www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सातौँ लिट्रेचर फेस्टिबल हुने, यि हुन पाेखरा अाउने आधा दर्जन विदेशी लेखक !

पोखरा, ताण्डव न्यूज ।
बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौँ नेपाल साहित्य सम्मेलन पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने भएको छ। आइएमई ग्रुपले मुख्य प्रायोजन गर्ने सम्मेलनमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार सम्मेलनमा सहभागी हुने नेपाल आउने भएका छन् ।

सम्मेलनबारे जानकारी दिन काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मेलनमा आइएमई ग्रुप सहभागी हुन पाउँदा अत्यन्त खुसी भएको धारणा राखे। आफ्नो समूहले नयाँनयाँ सिर्जना गर्ने प्रयत्नमा सहयोग गर्दै आएको र सोही उद्देश्यबाट अभिप्रेरित साहित्य सम्मेलन भएकाले यसमा आफूहरूले सहकार्य गरेको उनको भनाइ थियो।

कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौलाले सम्मेलन लेखकको उत्सवका रूपमा रहने बताए। सम्मेलन भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो रहेको उनको भनाइ थियो। लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उनले बताए। यस किसिमको सम्मेलनले सबैलाई विवेकवान् बनाउन सघाउने उनले धारणा व्यक्त गरे।

Batas

फेस्टिभलका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताए। नेपाली र अन्य भाषा तथा भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक रहने उनको भनाइ थियो।

पहिलोदेखि सातौँ सम्मेलनसम्म आइपुग्दा यसले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा चर्चित लेखक, साहित्यकारको साथ र सहयोग प्राप्त गरेको उनले बताए। सम्मेलनलाई आइएमईको सहयोगलाई उनले धन्यवादसमेत दिए। कार्यक्रममा सम्मेलनका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पनि सम्मेलन पोखरामा आयोजना गर्न लागिएको धारणा राखे। पोखरालाई पर्यटनको हबका रूपमा विकास गर्न पनि सम्मेलनले सघाउने उनको भनाइ छ। राष्टिय एवम् अन्तर्राष्टिय क्षेत्रमा आयोजना हुने साहित्य सम्मेलनमा जोडिन चाहने उनले बताए। सम्मेलनका संयोजक रविन गिरीले सम्मेलनबारे जानकारी दिन मंसिर ८ गते ९नोभेम्बर २४० काठमाडौंमा कर्टेन रेजर हुने बताए। उनले सम्मेलनका प्रस्तुतिबारे धारणा राखेका थिए।

फेस्टिभलमा सहभागी हुने विदेशी लेखक (मोहम्मद हनिफ पाकिस्तान)

कमनवेल्थ प्राइज फर बेस्ट बुक जस्तो प्रतिष्ठित पुरस्कार पाइसकेका, बुकर प्राइजको लङ लिस्टमा छानिएका मोहम्मद हनिफको चौथो पुस्तक रेड बडर्स हालै मात्र प्रकाशित भएको छ। कराँचीमा बसेर द न्यूयोर्क टाइम्स, न्युयोर्कर र विभिन्न पत्रिकाहरूका नियमित स्तम्भकार उनी राजनीतिकेन्द्रित गम्भीर प्रकृतिका आख्यानका लागि पाठकमाझ चिनिन्छन्।

(नमिता गोखले भारत)

आख्यान र गैरआख्यान गरी १६ ओटा पुस्तककी लेखिका नमिता गोखलेको सम्पादनमा यसैवर्ष द हिमालयन आर्क स् जर्निज इस्ट आफ साउथ इस्ट पुस्तक निस्किएको छ। साहित्य रचनाका लागि भारत र विदेशबाट समेत विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेकी गोखले भारतको जयपुरमा हुने जयपुर लिटरेचर फेस्टिभलकी संस्थापक सहनिर्देशकसमेत हुन्।

(डा. निकोला स्ट्रिटेन बेलायत)

मानवशास्त्री हुँदै इलुस्ट्रेटर र ग्राफिक उपन्यासकार बनेकी निकोलाले नारीवादी कार्टुन र कमिक्सबारे विद्यावारिधि गरेकी हुन्। बिल्ली, यू एन्ड मी ९सन् २०११० ग्राफिक संस्मरणमार्फत पुरस्कारसमेत जितेकी निकोला आटर्ट काउन्सिल इङ्ल्यान्ड एन्ड ब्रिटिस काउन्सिल इन्टरनेसनल डेभलपमेन्ट फन्डसमेत प्राप्त गरेकी छन्। संस्कृति, सञ्चार र कलाको इतिहासबारे प्राध्यापनसमेत गरिरहेकी निकोलाले नेपाल लिटरेचर फेस्टिभलमा ग्राफिक उपन्यासबारे ‘मास्टर क्लास’ पनि दिनेछिन्।

(मञ्जुश्री थापा क्यानडा)

गैरआख्यानबाट साहित्यमा प्रवेश गरेकी मञ्जुश्री थापा अङ्ग्रेजी संसारमा नेपाली मूलको प्रतिनिधित्व गर्ने सफल लेखकको सूचीमा पर्छिन्। दुई वर्षअघि अल अफ अस इन आवर वन लिभ्स उपन्यास प्रकाशन गरेकी उनी त्यसअघि तीन उपन्यास, चार गैरआख्यान र एक अनुवाद कृतिकी स्रष्टा हुन्। केही वर्षअघि मात्र क्यानडामा बसाइँ सरेकी थापा नेपालको राजनीतिक र सामाजिक मुद्दाको खरो टिप्पणीकारका रूपमा समेत परिचित छिन्।

(प्रज्ज्वल पराजुली भारत)

द गुर्खाज डटर कथासङ्ग्रहमार्फत विश्व साहित्यमा आफ्नो प्रभाव छाडेका नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुलीको दोस्रो आख्यान ल्यान्ड ह्वेयर आई फ्लीले पनि नेपाली भाषीकै जीवन उधिनेको छ। अङ्ग्रेजी भाषाको पकड र बेजोड कल्पनाशीलता भएका पछिल्लो पुस्ताका प्रतिभावान् लेखकका रूपमा उनी चिनिन्छन्।

(हरिश नाम्बियर भारत)

इन्डियन एक्सप्रेस, रोयटर्सलगायत विभिन्न टेलिभिजन र इन्टरनेट पोर्टलमा पत्रकारिताको अनुभव सँगालेका हरिश नाम्बियरले सन् २००२ को गुजरात दङ्गाका बेला मोटरसाइकलमा तीन साता लामो मोटरसाइकल सात राज्यको भ्रमण गरे। डिफ्य्राग्रमेन्टी इन्डिया–राइडिङ अ बुलेट थ्रु द ग्यादरिङ स्ट्रोम उनको यही यात्राबाट सिर्जित चर्चित गैरआख्यान हो। हाल द इकोनोमिक टाइम्समा आबद्ध उनी पत्रकारिताका शिक्षक पनि हुन्।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.