www.tandavnews.com
Fact ~ In search of truth

इपिएललाई आइसिसीको मान्यता

काठमाडौँ ।

आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।

इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ ।

Batas

“अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रु २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसिसीलाई पठाएका छौँ” इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपालको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको छ । लिग विशेषगरी नेपाली क्रिकेट र नेपाली खेलाडीको हितमा छ”, आइसिसीलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ । इपिएलले पठाएको उक्त रकम आइसिसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने विज्ञप्तिमा जनाइएको छ ।

इपिएलका लागि तयारी

अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) आइसिसीको निलम्बनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आइसिसीको मान्यता लिनुपर्ने प्रावधान छ ।

गत वर्षदेखि इपिएलले आइसिसीको मान्यता लिएर प्रतियोगिता गराएको थियो । यस्तै आइसिसीको मान्यतापछि विदेशी खेलाडीलाई समेत लिग खेल्ने बाटो खुलेको छ ।

इपिएलमा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय आयोजकले गरेको थियो ।

इपिएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । (रासस)
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.