www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सेवा

पर्वत
संजय रेग्मी /ताण्डव न्युज ।

सेवा लिन आउने सेवाग्राहीले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिन सकुन भन्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय परिसरमै सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ ।

जिल्लामा रहेका अन्य कार्यालयहरुको तुलनामा प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढी हुने भएकाले धेरैलाई स्वास्थ्य जाँच सेवा प्रदान गर्न सकियोस भनेर प्रशासन कार्यालयमा नै स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

‘बजारमा थुप्रै मेडिकल, निजि अस्पताल र एउटा सरकारी अस्पतालको सुविधा भएपनि प्रशासनमा दैनिक सयौँको संख्यामा आउने सेवाग्राहिलाई लक्षित गरी यो सेवा शुरु गरिएको हो।’ प्रजिअ ढकालले भने ।

आकस्मिक रुपमा आईपर्ने स्वास्थ्य सम्वन्धि समस्याको तत्काल समाधान गर्ने उद्धेश्यले यो सेवा शुरु गरिएको पनि प्रजिअ ढकालको भनाई छ। उनका अनुसार शुरुवातको चरणमा हरेक बुधवार मात्रै स्वास्थ्य परिक्षण गरिने भएको छ ।

बिस्तारै प्रभावकारी हुँदै गयो भने साताको शनिवार बाहेकका सवै दिन स्वास्थ्य परिक्षण सुविधा दिईने छ । स्वास्थ्य परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला कारागारमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ ।

स्वास्थ्यकर्मीहरुले सेवाग्राहिको ब्लड प्रेसर चेकजाँच, सामान्य रुघाखोकी, ज्वरो, चोटपटक लगायतको तत्काल उपचार गर्नेछन् भने बेहोस हुने तत्काल आइपर्ने जटिल रोगका लागि उचित किसीमको सेवा सल्लाह र सुविधा प्रदान गरिने छ।

हप्ताभरीनै स्वास्थ्य परिक्षणको आवश्यकता महसुस गरेमा छुट्टै युनिट नै बनाएर नियमित स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने तयारी प्रशासन कार्यालयले गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले प्रशासनमा आउने सुत्केरी तथा साना बालबच्चा भएका महिलाहरुलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष समेत निर्माण गर्ने तयारी गरेको छ ।

केही समयमै सुविधा सम्पन्न भवनमा सर्दै गरेकाले नयाँ भवनबाट कार्यालय संचालनमा आएपछि व्यवस्थित स्तनपान कक्ष पनि संचालन गरिने प्रजिअ ढकालले बताए ।

स्वास्थ्य परिक्षण सेवा र स्तनपान कक्षा समेत संचालनमा आएपछि सवै किसीमका सेवाग्राहिहरुलाई सेवा लिन र दिन पनि सहज हुने उनको विश्वास छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.