www.tandavnews.com
Fact ~ In search of truth

अधिकांश वडामा छैनन सचिव

नवलपरासी ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका अधिकांश वडा एक महीनादेखि सचिवविहीन छन् । वडामा सचिव नहुँदा स्थानीयवासीले सास्ती पाएका छन् । तेह्र वटा वडा रहेको सुनवलमा नौ वटा वडा सचिवविहीन हुँदा स्थानीयवासी नगरपालिका कार्यालयमै पुगेर सेवा लिन बाध्य भएका छन् ।

गत असोज २८ गते नगरपालिका प्रशासनले सबै वडाका सचिवलाई एकैपटक सरुवा गरेको थियो तर ती वडाका वडाध्यक्षले प्रशासनले एकलौटीरूपमा सरुवा गरेको भन्दै वडा नं ३, ४, ६ र ११ बाहेक अन्य वडामा सचिवलाई हाजिर गर्न दिएका छैनन् ।

Batas

वडाध्यक्षलाई बेवास्ता गरी सचिव सरुवा गरिएकाले आफूहरुले विमति जनाएको वडा नं १३ का वडाध्यक्ष कृष्ण देवकोटाले बताए । एकैपटक सचिव सरुवा गर्दा बजेट कार्यान्वयन, विकास निर्माण तथा राजश्व सङ्कलनमा प्रभाव परेको उनको दाबी थियो ।

नगरका २१ जना कार्यपालिका सदस्यमध्ये १८ ले सरुवा सच्याउन आग्रह गर्दै प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई लिखित अनुरोध गर्दा पनि सुनुवाइ नगरिएको वडा नं १० का वडाध्यक्ष शेषकान्त अधिकारीको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै आफूले वडासचिवको सरुवा गरेको बताए ।

कर्मचारीको कार्यक्षमता, योग्यता र अनुभवको आधारमा सरुवा गरिएको भन्दै उनले कुनै पनि वडासचिवले सरुवामा विमति नजनाएकाले वडाध्यक्षले आफू अनुकूलको सचिव नपाएर विरोध गर्नुको तुक नभएको बताए । नगरको प्रशासन र कर्मचारी व्यवस्थापनको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई भएकाले यो विषय कार्यपालिकाको कार्यसूची बन्न नसक्ने उनले बताए ।

वडामा सचिव नभएर सेवाप्रवाह अवरोध भएपछि व्यक्तिगत घटना दर्ता, सिफारिशलगायतका काम अहिले आफूले नगरपालिकाबाटै गर्दै आएको श्रेष्ठले जानकारी दिए । वडामा हाजिर गर्न नपाएपछि सचिवहरूले नगरपालिकामै हाजिर गर्दै आएका छन् । नगरपालिका प्रमुख भीमबहादुर थापाले वडासचिवको सरुवा बारे आफूलाई आधिकारिक जानकारी नभएको बताए।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.