जस्तो गर्छु मात्र हो ,यहाँ सबैको मिलेमतो छ ।’ व्यवसायीलाई मात्रै गाली गरेर भन्दा पनि उपभोक्ता स्वयं सचेत हुनुपर्ने उनको भनाई छ ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीले भने चाडपर्वलाई लक्षित गरि अनुगमन तीव्र बनाएको बताउँछ । तिहारलाई लक्षित गरि मिठाइ पसलहरुमा अनुगमन भइरहेको डिभिजन कार्यालय कास्कीकी खाद्य निरीक्षक भूमिका प्रधानले बताईन् ।

मिठाइमा अखाद्य बस्तु मिसावट गरिएको, मिठाइ बनाउने किचेन फोहोर भएको, मिठाइहरुमा अनावश्यक रङ हालेको पाइएमा तुरुन्तै जफत गरिने प्रधानले बताइन् ।

केही दिन अगाडि मात्रै अनुगमनको क्रममा पोखराको पृथ्वीचोकमा रहेको लक्ष्मी मारवाडीका मिठाइ पसलमा राखिएका मिठाइमा मरेको साङ्ला, भुसुना, किरा भेटिएको र त्यस्ता मिठाई जफत गरि नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले सुनाए ।

पोखरामा तिहार नजिकिए सँगै आवश्यक पर्ने भाइमसला, झिलिंगा र मिठाइ पसललाई नै केन्द्रित गरेर अनुगमन भइरहेको छ । विशेष गरि मिठाइ पाक्ने किचेन किचेन पुगी आफूहरुले अनुगमन गरिरहेको कोइरालाको भनाई छ ।

यदि गुणस्तरहिन मिठाइ बिक्री भएको पाइएमा, मिठाइ बनाउने किचेन फोहोर पाइएमा वा मिठाइमा अखाद्य वस्तुको प्रयोग भएको पाइएमा उपभोक्ता मञ्च कास्की र प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।

स्वास्थ्यको पनि ख्याल गर्नेकी ?

गुलियो मिठाइ मन नपर्ने कमै मात्रामा होलान् । तर, भनाई नै छ धेरै गुलियो पनि तितो हुन्छ । यस्तै अर्थ राख्छ मानिसको स्वास्थ्यका लागि तिहारको मिठाइले पनि । चाड त हो नि भनेर स्वास्थ्यको ख्याल नगरी जथाभावी खाने बानी धेरैको हुन्छ ।

चाडपर्वमा अन्य काममा व्यस्त हुने भएकाले खानपानको निश्चित ठेगान पनि हुँदैन । धेरै समय भोकै बसेर चिल्लो र बढी चिनी प्रयोग भएका खानेकुरा खाँदा स्वास्थ्यमा समस्या उत्पन्न हुने सम्भावना धेरै हुने सुगर तथा थाइराइड रोग विषेज्ञक डा. सचिन ढकाल बताउँछन् । मिठाइमा हाइ क्यालोरी हुन्छ, यसले स्वास्थ्यमा गम्भीर असर पार्छ ।

पछिल्लो समय बजारमा पाइने मिठाइमा विभिन्न केमिकल र रङहरुको प्रयोग बढी हुने गरेकोले यस्ता अनहाईजेनिक मिठाइ खादाँ डायरिया, वान्ता, टाइफाइड, जन्डिस हुन सक्ने डा.ढकाल बताउँछन् ।

तिहारमा खाइने चिल्लो खानेकुराका कारण एसिडिटी बढन सक्छ भने धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ ।

डा. ढकाल भन्छन् ‘मिठाइको पर्व तिहारमा त अझ घरमा सेलरोटी, अनरसा, फिनी आदि मिठाइ बनाइन्छ जसमा चिल्लो तथा गुलियोको मात्रा प्रशस्त हुन्छ । सेल, फिनीजस्ता रोटी धेरै दिन राखेर खाँदा तेल–घिउ खरिन्छ । यसले मानिसमा एसिडिटीको समस्या हुनसक्छ ।’

मधुमेह लागेका, प्रेसरका बिरामी विशेष गरि होसियार हुनुपर्ने डा. ढकालको भनाई छ । तिहारमा सेलरोटी खाने चलन छ । अझ, बासी राखेर खाने गरिन्छ । यो स्वास्थ्यको लागि हानिकारक हुने उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.