www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ-मुग्लिन सडक खण्डका १४ पुलको विस्तार प्रक्रिया शुरु

चितवन ।

नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुलको विस्तार र नयाँ बनाउने प्रक्रिया शुरु गरिएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो ।

सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ । विसं २०३८ मा ती पुल चिनियाँ प्राविधिकले निर्माण गरेकाले अहिले गरिएका नक्साङ्कनका बारेमा छलफल गर्न प्राविधिक विज्ञसमेत बोलाइएको उनले बताए ।

Batas

थापाका अनुसार चीनको थोङजी विश्वविद्यालयका प्राध्यापक डा सेनलाई पुल नक्साङ्कनको अन्तिम रुप दिनका लागि छलफल गर्न बोलाइएको छ । उनि आएलगत्तै नक्साङ्कनको अन्तिम रुप दिएर बोलपत्र आह्वान गरिनेछ ।

थापाले भने , “माघको तेस्रो साताभित्र बोलपत्र आह्वान हुने गरी काम अगाडि बढाएका छौँ ।” हाल ती पुल छ मिटर फराकिला छन् । उनका अनुसार ११ मिटर फराकिलो बनाइनेछ । दुई वटा नयाँ पुल बनाइनेछ भने १२ वटा पुलको दायाँबायाँ थप गरी विस्तार गरिने योजना छ ।

पुल बनेका छेउमा अग्ला पहाड भएकाले अर्काे ठाउँबाट पुल बनाउन कठिन हुने उनले बताए । सोही सडकका चार ठाउँमा नयाँ पुल बन्दै गरेका छन् । सडक फराकिलो भइसक्दा पनि पुल साँघुरो भएपछि यातायात आवागमनमा समस्या हुँदै आएको छ ।

सो सडक विस्तार गरी नौदेखि ११ मिटर फराकिलो बनाइएको छ । ती पुल नयाँ बनाउन र मर्मतका लागि रु दुई अर्ब लाग्ने अनुमान गर्दै विश्व बैंकले अर्थ मन्त्रालयसँग बुधबार अन्य योजनासहित सम्झौता गरिसकेको थापाले जानकारी दिए ।

नयाँ पुलभन्दा पुल भएकै ठाउँमा विस्तार गर्नुपर्ने देखिएकाले रु एक अर्ब हाराहारीमै काम सम्पन्न हुनसक्ने अनुमान गरिएको छ । १८ महीनामा पुल सम्पन्न हुने गरी काम गर्ने तयारी गरिएको उनले बताए । (रासस)
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.