www.tandavnews.com
Fact ~ In search of truth

अन्डर एज, सेक्समा क्रेज

माधव भुसाल/अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज । 

कहिले घुम्ने निउँमा त कहिले साथीको बर्थ डे पार्टी भनेर उनी घरबाट राती–राती हराउने गर्थिन् । अटेरी स्वभावकी थिइन् रोजी । पोखरा–१६ की रोजी प्रायः जसो किशोरसँग हिड्न रुचाउँथिन् । १५ वर्ष टेक्दै गर्दा नाइट लाइफ र गाइजसँग पनि रमाउँथिन् रोजी ।

प्रायः रातको समयमा मात्र हराउने रोजी २ दिन घर नआएपछि घर परिवारलाई तनाव भयो । परिवारले खोजी कार्य सुरु गरे । साथीहरु र आफन्त कहाँ सोधपुछ गर्दा पनि रोजी फेला परिनन् । केही सिप नलागेपछि रोजीकी आमाले जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरि पाऊँ भन्दै निवेदन दिइन् । भदौ ४ गते हराएकी रोजीलाई कास्की प्रहरीले कल ट्रयाक गरेर पत्ता लगायो ।

Batas

प्रहरीले रोजीलाई आफ्नै उमेर समूहका एक जना किशोरसँग फेला पा¥यो । कास्की प्रहरीले दुवैलाई सोधपुछ गरे । अविभावक बोलाए । अन्डर एज भएकै कारण यति सानो उमेरमा यस्तो गर्न हुँदैन भन्दै दुबै जनालाई परामर्श दिएर प्रहरीले आफन्तको जिम्मा लगाएर पठाए ।

केही महिना पछि फेरि रोजी हराएको भन्दै आमा प्रहरी कहाँ आइन् । यस पटक पनि रोजी फेला परिन् तर अर्का एक जना नयाँ किशोरसँग । प्रहरी हैरान भयो । यसअघि भदौ महिनामा पनि रोजी पहिलो पटक हराएकी भने थिइनन् ।

उनलाई ५÷६ पटक त प्रहरीले नै खोजेर ल्याए, त्यो पनि फरक–फरक किशोरसँग । १५ वर्षीया रोजीको चाहना विवाह गर्ने नभएर यौन इच्छा मात्र पूरा गर्ने रहेको एक प्रहरीले बताए । ‘हामीले सोध्दा पनि सजिलै भन्ने गर्थिन्,’ उनले भने, ‘विवाह गर्ने चाहना भने रोजीको होइन उनलाई सानै उमेरमा यौनको लत लागेको हो ।’

उनलाई देख्दा १२÷१३ वर्षकी जस्तो लाग्थ्योे । उनको वास्तविक उमेर भने १५ वर्ष । हातको औला चाल्दै ओठ कमाउँदै उनी आफ्नो गुनासो पोख्दै थिइन् । आँखा भरी आँशु लिएर रेनुले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर राना कहाँ आफ्नो रोदन पोख्दा त्यहाँ उपस्थित सबै दङ परे ।

सामान्यतया रेनुको उमेरकी किशोरीले घरमा परिवारले कतै जान दिएनन् वा आफूलाई चाहिने कुरा किनिदिएनन् भनेर आफ्नो गुनासो पोख्छन् । तर त्यहाँ रेनुले व्यक्त गरेको कुरा वेग्लै थियो । ‘मैले त ऊसँग ट्रियु लव नै गरेको थिएँ,’ दाहिने हातले आँशु पुछ्दै रेनुले भनिन्, ‘विहे गर्छु भनेर धेरै पटक सेक्स पनि भयो, अहिले आएर धोका दियो ।’

रेनुले उनको प्रेमी राजन विरुद्ध कारवाहीको माग गर्दै प्रहरी कहाँ आफ्नो कुरा राखिन् । ‘मलाई मात्र होइन अर्को एक जना केटीलाई पनि धोका दिँदै छ,’ उनले सुनाइन्, ‘त्यो केटीसँग पनि सबै कुरा भयो, त्यो केटीले मसँग च्याटमा भनेकी छे ।’

रेनुको सबै कुरा सुनेपछि एसपी रानाले सम्झाउँदै कानुनी कुरा पनि बताए । सबै कुरा सुनेकी रेनुले प्रेमीलाई कारवाही भन्दा पनि आफूसँगै बसोस् भन्ने थियो । जुन कुरा कानुनले मान्दैन ।

कानुनले केटा पनि अन्डर ऐज भएको हुनाले परामर्श दिएर छाड्छ कि त बलात्कारको मुद्दा दर्ता गरि प्रक्रिया अघि बढाउँछ । रेनुलाई प्रहरीले धेरै सम्झाएपछि अभिभावकलाई बोलायो । दुवै पक्षको अविभावकलाई बोलाएर परामर्श दिई उनीहरुलाई घर पठायो ।

प्रहरीका अनुसार राजनले धेरै किशोरीसँग सम्बन्ध राखेको हुनपर्छ । राजनले अर्की एक जना किशोरीसँग पनि प्रेम गर्छु भन्दै यौन चहाना पूरा गरेको फेसबुक च्याटमा प्रस्ट रहेको एक प्रहरीले बताए ।

‘सबै कुरा फेसबुकमा प्रमाणसहित छ, १६ वर्ष उमेरमै यस्तो,’ उनले भने, ‘अहिले यो मोवाइल र सामाजिक सञ्जालले ल्याएको विकृति हो यो, अर्को कुरा परिवारले पनि ख्याल नगरेर यस्तो भएको हो ।’

माहौल तिहारको थियो । तिहार भन्ने वित्तिकै देउसी भैलोको रौनक छुट्टै हुन्छ । देउसी भैलोमै प्रस्तुत गरिने नृत्यका लागि कविता र निश्चलको रिहर्सल चल्दै थियो ।

नृत्यको रिहर्सल गर्दा गर्दै उनीहरुबिचको सामिप्यता बढ्दै गयो । भेटमा कुरा त हुने नै भयो, फोन नं साटासाटसँगै उनीहरुको फेसबुकमा पनि घण्टौं च्याट हुन थाल्यो ।

यसरी उनीहरुको प्रेम झाँगियो । उमेरले कविता १४ मा दौडिरहँदा निश्चल १६ वर्षमा । माया प्रेमको कुरा बढ्दै गर्दा जिन्दगीसँगै विताउने कुरा आएपछि परिवार बाधक बन्ने ठाने उनीहरुले । घरपरिवारले प्रेम अस्वीकार गर्ने भएकोले पोखरा १९ का निश्चल र लेखनाथ १६ कि कविता भागे ।

आफ्नो सन्तान केही दिनसम्म सम्पर्कमा नआएपछि कविताको परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए । प्रहरीले कविताको मोबाइल नम्बर अनुसन्धान गर्दा निश्चलसँग पटक–पटक सम्पर्क गरेको फेला पा¥यो । अन्ततः निश्चल मार्फत् कविता पनि भेटिइन् ।

प्रहरी र परिवारको छलफलमा आफूहरु एक अर्कालाई छोड्नै नसक्ने बताए दुवैले । निश्चलले आफूहरुबिच यौनसम्बन्ध कायम भैसकेको भनेर सजिलै व्यक्त गरे । कविताले पनि त्यही कुरा व्यक्त गर्न अप्ठ्यारो मानिनन् ।

तर कानुनी रुपले २० वर्षपछि मात्रै बिहे गर्न पाइन्छ भने यौन सम्बन्धका लागि १८ वर्ष पुग्नैपर्छ । प्रहरीले सोही अनुसार परामर्श दियो । अन्ततः कविता २० पुगेपछि मात्रै विहे हुनेगरि उनीहरु कन्भिन्स पनि भए ।

(गोपनियताको लागि किशोर किशोरीको नाम परिवर्तन गरिएको छ )

देश अनुसार भिन्न छन् यौन कानुन

नेपालमा ०७५ भदौ यता लागू हुने गरि बनाइएको मुलुकी अपराध एनले १८ वर्षअघि यौनसम्बन्ध राखेका बलात्कार हुने ठहरेको छ । देश अनुसार यौनसम्बन्धका लागि भिन्न कानुनहरु बनाइएका छन् ।

बहराइनले २१ वर्ष पुगेपछि मात्रै यौनसम्बन्ध राख्न पाउने कानुन बनाएको छ । साउथ कोरियामा २० नपुगी यौनका लागि छुट छैन ।

यता नाइजेरियाको कानुनले ११ वर्षमा नै यौनसम्बन्ध राख्न सक्ने अनुमति दिएको छ भने फिलिपिन्सले १२ वर्षमै । जापान र बुर्किनो फासोले पनि देशका युवायुवतीलाई १३ वर्षमै यौन सम्बन्धका लागि छुट दिएको छ ।

अफगानिस्तान, इरान कुवेत लिविया माल्दिभ्स ओमन पाकिस्तान सुडान, दुबइमा बिहेपछि मात्रै यौनसम्बन्ध राख्न पाउने व्यवस्था छ । अमेरिकाका ११ राज्यमा १८ वर्षपछि र बाँकी राज्यमा १६ वर्षपछि मात्रै यौनसम्बन्ध राख्न पाउने कानुन छ ।

कास्कीमा धेरै अन्डर एजको घटना

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएका मुद्धा नियाल्ने हो भने यौन दुव्र्यवहारका अधिकांश मुद्धा अन्डर एज अर्थात् १८ वर्ष मुनिका बालिकासँग सम्बन्धित छन् । भदौ यता लगभग १२ वटा मुद्धा अन्डर एजकै छन् ।

पछिल्लो समय विशेषगरी विवाह र यौनसँग छोडिएर आएको घटनामा धेरै किशोरी किशोरी दुवै अन्डर एजका छन् । हुन त कानुन अनुसार यो उमेरका किशोरकिशोरीले सहमतीमै यौन सम्पर्क गरेपनि बलात्कारको ठहर हुन्छ । तर प्रहरीले यस्तो अवस्थामा घटनाको प्रकृति हेरेर कनुनी तवरबाट भन्दा पनि व्यवहारिक पक्ष हेरेर दुवै जनालाई परामर्श दिएर परिवारको जिम्मा लगाएर पठाउने गर्छ ।

भदौ यताकै तथ्याङ्क अनुसार ३३ जना अन्डर एज बालबालिका हराएको भनि मुद्धा दर्ता भएको छ । कास्की प्रहरीले ३१ जना फेला पारेर परिवारको जिम्मा लगाइसकेको छ ।

स्रोतका अनुसार सबैजसो बालबालिका प्रेम सम्बन्ध राख्ने र परिवारले अस्वीकार गर्ने डरले भाग्ने गरेका छन् । उनीहरुबिच सहवास पनि भैसकेको पाइन्छ ।

किशोरावस्थामा यौन सम्बन्धी प्रयोग बढी हुन्छ

टेस्टोस्टेरोनलाई सेक्स हर्मोनको रूपमा चिनिन्छ । मांसपेशी र शक्ति बढाउन भूमिका खेल्ने टेस्टोस्टेरोन महिलामा भने निकै कम मात्रै उत्पादन हुन्छ ।

किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तीब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ ।

किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनको भावनात्मक लगावमा निर्भर गर्छ ।

त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यमबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ । किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्स सम्बन्धी आफ्नो धारणा बनाउने गर्छन् ।

यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ । एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ ।

किशोरावस्था १० देखि २४ वर्षसम्म ?

वर्षअघि बीबीसीमा प्रकाशित वैज्ञानिकहरुको भनाइलाई आधार मान्ने हो भने अब किशोर अवस्था १० देखि २४ वर्षसम्म हुनुपर्छ । पोषणमा आएको सुधारका कारण किशोरावस्था सुरु हुने उमेर अझ कम भएको तर्क वैज्ञानिकको छ ।

उनीहरुले अब नीति निर्माताले समय अनुसार किशोरावस्थाको परिभाषालाई समेत परिमार्जन गर्नुपर्ने बताएका छन् । उनीहरुले मानिसको मस्तिष्कको विकासक्रम २० वर्षपछि पनि हुने भएकाले किशोरावस्थाको उमेर सीमा बदलिनुपर्नेमा जोड दिएका हुन् ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार यसअघि १४ वर्षको उमेरमा किशोराअवस्था सुरु भएको मानिन्थ्यो । तर, अहिले अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण १० वर्षको उमेरबाटै किशोरअवस्था सुरु हुन थालेको छ ।

बिबिसीले उल्लेख गरे अनुसार ब्रिटेन जस्ता औद्योगिक राष्ट्रमा किशोरीहरुको पहिलो महिनावारी हुने प्रक्रिया डेढ सय वर्षमा औषत उमेरमा चार वर्षले घटेको उल्लेख गरेको छ । अनुसन्धानले अहिले अधिकांश बालिकाको महिनावारी १२ वर्षकै उमेरमा हुने गरेको समेत उल्लेख छ ।

वैज्ञानकिको तर्क अनुसार शरीरको विकासक्रमलाई ध्यान दिएर उनीहरुको किशोरावस्थाको उमेर निर्धारण गर्नु उपयुक्त हुन्छ । बिबिसीका अनुसार यस्तो तथ्य ‘ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ’ जर्नलमा प्रकाशित लेखमार्फत् खुलासा भएको हो ।

हाइपरसेक्सुअल डिसअर्डर

‘सेक्सको लत’ जसलाई हाइपरसेक्सुअल डिसअर्डर भन्ने गरिन्छ, यसबारेमा थुप्रै विवाद रहेका छन् ।

‘सेक्सको लत’को बारेमा विभिन्न विज्ञहरुको फरक फरक धारणा रहेको छ । कतिपय विज्ञहरु चुरोट तथा रक्सीको जस्तै ‘सेक्सको लत’ पनि हुन्छ भन्ने विश्वास नै गर्दैनन् ।

केही विशेषज्ञहरुले ‘सेक्सको लत’लाई प्रोग्रेसिभ इन्टीमेसी डिसअर्डरको रुपमा व्याख्या गरेका छन् । जुन बाध्यकारी यौन विचार र कार्यले हुने गर्दछ ।

सन् २०१० मा ‘सेक्सको लत’को मापदण्ड अथवा लक्षणहरु प्रस्तुत गरिएको थियो । जसमा बारम्बार हुने तीब्र यौन चाहना, यौन प्यास तथा बानी व्यवहार समावेश गरिएको थियो । यी लक्षणहरु अन्य मानसिक रोगसँग सम्बन्धित नभएका लक्षण हुन् ।

यौन मनोवैज्ञानिक डा क्याथरिन स्मेर्लिङका अुनसार लत बस्नको लागि एउटा मात्रै कारक तत्वको हात हुँदैन । उनी भन्छिन्, ‘यसमा जैविक, मनोवैज्ञानिक तथा सामाजिक तत्वहरुको पनि निकै महत्वपूर्ण हात रहेको हुन्छ । मस्तिष्कमा आउने बाध्यकारी परिवर्तनले पनि सेक्सको लत निम्त्याउन सक्छ । डिप्रेशन, तनाव, बानीले पनि सेक्सको लत बस्ने गर्छ ।’

द नेशनल काउन्सिल अन सेक्सुअल एडिक्सन कम्पल्सीभिटीका अनुसार अमेरिकामा ६ देखि ८ प्रतिशत मानिसहरु सेक्सको लतमा फसेका छन् । जुन १ करोड ८० लाखदेखि २ करोड ४० लाख मानिसहरु हुन् ।
उत्सुकताले निम्त्याउने अपराध

‘उत्सुकताले निम्त्याउने अपराध’

ओमबहादुर राना
एसपी तथा प्रमुख
जिल्ला प्रहरी कार्यालय कास्की

बालबालिकाहरु पनि प्रविधिसँगै अपग्रेड भइरहेका छन् । पछिल्लो समय बढेको सामाजिक सञ्जालको प्रभाव अन्डर एजमा पनि परेको छ । सामाजिक सञ्जालमा देखिने कन्टेन्टहरुप्रति यो उमेरमा बढी उत्सुकता हुन्छ ।

त्यहि उत्सुकताले कहिले काही अपराध समेत निम्त्याउन सक्छ ।

यसलाई हामी यौन उत्सुकतासँग पनि जोड्न सक्छौं । इन्टरनेटकै माध्यमबाट यौन कन्टेन्टहरु देखेपछि त्यही अनुसार मनोबल तयार हुन्छ । हामीले जर्वजस्ती करणीमा पक्राउ गरेका केही अपराधीहरुसँग बयान लिने क्रममा यस्ता कुरा आएका छन् ।

पोर्न फिल्म हेरेपछि उनीहरु आसपास जो छ उसैलाई जर्वजस्ती करणी गर्ने गरेको बताउँछन् ।

र अर्को महत्वपूर्ण कुरा भनेको फेमिलि गाइडेन्स हो । आजकल बर्थ डे अथवा कुनै कार्यक्रमका नाममा राति अबेरसम्म घर नआउने प्रकृति बढ्दो छ । घर बाहिर भएपछि मादक पदार्थ सेवन गर्छन् र नशाको तालमा दुर्घटना निम्तिन्छ ।

बाहिरै निस्कन हुँदैन भन्ने होइन । अभिभावकले के ख्याल गर्नुप¥यो भने, आफ्ना छोराछोरीको सङ्गत कस्तो छ ? के कामका लागि कहाँ गएको हो ? लुकेर केही गलत त गर्दै छैनन् ? यस्ता कुरामा अति ध्यान दिन जरुरी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.