www.tandavnews.com
Fact ~ In search of truth

घुम्ने होइन त ! पर्वतका ४ पर्यटकीय गन्तव्य

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

सरकारले सार्वजनिक गरेको एक सय वटा नयाँ पर्यटकीय गन्तव्य अन्तरर्गत पर्वतबाट बिभिन्न ४ वटा गन्तव्यहरु छनोटमा परेका छन् ।

यस अघि कुनै पनि पर्यटकीय स्थल गन्तव्यको रुपमा सुचिकृत नभएको पर्वतका कुश्मामा रहेको गुप्तेश्वर गुफा, बिहादीमा रहेको सेतीवेणी शिला, कुश्माको दुर्लुङमा रहेको क्यानोनिङ र महाशिला गाउँपालिका अन्तर्गत पाखापानीमा रहेको एसियाकै ठूलो ढुंगा भनी दावी गरिएको महाशिला रहेका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका एक सय नयाँ पर्यटकीय गन्तब्यको रुपमा सूचिकृत गरिएका स्थानहरु सार्वजनिक गरेको थियो ।

Batas

पर्वतमा नयाँ पदमार्गको रुपमा विकास गरिदै लगिएका हम्पाल, जलजला, भँवरकोट, अग्ला र लामा पुल तथा नयाँ बन्दै गरेको बिश्वकै दोस्रो अग्लो बञ्जिजम्प भने पर्यटकीय गन्तव्यको रुपमा छुटेका छन् । पछिल्लो समय अग्ला र लामा पुलहरुमा दैनिक हजारौ पर्यटक आउँने गरेका छन् ।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार छनोट भएका गन्तव्यहरुको विकास र प्रबद्र्धनका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।

चालु आर्थिक बर्षको बजेटबाट नयाँ पर्यटकीय गन्तव्य पहिचान तथा तिनको प्रबद्र्धनका लागि ५० करोड बजेट विनियोजन भएको थियो ।

गुप्तेश्वर गुफा

कुश्मामा रहेको गुप्तेश्वर गुफा सात तले अलौकिकक गुफा हो । आवश्यक प्रचार प्रसारको अभावमा यो गुफा पर्वत बाहेक अरु जिल्लामा त्यती प्रसिद्ध छैन । नेपालकै लामो गुफा र भगवान शिवलाई पति पाउँ भनि पार्वतीले तपस्या गरेको स्थलका रूपमा परिचित भए पनि पर्याप्त प्रचारप्रचारको अभावमा यो गुफा ओझेलमा पर्दै गएको हो ।

बालाचतुर्दशी, महाशिवरात्री, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सक्रान्ति लगायतका चाडपर्वहरूमा विशेष मेला लाग्ने गर्दछ । विसं १९९० सालमा स्थानीय रत्नबहादुर कार्कीले दाउरा घाँस काट्न जाने बेलामा भालु लुक्ने दुलो भन्दै गुफा पत्ता लगाएका थिए । त्यसैका आधारमा स्थानीय विद्वान् र धार्मिक व्यक्तित्वहरूले गुफाको अवलोकन गर्दै जाँदा पार्वतीले शिवजीलाई पति पाउँ भनि तपस्या बसेको ठाउँ रहेछ भन्ने मान्यता अनुरूप अनुसन्धान गर्दै जाँदा गुफा पत्ता लागेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।

गुफाभित्र भगवान् शिवका दसौँ पाउहरू, महाकाली, महालक्ष्मी र सरस्वतीका मूर्तिहरू, शिवलिङ्ग, सरस्वती माताको रूप, शिव पञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्तिलगायत ३३ कोटी भगवान्का आकृति भएका मूर्तिहरू भएकाले यसलाई धार्मिक रूपमा निकै महत्वपूर्ण स्थलका रूपमा मानिँदै आएको छ ।

पोखरा–बागलुङ राजमार्गदेखि ५ सय मिटर तल रहेको यस गुफाको प्रचारप्रसारकै अभावमा गुफामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्याउन सकिएको छैन । ७०० मिटर लामो उक्त गुफाभित्र विद्युतको राम्रो व्यवस्था नहुँदा दर्शन गर्न आउने भक्तजनलाई समस्या पर्ने गरेको छ । अँध्यारो भएका कारण दर्शनार्थीहरू सबै देवीदेवताहरूको दर्शन गर्न र भित्रका दृश्य हेर्नबाट वञ्चित हुनुपरेको छ ।

शालिग्राम शिला

पर्वतको बिहादी गाउँपालिकामा कालीगण्डकी नदीको किनारमा रहेको ठूलो ढुंगा अर्थात शिलालाई विश्वकै ठूलो शालिग्राम शिला भनिएको छ । शिलामा पूजाआजा गर्नको लागि बिशेषत माघेसंक्रान्तिको अवसरमा भक्तजनहरुको ठूलो भिडभिड हुने गरेको छ ।

सेतीबेणीमा पर्वत, स्याङ्गजा, गुल्मी, म्याग्दी र बागलुङ्ग लगायतका ठाउँका भक्तजनहरु अवलोकन र पूजाआजाको लागि जाने गरेका छन् । पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीमा कालीगण्डकी जलबिद्युत केन्द्रमा बनेको जलासयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

आन्तरिक धार्मिक पर्यटकहरुको राम्रै मन तान्न सफल रहेको शालिग्राम शिला अवलोकनको लागि जिल्ला बिहारका धेरै पर्यटकहरुलाई तान्न सकिएको छैन । शालिग्राम कालीगण्डकी नदीमा मात्र पाईने भएका कारण पनि शालिग्राम शिलाको बिशेष महत्व रहेको छ ।

शालिग्राम शिला पुग्नको लागि कालीगण्डकी लोकमार्गबाट फलेवास, बाच्छा हुँदै जान सकिन्छ । पर्वत सदरमुकाम कुश्माबजारबाट सवारीमा झण्डै ४ घण्टाको यात्रामा शिलामा पुग्न सकिन्छ ।

दुर्लुङको क्यानोनिङ

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङस्थित महभिर झरनामा साहसिक खेल क्यानोनिङ एक बर्षअघिदेखि व्यावसायिक रूपमा सुरु गरिएको हो । साहसिक पर्यटनमा रुची राख्ने स्वदेशी एवं विदेशीको लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल धौलागिरि क्षेत्रमै पहिलोपटक सञ्चालन गरिएको हो ।

१ सय १० मिटर अग्लो झरनामा विगत एक दशकको प्रयासपछि व्यावसायिक रूपमा क्यानोनिङ सुरु भएको हो । दुर्लुङ क्यानोनिङ एण्ड क्याभिङ प्रालिले झण्डै दश लाख रुपैयाँको लागतमा यो खेल सुरु गरेको हो । घना जंगलभित्र रहेको ठूलो छहरामा क्यानोनिङ गर्न दशकअघि नै सम्भाव्यता अध्ययन गरिए पनि अहिले आएर पूरा भएको हो ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको छ । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किलोमिटरको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेल सडकको व्यवस्था रहेको छ ।

कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय सहर पोखराबाट समेत साढे २ घण्टामा उक्त स्थानमा पुग्न सकिने भएकाले आवश्यक प्रचार प्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्ने विश्वास गर्न सकिन्छ ।

नेपालका लमजुङ, कास्की, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ हुँदै आएको छ ।

महाशिला

एसियाकै ठूलो भएको दावी गरिएको महाशिला पर्वतको महाशिला गाउँपालिकामा पर्दछ । आवश्यक प्रचारप्रसारकै अभावमा र यसको महत्व देखाउन नसक्दा महाशिलामा आन्तरकि पर्यटकहरु फाटफुट जाने गरेको भएपनि जिल्ला बाहिरका र बिदेशी पर्यटकहरु भने तान्न सकिएको छैन ।

मेहल ढुंगाको नामले परिचित महाशिला ठूलो क्षेत्रफलमा फैलिएको एउटै ढुंगा हो । पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको महाशिला दुर्गम गाउँमा भएका कारण उचित–प्रचार प्रसार हुन नसकेको हो । एक दशक अघिसम्म पनि यो स्थानमा हरेक चाडपर्वमा मेला लाग्ने गरेको थियो । तर पछिल्लो समयमा यसप्रति युवाको चासो नहुँदा ओझेलमा पर्दै आएको छ ।

सदरमुकाम कुश्मा बजारबाट करिव ४० किलोमिटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठूलो ढुंगाकै नामबाट गाउँपालिकाको नाम महाशिला राखिएको हो । लुंखुदेउरालीसम्मै मोटरबाटोको सुविधा पुगे पनि पर्यटक पुग्न सकेका छैनन् ।

गाउँपालिकाले महाशिला संरक्षण समिति गठन गरेर संरक्षण र प्रचार प्रसारको काम सुरु भएको जनाएको छ । पहिले उक्त शिला साविकको लुत्तेदेउराली गाविसकै धुँवाकोटमा थियो । पछि तल झरेर साविकको पाखापानी गाविसमा पुगेर अडिएको हो ।

महाशिला गाउँपालिकाले सोही महाशिलामा शिबको सुतेको मूर्ति बनाई विश्वभरका पर्यटक र धार्मिक तीर्थयात्रीहरु भित्रयाउने योजना अघि सारेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.