www.tandavnews.com
Fact ~ In search of truth

दशैँ तिहारमा चामल नपाएका उत्तरी गाेरखाबासीले बल्ल पाए !

ताण्डव न्यूज, गाेरखा ।

उत्तरी गोरखामा नेपाल खाद्य संस्थानले सहुलियत दरको चामल पठाउन थालेको छ । ठेक्का सम्झौतामा भएको ढिलाइका कारण तिहार अघि सम्म चामल ढुवानी हुन सकेको थिएन । यही कात्तिक १६ गते सम्झौता गरेर चामल ढुवानी गर्न थालिएको नेपाल खाद्य संस्थान गोरखा शाखाले जनाएको छ । हाल सम्म सिर्दिवास डिपोमा ४० क्विन्टल चामल पठाइसकिएको शाखा प्रमुख नविन बस्नेतले बताए ।

‘सिर्दिवास डिपोका लागि पहिले परेको टेण्डर हेडक्वार्टरबाट अस्वीकृत भएर आयो,’ उनले भने, ‘दोस्रो पटक खुलाइएको टेण्डर स्वीकृत भएपछि बल्ल सम्झौता गरेका हौ ।’

Batas

माछाखोला डिपोका लागि टेण्डर स्वीकृत दशै अगावै भएको उनले बताए । ‘माछाखोला डिपोमा करिब सात सय क्वीन्टल चामल स्टक छ त्यही भएर अहिले त्यहा पठाएका छैनौ, सिर्दिवासमा आवश्यक थियो, अहिले पठाउन थालिसकेका छौ,’ बस्नेतले भने । उत्तरी क्षेत्रमा चामल ढुवानीको ठेक्का यस पटक पनि प्रगति निर्माण सेवाले नै पाएको छ । चालु आर्थिक बर्षका लागि माछाखोला डिपोमा २ हजार पाँच सय र सिर्दिवास डिपोमा दुई हजार क्वीन्टल कोटा तोकिएको छ ।

आउदो असार मसान्त सम्म उक्त चामल ढुवानी गरिसक्नु पर्नेछ । उत्तरी क्षेत्रका स्थानीयलाई सहुलियत दरमा चामल उपलब्ध गराउने उदेश्यका साथ खाद्य संस्थानले २०३१ सालदेखि उत्तरी गोरखाको धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दिबास डिपोमा खाद्यान्न ढुवानी गर्दै आएको छ । सरकारले ढुवानी सहुलियत दिएको सोना मन्सुली चामल माछाखोला डिपोबाट प्रतिकेजी ४५ र सिर्दिबास डिपोबाट ४८ रुपैयामा स्थानीयले उपभोग गर्न पाउने छन् ।

सिर्दिवास डिपोबाट सामागाउँ, ल्हो, प्रोक, विही, चुम्चेत, छेकम्पार र सिर्दीवास गरी साविकका सात गाविसका स्थानीयले अनुदानको चामल उपभोग गर्दै आएका छन् । त्यस्तै माछाखोला डिपोबाट लाप्राक, उहीया, केरौजा, गुम्दा, लापु र काशीगाउँ गरी साविकका ६ गाविसका स्थानीयले चामल उपभोग गर्दै आएका छन् । माछाखोलामा भन्दा टाढा भएकाले सिर्दिवासमा चामल ढुवानी गर्न कठिन हुने संस्थानले जनाएको छ । गत बर्ष माछाखोलामा चार हजार क्वीन्टल चामल ढुवानी भएको थियो भने सिर्दिवास डिपोमा दुई हजार क्वीन्टल भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.