www.tandavnews.com
Fact ~ In search of truth

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

पाेखरा ।

हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की, पोखराका अधिकारकर्मीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि सुरक्षागृह बनाउन पहल गरेता पनि सफल हुन नसकेको भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको कोपिला नेपालका कार्यकारी निर्देशक एवं अधिकारकर्मी बीना सिलवालले बताइन् ।

Batas

सिलवालले भनिन् , “हामीले समस्याको बारेमा अवगत गरायौँ, उहाँले सकारात्मक जवाफ दिनुभएको छ । हामी काम हेर्न चाहन्छौँ ।” उनले यो गम्भीर भएको भन्दै प्रदेश सरकारले तुरुन्तै यस कार्यको थालनी गर्नुपर्ने बताइन् ।

इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिवप्रसाद खकुरेलले महिला तथा बालबालिका सुरक्षाका लागि सुरक्षा घर अत्यावश्यक रहेको बताउँदै स्वास्थ्य र सुरक्षाको दृष्टिकोणबाट पनि सहज हुने गरी स्थान छनोट गरिनुपर्ने बताए ।

महिला सुरक्षा गृह तथा बाल सम्पर्क गृह निर्माणका लागि ध्यानाकर्षण गराउन पुगेका नागरिक समाजको प्रतिनिधिसँग भेटका क्रममा मुख्यमन्त्री गुरुङले महिलामैत्री वातावरणका लागि आफू सकारात्मक रहेको भन्दै हिंसामा परेकाको लागि सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा सुरक्षा गृह प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष गिरधारी शर्माले नयाँ संरचना निर्माण गर्नेभन्दा पनि भएका संरचनालाई उपभोग गर्ने गरी स्थानको खोजी गरिने जानकारी दिए ।

शर्माले सुरक्षा गृह प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकार र गैरसरकारी संस्थाको समन्वयमा सुरक्षा गृह सञ्चालन गर्न सकिने धारणा राखे ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.