www.tandavnews.com
Fact ~ In search of truth

फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती आज

भद्रपुर ।

आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन ।

सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो ।

Batas

यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा ९धर्म० मुचुल्का’को रुपमा चिनिन्छ । किरात धर्मको समाज सुधारकको रुपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् ।

नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते प्रदेश न. १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको छ ।

उनले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गरेका थिए।
समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरीव परिवारमा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उनी आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए।

न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भएका थिए । बेलायती सेनामा केही वर्ष काम गर्नुभएका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागीरबाट राजीनामा दिई धार्मिक सुधार अभियान चलाए । यस क्रममा उनी भारत र भुटानसम्म पुगेको बताइन्छ ।

धर्मगुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीको उपलक्ष्यमा आज पाँचथर सदरमुकाम फिदिममा फाल्गुनन्दको विशाल शालिकको अनावरण गरिँदैछ ।       रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.