www.tandavnews.com
Fact ~ In search of truth

कृषि मार्फत पर्यटन प्रर्वद्धनमा युवा

म्याग्दी
ध्रुवसागर शर्मा ।

विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रर्वद्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका छन् ।

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले साढे दुई वर्षअघि अर्गानिक कृषि उपजहरूको उत्पादन गरी आफै कटेज सञ्चालन गरी पर्यटन प्रर्वद्धनको अभियान शुरु गरेका हुन। उनले सञ्चालन गरेको के डी कटेज अर्गानिक खानेकुरा र ग्रामीण जीवन पद्धतिको नमूना बनेको छ ।

शर्माले सिमलचौरको तीन रोपनी जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय शुरु गरेको बताए । हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने गरेका शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको जानकारी दिए ।

कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उनको भनाइ छ । शुरुमा १५ लाख लगानी रुपैँयाबाट स्थापना भएको कटेजमा अहिले ५० लाख लगानी पुगेको सञ्चालक शर्मा बताउछन् ।

शर्माले कटेजकै छेउछाउमा तीन पोखरी निर्माण गरेर माछापालन गरेका हुन । पाहुनालाई अग्र्यानिक परिकार खुवाउने उद्देश्यसहित उनले पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन गरेका छन।

होमस्टे (घरबास)मा आधारित शर्माको कटेजमा एक रातमा १० जनासम्म बस्न सकिन्छ भने कुनै विशेष पार्टी वा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ ।

विशेषगरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य रहेको शर्माको कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहनाअनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको सञ्चालक शर्मा बताउछन् ।

व्यवस्थापन विषयमा स्नाकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्न आफूले घरबास सञ्चालन गरेको बताए ।

उनको कटेजमा जेठोबुढो र गौरिया धानको लोकल चामलको भात सहित फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको समेत स्वाद लिन पाउनुका साथै स्थानीय परिकारहरु खान पाइन्छ ।

प्रायः एक पटक आउने ग्राहकहरु पटक– पटक पनि आउने गरेको सञ्चालक शर्माले बताए। कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको उनको अनुभव छ ।

शर्माले कटेजमा पाँच जनालाई रोजगारी दिएका छन । उनले कटेजमार्फत मासिक तीन लाख रुपैँया देखि पाँच लाखसम्म कमाई हुने हुँदा महीनामा एक लाख भन्दा बढी बचत गर्ने गरेको जानकारी दिए ।

आगामी दिनमा कटेजका साथै सेवासुविधाको पनि विस्तार गर्ने लक्ष्य उनको छ । घरबास सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटक आकर्षण बढाउन सकिने शर्माको अनुभव रहेको छ ।

लोप हुँदै परम्परागत घुमाउने घर

म्याग्दीका ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् । घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षैपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो ।

त्यसो त ग्रामीण क्षेत्रमा समेत आधुनिक सुविधा सम्पन्न घर बनाउने चलन बढेकाले परम्परागत घर लोप हुँदै गएको बताइन्छ । केही वर्षअघिसम्म म्याग्दीका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध देखिन्छ ।

हरेक गाउँका बासिन्दा शहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका छन् ।

केही वर्षअघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको छ भन्छन् बेनी नगरपालिका–२ ज्यामरुककोटका ७४ वर्षीय रणबहादुर कार्की । “१०० वर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा छैनन् जीर्ण भइसकेका छन”, उनी भन्छन्।

मानिस उज्यालो, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोप हुँदै गएको बेनपा–६ का बालकृष्ण सुवेदीले बताए । जस्तापाताको व्यापक प्रयोग, सुलभ रूपमा पाइने र एक पटक छाएपछि बीसौँ वर्ष रहने हुनाले पुराना घर उपयोग विहीन हुन थालेको उनले बताए।

डेढ दशकअघिसम्म म्याग्दीका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए । अहिले औलामा गन्न सकिने छन्, स्थानीय धनबहादुर श्रीषले भने । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ ।

रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.